Comments Add Comment

मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउन जग्गा अधिग्रहण सुरु

३२ जेठ, काठमाडौं । मेलम्ची आयोजनाको दोस्रो खण्डको निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्न थालेको छ । सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण गर्न थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शनिबार एक सूचना जारी गरेर तोकिएका कित्ताका जग्गा धनीलाई १५ दिनभित्र मुआब्जा बुझ्न भन्दै सूचना जारी गरेको छ ।

यो आयोजना निर्माण गर्दा पाँचपोखारी थाङ्पाल गाउँपालिकाको वडा नम्बर एकमा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गरिनेछ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९मा ६  र वडा नम्बर ६मा ४ कित्ता जग्गा अधिग्रहण गर्न लागिएको हो ।

आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्सपाइसट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । सरकारले यसवर्ष मेलम्ची आयोजनाको दोस्रो खण्डको काम अघि बढाउने गरी ठूलो बजेट विनियोजन गरेको छ । जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ ।

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समतिलाई दिएको हो ।

यो योजना पुरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची-२को डीपीआर तयार भएको आयोजनाका एक अधिकारीले जानकारी दिए ।

गत माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजना -पहिलो खण्ड)को काम सुरु गर्न नयाँ ठेक्का आह्वान भइसकेको छ ।  अब आयोजनाको काम डेढ वर्ष भित्र सक्ने लक्ष्य छ । सँगै जग्गा अधिग्रहण लगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न टेन्डरमा जाने योजना बनेको छ ।

थप ३४ करोड लिटर पानी

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको दोस्रो प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्‍याउने योजना छ ।

यो योजनाअनुरुप मेलम्ची आयोजनामा यांग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।

यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैंक (एडीबी) पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार भइसकेको छ ।

सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेट र नीति तथा कार्यक्रमबाटै नै गरिसकेको छ ।  अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिनेछ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो ।

मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा सहज हुने विश्वास छ ।

कसरी बन्छ ?

मेलम्चीमा यांग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरु खन्नुपर्नेछ झण्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ ।

यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ । मेलम्ची आयोजनामार्फत आएको पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्चीको पानी काठमाडौं आएपछि काठमाडौंमा पानीको माग व्यवस्थापन सहज हुने आयोजनाका अधिकारीहरु बताउँछन् ।

झन योजनाअनुरुप थप ३४ करोड लिटर पानी काठमाडौं आएपछि यहाँ पानीको अभाव हट्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment