Comments Add Comment

वन अधिकृतको श्रीमती हत्या गरेर भारतमा घरजम !

हाकिम फेरिँदै पिच्छे फाइल पल्टाइएको घटना

२७ जेठ, काठमाडौं । भक्तपुरको कटुञ्जेमा झण्डै दुई दशकअघि भएको एउटा हत्याकाण्ड सुल्झाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राहत महसुस गरेको छ ।

एक त उपत्यकामा सरकारी कर्मचारीकी श्रीमतीको घरभित्रै दिनदहाडै विभत्स हत्या, त्यसमाथि मृतकका श्रीमान तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल निकट थिए । त्यसैले अपराध महाशाखा र सीआईबी पुग्ने हरेक अधिकृतलाई यो केसले पिरोल्थ्यो । तर, मध्यमाञ्चल क्षेत्रीय वन कार्यालय, हेटौंडाका अधिकृत तुल्सीभक्त प्रजापतिकी श्रीमती विजयश्वरीको हत्याको गुत्थी सुल्झिएको थिएन ।

विजयश्वरी हत्या अनुसन्धान किन जटिल बन्यो ? तत्कालीन समयका एक अनुसन्धान अधिकृत भन्छन्, ‘हत्याको सूचना नै ढिलो गरी प्राप्त हुँदा अनुसन्धानमा समस्या आएको थियो ।’

उनकाअनुसार विजयश्वरीको हत्या भएको करिब ७ घन्टापछि मात्र प्रहरीको सिन अफ क्राइम (सोको) अफिसर घटनास्थलमा पुगेका थिए । उनीमाथि विहान करिब १० बजे छुरा प्रहार गरेर विभत्स हत्या गरिएको थियो । तर, दिनभर उनको शव भान्सामा लडिरह्यो । त्यो बीचमा अभियुक्तले सुइँकुच्चा ठोक्ने मौका पाए ।

त्यो दिन साँझ प्रजापती दम्पत्तिका दुई सन्तान विद्यालयबाट फर्किएर तल्लो तलामै गृहकार्य गर्न थाले । ५ बजेतिर भोक लागेपछि आमा खोज्दै भान्सातिर उक्लिए । अनि, बल्ल उनको मृत्यु भएको खबर गाउँमा फैलियो । छोरीले नै छिमेकी गुहारे । छिमेकीले प्रहरी कन्ट्रोल १०० मा जानकारी गराए ।

प्रहरीले अनुसन्धान थाल्दा अभियुक्त सीमापारि !

घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी कार्यालय, भक्तपुरका एसपी नारायण आचार्यको टोली घटनास्थल पुग्यो । घटनास्थललाई घेरा हालेर अनुसन्धान थाल्दा रगत सुकिसकेको थियो । घटनास्थल देखेरै प्रहरीले हत्या भएको लामो समय भइसकेको लख काटे । यद्यपि, अभियुक्त उपत्यकामै हुने झिनो आशमा सीमा शिल गरियो ।

अनसन्धान अधिकृतले जे नहोस् भने, त्यही भइदियो । संदिग्ध मानिएका व्यक्ति पक्राउ परेनन् । बरु थप अनुसन्धान गर्दैगर्दा उनी भारत भागिसकेको पुष्टि भयो ।

संदिग्ध भाग्नुले प्रहरीलाई एउटा कुरा चाहिँ सहज बनाइदियो । एक अनुसन्धान अधिकृत भन्छन्, ‘जसलाई शंका गर्नुपर्ने हो, उनी गायब भएपछि अनुसन्धान साँघुरिएको थियो ।’

अधिकृतहरुका अनुसार प्रजापती निवासमा दिउँसो विजयश्वरी र कामदार देवरमण अधिकारी मात्रै बस्थे । त्यसैले घटनाको एकमात्र साक्षी उनै अधिकारी हुन् भन्ने परिवारको दाबी थियो । प्रहरीले पनि उनैलाई केन्द्रमा राखेर अनुसन्धान थालेको थियो ।

प्रहरीले २५ वर्षीया अधिकारीको परिवारलाई पनि केन्द्रमा राखेर छानविन गरिरह्यो । अनुसन्धानले घटनामा उनी संलग्न हुनसक्ने आधार देखाइरह्यो । तर, व्यक्ति स्वयम् प्रहरीको पहुँचबाट टाढा हुँदा मुख्य भेटिएका आधार पुष्टि भएका थिएनन् ।

७ महिनाको तलब नपाउँदा हत्या

हत्याको उद्देश्य खोजी रहेको प्रहरीसमक्ष एउटा ‘क्लू’ अपराधस्थलमा थियो, जसले अनुसन्धानलाई ‘डाइभर्ट’ गर्न नखोजेको पनि होइन । हत्यापछि घरबाट ८ तोला सुन, ६ हजार रुपैयाँ र ४ हजार पर्ने एउटा लेडिज ग्याकेट हराएको थियो ।

कतै चोरी/डकैतीको उद्देश्यले हत्या भयो कि ? अनुसन्धान अधिकृतले यो कोणबाट पनि छानबिन गरे । तर, घरमा जबरजस्ती प्रवेशको कुनै निशान थिएन ।

बरु परिवारका सदस्यबाट अधिकारीले पैसाको विषयमा विजयश्वरीसँग पटकपटक गुनासो गरिरहेको खुलेपछि अनुसन्धान अधिकारीमाथि नै केन्द्रीत भयो । तर, भारत पुगिसकेका उनलाई पक्राउ गर्न प्रहरी असक्षम साबित भयो ।

हाकिम फरिँदै पिच्छे अनुसन्धान

प्रहरी अधिकृतका अनुसार जघन्य अपराध अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख फेरिने वित्तिकै खोलिने पुराना फाइल मध्ये प्रजापती हत्या प्रकरण पनि एक थियो ।

महाशाखामा काम गरेका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्झन्छन्, ‘हामी महाशाखामा हुँदा अधिकारी मुम्बईमा बसेको ठाउँ लोकेट गरिसकेका थियौं । तर प्राविधिक कारणले पक्राउ गर्न सकेका थिएनौं ।’ स्रोतका अनुसार महाशाखाकै अधिकृत ब्युरोमा पुगेपछि प्रजापती हत्याको फाइल पुनः खोलिएको थियो ।

नेपालमा रहँदै विवाह गरेका उनको दुई सन्तान समेत थिए । त्यही परिवार अधिकारीसम्म पुग्ने कडी बनेको थियो । पछिल्ला समय उनी परिवारसँग निरन्तर सम्पर्कमा थिए ।

बेलाबेला नेपाल समेत आउजाउ गरिरहन्थे । ‘उनी यति चलाख थिए कि ७/८ घन्टा नेपाल बसेर फर्किहाल्थे’, ब्युरोका प्रमुख निरजबहादुर शाही भन्छन्, ‘घटनापछि चार पटक उनी नेपाल आएका थिए ।’

प्रहरीको अपराध महाशाखाले अधिकारी एकपटक नेपाल छिरेका वेला सूचना पनि पाएको थियो तर, प्रहरी टोली पुग्नु अगावै उनी फरार भइसकेका थिए ।

नेपालमा रहेकी श्रीमतीको कल डिजेट रेकर्ड (सीडीआर) मा भेटिएको भारतीय नम्बरलाई लोकेट गरेर प्रहरी अधिकारी बस्ने ठाउँसम्म पुगेको थियो । ‘पछिल्लो पटक हामीले गृह मन्त्रालयको समेत स्वीकृति लिएर ब्युरोको टोली भारत पठाएका थियौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले सुनाए, ‘टोलीले भारतबाट पछ्याउँदै ल्याएर रुपन्देहीको सिद्धार्थ नगर–१, बेलहियाबाट पक्राउ गरेको हो ।’

स्रोतका अनुसार उनलाई ब्युरोबाट खटिएका अधिकृतले मुम्बईबाटै पक्राउ गरेर नेपाल ल्याएका थिए, जहाँ उनी अर्की श्रीमती र दुई छोराछोरीसहित बसेका थिए ।

भारतमा पुगेर हुलिया परिवर्तन

अधिकारीले भारतमा पुगेपछि आफ्नो परिचय परिवर्तन गरेका थिए । उनले प्रकाश अधिकारीको नाममा भारतबाट सवारी चलाक अनुमति पत्र पनि लिएका छन् ।

‘उनले त्यहाँ कसरी लाइसेन्स बनाए भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, ब्युरोका प्रवक्ता दिपक रेग्मी भन्छन्, ‘आधारकार्ड अथवा अन्य सरकारी कागजातविना पक्कै बनिएन होला ।’ रेग्मीका अनुसार उनले भारतमा ‘हेभी ट्रक’ सिकेर चलाएर गुजारा गर्न थालेका थिए ।

तर, उनी भारतमा पनि प्रहरीले जुनसुकै वेला पक्राउ गर्न सक्ने कुरामा सतर्क थिए । स्रोतका अनुसार त्यही कारण उनी घटनालगत्तै वनारस हुँदै महाराष्ट्रको पुणे, मुम्बई लगायतका क्षेत्रमा बसे । उनले एउटै ठाउँमा डेरा परिवर्तन गरी रहन्थे ।

स्वीकारे बयान

८ असार २०५७ मा भएको यो घटनाको अभियुक्तलाई पक्राउ गरेसँगै प्रहरीले राहतको सास फेरेको छ ।

अधिकारीलाई सार्वजनिक गर्दै ब्युरोका डीआईजी शाहीले पनि भनेका छन्, ‘यो घटनाले जतिसुकै समय लागे पनि अपराधी प्रहरीबाट बच्न सक्दैन भन्ने सन्देश दिएको छ ।’

अधिकारीले कसुर स्वीकारेको पनि दाबी गरेका छन् । अधिकारीले दिएको बयान अनुसार उनलाई प्रजापति दम्पत्तिले महिनाको १५ सय रुपैयाँ दिने गरी राखेका थिए । ‘करिब ७ महिनाको तलब लिन बाँकी थियो । पटकपटक माग्दा पनि नदिएपछि आक्रोशित भएर छुरा प्रहार गरेँ’, उनले प्रहरीसँग भनेका छन् ।

बिहानको खाना खाइरहेका वेला भान्सामा रहेको कुट्टोले पछाडिबाट प्रहार गरेका उनले बताएका छन् । कुटो प्रहारबाट विक्षिप्त बनेका उनले प्रतिवाद पनि गरिन् । तर, अधिकारीले छुरा प्रहार गरी उनको हत्या गरिदिएका थिए ।

प्रहरीका अनुसार अधिकारीको राम्रो स्वभाव र कामबाट प्रभावित भएर डीएफओ तुल्सीभक्तले पर्सामा करारमा कार्यरत् उनलाई काठमाडौंसम्म ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment