Comments Add Comment

प्रदेशसभा अवरुद्ध गर्ने प्रमुख विपक्षीको चेतावनी

१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ ।

तर आर्थिक मामिलामन्त्री विजयकुमार यादवले प्रदेशसभामा बजेट टेबल गर्दा विपक्षी नेकपाका सांसदहरु भने उपस्थित थिएनन् । उनीहरुले बहिस्कार गरेका पनि होइनन् । बजेट पेश गर्दा उपस्थित थिए ।

साँझ ६ बजे बजेट प्रस्तुती सकिएपछि आधा घण्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । विपक्षी दलका सांसदहरु छलफलका लागि आ–आफ्नो संसदीय दलको कार्यालय पुगेका थिए ।

आधा घण्टापछि पनि प्रतिपक्षी दलका सांसदहरु छलफलमै रहेका थिए । विपक्षी सांसदहरु नआएपछि बजेट टेबल भयो ।

विपक्षी सांसदहरुले भने आफूहरु केहिबेरका लागि छलफल गर्न बाहिर जाँदा सत्तापक्षले बजेट टेबल गरेको आरोप लगाएको छ । यसलाई दिएर नेकपा सरकारप्रति आक्रामक देखिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले भने आफूहरुको अनुपस्थितिमै बजेटलाई टेबल गराउनुलाई ‘नयाँ नजिर’ बसाएको प्रतिकृया दिएको छ ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारले आफ्नै सांसदहरुलाई राखेर बजेट टेबल गराउनु आफूहरुलाई पेल्नु भएको प्रतिकृया दिए । नेता मण्डलले अनलाइनखबरसँग भने, “केहि समय मात्रै ढिलो हुनेवित्तिकै टेबल गर्नु हाम्रो अपमान गर्नु हो ।”

उनले यो अपमानको जवाफ माग्ने र ठोस जवाफ नआए संसद अवरुद्व गर्ने चेतावनी दिएका छन् ।

तर कांग्रेस भने नरम देखिएको छ । ‘बजेट टेबल भइरहँदा मुख्यमन्त्रीज्यूले मलाई फोन गर्नुभयो तर, हामी समयमा जान सकेनौं’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले अनलाइनखबरसँग भने, ‘आखिर बजेट टेबल हुनु नै थियो । भयो, यसमा आफूहरुको आपत्ति छैन् ।”

यद्यपि बजेटप्रति आफूहरुको आपत्ति रहेको जनाउँदै बजेट च्यूरा र भूजा जस्तो बाँडिएको टिप्पणी गरे ।

सरकारले भने सानो कुरालाई विपक्षले ठूलो नबनाउने विश्वास व्यक्त गरेको छ । ‘उहाँहरुले केहि समय लाग्न सक्छ भनेर जानकारी गराएको भए हामी केहि समय अगाडि सार्न सक्थ्यौं, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले भने, “तर बैठकको घण्टी बजेपछि हामी भित्र गयौं र, बजेट टेबल गर्‍यौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment