Comments Add Comment

योगेश भट्टराई भन्छन्- गुठी विधेयकको विरोधमा ‘राजावादी’ मिसिए

विधेयक तत्काल स्थगन गर्न भट्टराईको सुझाव

१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले गुठी विधेयकको विरोधमा सुरु भएको आन्दोलनमा ‘राजावादीहरु’ समेत मिसिएको भन्दै हाललाई विधेयक स्थगन गर्न सरकारसँग माग गरेका छन् ।

‘आन्दोलनमा गएर आफ्नो-आफ्नो स्वार्थ बोक्नेहरूले रोटी सेक्न थाले । राजावादीहरु, राजा आउ भन्नेहरु धर्मको कुरा गर्न थाले । जातीय वितृष्णा फैलाउनेहरु सडकमा जान थाले । असम्बन्धितहरु पनि गए’ भट्टराईले अनलाइनखबरसँग भने, ‘चाहिने/नचाहिने सबै तत्वहरु मिसिए । अवाञ्छित तत्वहरु मिसिए ।’

नेकपाका स्थायी समिति सदस्य समेत रहेका सांसद भट्टराईले प्रधानमन्त्री युरोप भ्रमणबाट स्वदेश फर्किएलगतै टि्वट गर्दै गुठी विधेयक स्थगीत गर्न माग गरेका छन् । टि्वटमा उनले विभिन्न ४ वटा सवाल उठाएका छन् ।

तिनै सवालमाथि केन्द्रीत रहेर भट्टराईसँग गरेको अनलाइनखबरले छोटो कुराकानी :

गुठी विधेयक : बुझाउनुपर्नेले बुझाउन सकेनन् भन्नुभयो । यसमा के के राम्रा पक्ष छन् ? र, कसले बुझाउन सकेन ?

विधेयकमा धेरै राम्रा पक्ष छन् । गुठीका नाममा पीडामा परेका किसानहरुको कुरा गरिएको छ । सार्वजनिक गुठीको कुरा छ । सार्वजनिक गुठीको आम्दानी, आय/व्यय पारदर्शी गर्नुपर्छ भन्ने छ । यस्ता कुराहरु आम जनताको हितमा छन् । यी कुराहरु सरकारले अथवा विधेयक ल्याउने पक्षले राम्ररी बुझाउनुपर्ने थियो । त्यो बुझाउन सकेनन् । बुझाउन नसक्नु सरकारको कमजोरी हो ।

बुझ्नुपर्नेले बुझ्न कोशिस नै गरेनन् पनि भन्नुभयो । कसले बुझेनन् ?

काठमाडौंमा धर्म, संस्कृति सबै खाइदियो भन्ने छ नि त । विधेयकमा धर्म, संस्कृति खाने कुनै पनि प्रावधान छैन । धर्म, संस्कृतिको त जर्गेना गर्ने, संरक्षण गर्ने भन्ने कुरा छ । यो कुरा बुझ्नुपर्नेले बुझ्न चाहेनन् । हल्लामै लागिहाले ।

विधेयकमा नराम्रो पक्ष धेरै छैन । तर, मान्छेले आतंकका रुपमा बुझे । यो हाम्रो धर्म संस्कृतिमाथिको आतंक हो कि भन्ने रुपमा बुझे नि त । कतिले बुझ्नै चाहेनन ।

यो पनि पढ्नुहोस गुठी विधेयकको विरोध गर्नेमाथि धरपकड र पानीको फोहरा प्रहार

आगोमा रोटी सेक्न अवान्छित तत्वहरु पनि मिसिए र साम्प्रदायिक सदभावमाथि धावा बोल्न थाले भनेर कसलाई भन्न खोज्नुभएको ? को मिसियो यसमा ? कसले बोल्यो साम्प्रदायिक सदभावमाथि धावा ?

चाहिने/नचाहिने सबै तत्वहरु मिसिए । अवान्छित तत्वहरु मिसिए । आन्दोलन गर्ने सबैको भावना खराब छैन । पवित्र मनले आन्दोलन गर्नेहरु पनि छन् । तर, त्यो आन्दोलनमा गएर आफ्नो-आफ्नो स्वार्थका भएकाहरुले रोटी सेक्न थाले । राजावादीहरु, राजा आउ भन्नेहरु, धर्मको कुरा गर्न थाले । जातीय वितृष्णा फैलाउनेहरु जान थाले । असम्बन्धितहरु पनि गए ।

यो पनि पढ्नुहोस गुठीबारे प्रधानमन्त्री : मौका पायौं भन्ठान्या होलान्,चान्स छैन !

प्रधानमन्त्रीले गुठी विधेयकमा सच्चिएर जान सकिन्छ भन्नुभयो । तपाईले चाहिँ विधेयक स्थगन नै गर्ने ट्वीट गर्नुभयो ….

प्रधानमन्त्रीले नै भन्नुभएको छ, कतिपय कुराहरु सच्याउँछौं भनेर । कतिपय कुराहरु त्यहाँ सच्याउनुपर्ने पनि हुन सक्छ नि । त्यसकारण अहिलेलाई यो विधेयक स्थगत गर्ने । सरोकारवालाहरुलाई बोलाउने र छलफल गर्ने । अनि के के कुरा सच्याउने हो, सच्याउने । अहिले जहाँ (संसद) मा छ, त्यहीँ स्थगित गर्ने । संसदमा छलफल अघि नबढाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment