News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि भारतीय सरकारले मंगलबार कृत्रिम वर्षा गराउने उद्देश्यले क्लाउड सिडिङ गरेको छ।
- आइआइटी कानपुरका वैज्ञानिकहरूले सिल्भर आयोडाइड र सोडियम क्लोराइड छरेर दिल्लीको उत्तरी क्षेत्रका बादलमा कृत्रिम वर्षा गराउने प्रयास गरेका छन्।
- दिल्लीको वायु प्रदूषण सूचकांक ३०६ पुगेको छ र यसले त्यहाँका नागरिकको औसत आयु लगभग ११.९ वर्षले घटाएको अध्ययनले देखाएको छ।
११ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा फैलिएको गम्भीर वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मंगलबार कृत्रिम वर्षा गराउने प्रयासस्वरूप क्लाउड सिडिङ गरेको छ ।
क्लाउड सिडिङमार्फत् कृत्रिम वर्षा भए विषाक्त धुवाँ र धुलोले ढाकिएको राजधानी दिल्लीको वायुमण्डल सफा हुने अपेक्षा गरिएको छ । क्लाउड सिडिङपछि अहिले दिल्लीबासी कृषिम वर्षाको पर्खाइमा छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइआइटी कानपुरका वैज्ञानिकहरूको टोलीले यो अभियान सञ्चालन गरेको हो ।
उक्त संस्थाको सानो विमानले दिल्लीको उत्तरी क्षेत्रका बादलमाथि उडान भरेर सिल्भर आयोडाइड र सोडियम क्लोराइडजस्ता रासायनिक पदार्थ छरेको इन्डिया टूडेले जनाएको छ । यी रासायनिक पदार्थ वर्षा गराउनका लागि प्रयोग गरिन्छन् ।
निर्धारित समय अनुसार मंगलबार दिउँसो १२:३० बजे सुरु हुने भनिएको क्लाउड सिडिङ भिजिबिलिटी कम हुँदा केही ढिलो सुरु भएको थियो ।
दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले भने, ‘यदि यो प्रयास सफल भयो भने कृत्रिम वर्षामार्फत प्रदूषणमा उल्लेखनीय सुधार आउनेछ । गत साताको परीक्षण उडानमा पनि उत्तरी दिल्लीको बुरारी क्षेत्रमा सानो मात्रामा यस्ता रासायनिक पदार्थ प्रयोग गरिएको थियो, तर त्यतिबेला हावामा पर्याप्त ओस नभएकाले वर्षा हुन सकेको थिएन ।’
यो परियोजनालाई भारतीय मौसम विभाग र दिल्ली सरकारको वातावरण विभागले अन्तिम स्वीकृति दिएका थिए । यससँगै दिल्लीमा पहिलो पटक पूर्ण रूपमा कृत्रिम वर्षा गराउने प्रयास गरिएको हो ।
यसबीच दिपावलीका दौराना पटाकाका कारण प्रदूषण बढेको र छिमेकी राज्यहरूमा पराल जलाउनेक्रम बढेसँगै राजधानीमा वायुको गुणस्तर विषाक्त बनेको छ । मंगलबार बिहान दिल्ली बाक्लो कुहिरो र धुवाँले ढाकिएको थियो ।
दिल्लीको वायु प्रदूषणले त्यहाँका नागरिकको औसत आयु लगभग ११.९ वर्षले घटाएको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको शिकागो विश्वविद्यालयको ऊर्जा नीतिका लागि संस्थान (ईपीक) द्वारा जारी प्रतिवेदन अनुसार यो अवस्था विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्डभन्दा निकै तल छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार आज बिहान ८ बजे दिल्लीको वायु गुणस्तर सूचकांक (एक्युआइ) ३०६ मा पुगेको थियो, जुन ‘अति खराब’ श्रेणीमा पर्छ । शहरका ३८ निगरानी केन्द्रमध्ये २७ वटामा यस्तै मापन गरिएको थियो ।
बोर्डका तथ्यांक अनुसार बिहान ८ बजेको अवस्थाअनुसार,अनन्द विहारमा ३२१, आरके पुरममा ३२०, सीरी फोर्टमा ३५०, बावनामा ३३६, बुरारी क्रसिङमा ३२६, द्वारका सेक्टर ८ मा ३१६, मुन्डकामा ३२४, नरेलामा ३०३ र पन्जाबी बागमा ३२३ सूचकांक मापन गरिएको थियो ।
दिल्ली सरकारले प्रदूषण घटाउने उद्देश्यले गत सेप्टेम्बर २५ मा आइआइटी कानपुरसँग सम्झौता गरेको थियो ।
उक्त सम्झौताअनुसार पाँच वटा कृत्रिम वर्षा (क्लाउड सिडिङ) परीक्षण गर्ने योजना बनाइएको छ । जसका सबै उडानहरू दिल्लीको उत्तर–पश्चिम क्षेत्रका लागि तय गरिएको छ ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यसअघि आइआइटी कानपुरलाई यो परीक्षण अक्टोबर १ देखि नोभेम्बर ३० भित्र कुनै पनि समयमा गर्न अनुमति दिएको थियो ।
यसअघि मे ७ मा दिल्ली मन्त्रिपरिषद्ले करिब ३ करोड २१ लाख रुपैयाँ लागतमा पाँचवटा कृत्रिम वर्षा परीक्षण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो ।
तर यो अभ्यास बारम्बार स्थगित हुँदै आएको छ । प्रतिकूल मौसमका कारणले गर्दा परीक्षण पहिलो पटक मे महिनाको अन्त्यतिर, फेरि जुनको सुरुवाततिर, अगस्ट, सेप्टेम्बर गर्दै पछिल्लो पटक अक्टोबरको दोस्रो सातासम्म सारिँदै आएको थियो ।
प्रतिक्रिया 4