Comments Add Comment

कालिका नगरपालिकामा गरीबलाई मेयर आवास कार्यक्रम

४ असार, चिवतन । चितवनको कालिका नगरपालिकाले गरीबलाई घर निर्माणको योजनासहित नीति तथा कार्यक्रम ल्याएको छ । बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा गरीबलाई घर दिन मेयर आवास कार्यक्रम घोषणा गरिएको छ ।

नगरसभामा नगर प्रमुख खुमनारायण श्रेष्ठले प्रस्तुत गरेको ६७ बुँदे नीति तथा कार्यक्रममा नगरको विकट क्षेत्र सिद्धिबाट मेयर आवास कार्यक्रम सुरु गर्ने जनाइएको छ ।

सिद्धिमा एक सय घर निर्माण गर्ने नगरपालिकाको नीति छ । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर भुमिहीन बाढीपीडित र अव्यवस्थित रुपमा वसोवास गरेकाहरुलाई जनताको आवास हक सुनिश्चित गर्ने उदेश्यका साथ मेयर आवास कार्यक्रम लागु गरिने मेयर श्रेष्ठले बताए ।

कालिका नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार निर्माणलाई समेत प्राथमिकता दिने जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउन यातायातको व्यवस्थादेखि एक विद्यालय एक फूलबारी कार्यक्रम समेत सञ्चालन गरिने नगर प्रमुख श्रेष्ठले बताए ।

त्यस्तै विद्यार्थी भर्ना प्रोत्साहन, दिवा खाजा कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘शिक्षाबिना नगर समृद्ध बन्न सक्दैन’ नगर प्रमुख श्रेष्ठले भने, ‘नगरको शैक्षिक गुणस्तर वढाउन शिक्षक शिक्षिकाको क्षमता विकासदेखि विद्यालयको भौतिक पुर्वाधारमा सुधार र यातायातको व्यवस्था गरिनेछ ।’ नगरपालिकाको शैक्षिक गुणस्तरमा भूमिका निर्वाह गर्ने शिक्षकहरु र विद्यार्थीहरुलाई पुरस्कृत गर्ने नगरपालिकाको योजना छ ।

यसैगरी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकी पुर्‍याउने नीति अवलम्बन गरिने जनाएको छ । नगर भित्र १५ शैय्याको अस्पताल निर्माण, सञ्चालन गरी विषेशज्ञ डाक्टरको सेवा प्रवाह गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।

नगर समृद्धिको आधार पशुपालन र कृषि क्षेत्र भएकाले यसको विकास गर्ने कालिका नगरपालिकाले नीति लिएको छ । महिलाहरुलाई उद्यमी बनाउन सशक्तिकरण गर्दै लैजाने कार्यक्रम नगरपालिकाको छ । नगरका पर्यटकीय क्षेत्र सिन्ती झरना, चित्राम झरना, पर्यटन पदमार्ग, चेपाङ वस्तीमा होमस्टे तथा उपरदाङगढीसम्मको हाईकिङको व्यवस्था गर्ने मेयर श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संघीयताको नयाँ प्रणालीलाई स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपुर्ण हुने बताए । प्रदेश सांसद घनश्याम दाहालले नगरपालिकाले लिएको नीति तथा कार्यक्रम सत प्रतिशत सम्पन्न गर्ने गरी सक्रिय हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment