 
																			११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।
हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमश: भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए ।
‘बंगालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ । त्यो चाहीँ विस्तारै भारतको भूभागमा प्रवेश गरेको छ । विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ,’ पराजुलीले भने ।
यसको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनको भनाइ छ । उक्त चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबर दिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए ।
‘यो सामुन्द्रिक चक्रवातले समुन्द्रि क्षेत्रबाट जुन जलवाष्पहरु लिएर आएको छ, त्यसले गर्दाखेरि नेपालको खासगरि कोशी प्रदेश र मधेश प्रदेशको क्षेत्रमा ठूलो वर्षाको सम्भवना देखिएको छ भने बागमती प्रदेश र कोशी प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिनसक्ने, १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म करिव यसको प्रभाव रहने देखिन्छ,’ उनले भने ।
उनले हाल ठूला नदीहरूको बहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए ।
‘खासगरी हिमाली क्षेत्रको कुरा गर्दाखेरि यो माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको पनि सम्भावना बागमती प्रदेश र कोशी प्रदेशको समग्र क्षेत्रमा देखिएको छ,’ उनले भने ।
यद्यपि नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शतर्क रहन उनले आग्रह गरे । मधेश र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तीव्र बहावको सम्भावना रहेको उनले बताए ।
‘अब ठूला नदीहरूमा वाहवको अवस्था हाल समान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरी यो करिब करिब २४/२५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठूलो बाढीको अवस्था बागमती, कोशी जस्ता ठूला नदीहरूमा पार्ने देखिँदैन । तर जलसतह उल्लेख्य बढ्ने सम्भावना छ,’ पराजुलीले भने, ‘त्यसकारण सतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटिय क्षेत्र सामान्य अवस्था भएको नदीहरूमा ठूलो बहाव आउँदाखेरि खतरा तहको बहाव नआएतापनि त्यसले जोखिम निम्त्याउने भयो ।’
जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन् । हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाइ छ ।
विहीबारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने मौसम विभागले जनाएको छ ।


 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4