Comments Add Comment

प्रदेश २ मा लफडा : संसद अवरुद्व पार्ने नेकपाको चेतावनी

विपक्षीलाई बाहिरै राखेर बजेट घोषणा गरिएको आरोप

२ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार प्रस्तुत गरेको बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल भयो । विपक्षी नेकपाका सांसदहरु बाहिर गएपछि सत्तासीन सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबल गरिएको हो ।

सत्ता पक्षले विपक्षी सांसदहरु निर्धारित समयमा नआएकाले तोकिएको समयमा बजेट टेबल गरिएको बताएका छन् ।

विपक्षी सांसदहरुले भने आफूहरु केहीबेरका लागि छलफल गर्न बाहिर जाँदा सत्ता पक्षले बजेट टेबल गरिसकेको आरोप लगाएका छन् ।

सत्ता पक्षले विपक्षी सांसदको अनुपस्थितिमै बजेट टेबल गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरुले आपत्ति जनाएका छन् । तर, प्रतिपक्षी बेञ्चमै रहेका नेपाली कांग्रेसका सांसदहरु भने नरम देखिएका छन् ।

प्रदेश २ मा समाजवादी पार्टी र राजपा सरकारमा छन् भने नेकपा र नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा छन् ।
यो पनि पढ्नुहोस प्रदेश २ सरकारले ल्यायो ३८ अर्ब ७२ करोडको बजेट

आइतबार साँझ ६ बजे बजेट प्रस्तुती सकिएपछि आधा घण्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । यो समयमा विपक्षी दलका सांसदहरु बजेटबारे सामान्य छलफलका लागि आ–आफ्नो संसदीय दलको कार्यालयमा पुगेका थिए । निर्धारित आधा घण्टाको समय सकिएपछि पनि प्रतिपक्षी दलका सांसदहरु छलफलमै रहेका थिए ।

बजेट च्युराजस्तो बाँडियो : कांग्रेस

नेपाली कांग्रेसले बजेटको प्रस्तुतिमा प्रक्रियागत असन्तुष्टि नरहे पनि बजेटप्रति भने असहमत रहेको प्रतिक्रिया दिएको छ ।

‘बजेट टेबल भइरहँदा मुख्यमन्त्रीज्यूले मलाई फोन गर्नुभयो, तर आफूहरु समयमा जान सकेनौं’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले अनलाइनखबरसँग भने, ‘आखिर बजेट टेबल हुनु नै थिया, भयो, यसमा हाम्रो आपत्ति छैन ।’

तर, प्रदेश सरकारबाट प्रस्तुत गरिएको बजेटप्रति भने आफूहरुको आपत्ति रहेको जनाउँदै यादवले बजेट च्युरा र भुजाजस्तो बाँडिएको टिप्पणी गरे ।

कांग्रेस सांसद यादवले भने, ‘हामी बजेटको बिषयमा प्रदेश सभामा कुरा राख्छौं ।’

संसद चल्न नदिने नेकपाको उद्घोष

प्रमुख प्रतिपक्षी नेकपाले भने आफूहरुको अनुपस्थितिमै बजेटलाई टेबल गराउनुलाई ‘नयाँ नजिर’ बसाएको प्रतिकृया दिएको छ ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारले आफ्नै सांसदहरुलाई मात्रै राखेर बजेट टेबल गराउनु आफूहरुलाई पेल्नु भएको प्रतिकृया दिए ।

आफूहरु संसदीय दलको कार्यालयमा बसेर बजेटबारे छलफल गरिरहँदा केहीबेरका लागि थप समय प्रदेशसभा बैठक स्थगित गराउनुपथ्र्याे’ नेता मण्डलले अनलाइनखबरसँग भने, ‘तर केही समय मात्रै ढिलो हुनेवित्तिकै टेबल गराउनु विपक्षी सांसदहरुमाथिको अपमान हो ।’

नेकपा सांसद मण्डलले यो अपमानको जवाफ माग्ने र ठोस जवाफ नआए संसद अवरुद्व गर्ने चेतावनीसमेत दिए ।

प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बज बस्ने छ ।

सत्तापक्षको दाबी : विपक्षीले ढिलो हुने सूचना दिएनन्

प्रमुख प्रतिपक्षीले छलफल ढिलो हुन सक्ने जानकारी नगराएको प्रदेश सरकारले जनाएको छ ।

‘उहाँहरुले केही समय लाग्न सक्छ भनेर जानकारी गराएको भए हामी केही समय कुर्न सक्थ्यौं, प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले भने, ‘तर बैठकको घण्टी बजेपछि हामी भित्र गयौं र बजेट टेबल गर्‍यौं ।’

मन्त्री सोनलले यो सानो कुरालाई ‘विपक्षी साथीहरुले ठूलो कुरा नबनाउने’ विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment