Comments Add Comment

चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको भ्रमणमा

चीन र उत्तर कोरियाको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको दावी

Photo Credit : Xinhua News Agency/Getty Images

५ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरियाको भ्रमणका लागि बेइजिङबाट प्रस्थान गरेका छन् । भ्रमणमा निस्किनुअघि उनले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा राखेका छन् ।

राष्ट्रपति सिले बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्नेछन् । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हो ।

यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा निस्किएका हुन् । दुवै देशका सञ्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपतिको यो राजकीय भ्रमणको समाचार प्राथमिकताका साथ प्रचार प्रसार गरेका छन् ।

भ्रमणमा निस्किनुअघि राष्ट्रपति सिको एक लेख उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशितसमेत भएको छ । सो लेखमा राष्ट्रपति सिले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने धारणा राखेका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार राष्ट्रपति सिले दुई देशका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पर्‍याउन तथा विश्व, क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि चीन र उत्तर कोरियाको सदृढ सम्बन्ध आवश्यक रहेकोमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment