Comments Add Comment

पाकिस्तानका कप्तान भन्छन् : भारतविरुद्ध यस्तो गल्ति गर्नु हुँदैन

३० जेठ, काठमाडौं । बुधबार राति विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियासँग ४१ रनले पराजित भएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले भारतलाई पराजित गर्न फिल्डिङ बलियो बनाउनु पर्ने बताएका छन् ।

भारत र पाकिस्तानबीचको खेल यही आइबार वल्ड ट्राफोर्डमा दिउँसो हुदैछ । यी दुई राष्ट्र सधै कट्टर प्रतिद्धन्दी टिम हुन् । आफ्नो देशको प्रतिष्ठासँग यी दुई टिमले खेललाई पनि हेर्ने गरेको छ । त्यसैले यी दुई देशबीचको खेल सधै विशेष हुने गरेको छ ।

अष्ट्रेलियासँग हारेपछि पाकिस्तानका कप्तानले आफ्नो टिमको फिल्डिङमा चिन्ता ब्यक्त गरेका छन् । पाकिस्तान अष्ट्रेलियासँग हार्नुको एउटा कारण खराब फिल्डिङ पनि हो । अष्ट्रेलियाका कप्तान आरोन फिन्च व्यक्तिगत ३३ रन हुदा आउट हुने निश्चित जस्तै थिए । तर आसिफ अलीले उनको क्याच छुटाए । जीवनदान पाएका फिन्चले अन्ततः ८२ रन बनाए । डेभिड वार्नरले १०७ रन बनाए । वार्नर र फिन्चकै उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले ३०७ रन बनाएको थियो ।

अष्ट्रेलियाविरुद्ध हारेपछि कप्तान सर्फराजले भनेका छन्, ‘जब दुई राम्रा टिम खेलिरहेको बेला फिल्डिङले भूमिका खेल्छ । हामी फिल्डिङकै कमजोरीको कारण रन बनाउन दियौं । यदी भारतविरुद्धको खेल जित्नु छ भने हामीले यस्तो ठूलो गल्ति गर्नु हुदैन ।’

‘हाम्रो फिल्डिङ राम्रो छैन । हामी भारतविरुद्धको खेल अघि फिल्डिङमा मेहेनत गर्ने छौं । भारत बलियो टिम हो । यदी भारतविरुद्ध पनि यस्तै गल्ति गर्ने हो भने हामीले खेल जित्ने मौका पाउने छैनौं’, कप्तान सर्फराजले भनेका छन् ।

 

यता, अष्ट्रेलियाविरुद्ध ५३ रन बनाएका ओपनिङ ब्याट्सम्यान इमाम उल हकले भारतविरुद्ध पूरै आफ्नो क्षमता लगाएर खेल्ने बताएका छन् ।

उनले भनेका छन्, ‘म्यान्चेस्टरमा हुने खेलमा धेरै पाकिस्तानी प्रशंसक छन् र म यो कुराले निकै उत्साहित छु । यो खेलमा निकै दबाब हुनेछ । हामी आफ्नो क्रिकेट क्षमतामा कसरी सुधार गर्दै राम्रो गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment