Comments Add Comment

प्रहरी भन्छ- कुमार पौडेल ‘भिडन्त’मा मारिए, विप्लव समूह भन्छ- बाटो ढुकेर हत्या !

५ असार, काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा भएको भनिएको ‘भिडन्त’मा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला इञ्चार्ज मारिएका छन् ।

नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तमा प्रहरीको गोली लागेर कुमार पौडेलको मृत्यु भएको हो । एमालेबाट राजनीतिमा चिनिएका पौडेल माओवादी, चुरेभावर हुँदै पछिल्लो समय विप्लव समूहमा सक्रिय थिए ।

बढ्दो थियो विप्लव समूहको सक्रियता

२८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रदेश नं. २ प्रहरी कार्यालयले गरेको आन्तरिक सुरक्षा विश्लेषणमा सर्लाहीको लालबन्दी नगरपालिकामा पर्ने चुरे जोडिएको ठाउँलाई यो समूहको बढी गतिविधि रहेको पाइएको थियो ।

सिन्धुलीको सिमाना पर्ने यो ठाउँमा विप्लवका नेता, कार्यकर्ता ओहोरदोहोर गरिरहने सूराकी समेत प्रहरीसँग थियो । प्रदेशको अनुसन्धान समूहका एक अधिकृतकाअनुसार दोस्रो संवेदनशील क्षेत्रमा रौतहटको माथिल्लो बेल्टलाई मानिएको थियो ।

नेकपा विप्लव समूहले भने प्रहरीले नियतवश ढुकेर गोली चलाएको दाबी गरेको छ । समूहका एक नेताले भने, ‘सरकारले भिडन्तको नाम दिएर क्रुरतापूर्वक दमन गरेको छ, यसले सरकारको फासीवादी चरित्र प्रष्ट पारेको छ ।’

यही विश्लेषणका आधारमा प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना र विप्लव समूहविरुद्ध रणनीति तयार पारेको थियो । जसमा मुख्य निशानामा थिए, विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल । किनकि, करिब ६ महिनायता उनले चन्दा संकलनलाई तीव्र बनाएको प्रहरीलाई सूचना थियो ।

प्रदेश २ का एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘उनले फोनै गरेर जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुखसँग चन्दा माग्ने गरेका थिए ।’ कतिपय जनप्रतिनिधिले मोटो रकम बुझाएको सूचना समेत छ ।

मागेअनुसार रकम नदिए पौडेलको टोलीले धम्की, कुटपिट तथा भौतिक क्षति समेत पुर्‍याउन पछि पर्दैथ्यो । पौडेलबारे आतंकवाद र आन्तरिक विद्रोही समूहबारे अनुसन्धान गर्ने प्रहरीको खुफिया निकाय विशेष ब्युरोमा पनि सूचना पुगेको थियो ।

ब्युरोसहित प्रदेश प्रहरीको विशेष अनुसन्धान समूह र जिल्लाका एसपी, डीएसपीको टोलीले लालबन्दी नगरपालिकाको सीमा क्षेत्रमा निगरानी बढाएको थियो । यो टोली सादा पोशाकमा सम्भावित क्षेत्रमा खटिएको थियो । त्यही क्रममा बिहीबार दिउँसो विप्लव समूहका चार नेताको जम्काभेट भएको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पाल बताउँछन् ।

यो पनि पढ्नुहोस सर्लाही मुठभेडपछि विप्लव समूहले भन्यो– बलिदान खेर जान दिँदैनौं

‘एउटा ‘अन टेस्ट’ र अर्को ना २२ प ६४ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए’, प्रहरी नायब महानिरीक्षक पालले अनलाइनखबरसँग भने, ‘प्रतिरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भयो भने तीन जना फरार भए ।’ मृत्यु हुनेमा कुमार पौडेल छन् ।

‘घटनापछि हेर्दा मात्रै उनी विप्लव समूहका इञ्चार्ज भएको खुलेको थियो’, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले भन,े ‘उनको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्री बन्दुकको तीन राउण्ड गोली र म्यागजिन बरामद भएको छ ।’

प्रहरीले दुवैतर्फबाट दर्जनौं राउण्ड गोली चलेको दाबी गरे पनि प्रहरीलाई कुनै क्षति पुगेको छैन ।

नेकपा विप्लव समूहले भने प्रहरीले नियतवश ढुकेर गोली चलाएको दाबी गरेको छ । समूहका एक नेताले भने, ‘सरकारले भिडन्तको नाम दिएर क्रुरतापूर्वक दमन गरेको छ, यसले सरकारको फासीवादी चरित्र प्रष्ट पारेको छ ।’

प्रहरीका फरार प्रतिवादी

सर्लाहीको नेतृत्व सम्हालेर फर्किएका एक उच्च प्रहरी अधिकृतका अनुसार पौडेल प्रारम्भमा एमाले पार्टीबाटै चिनिएका व्यक्ति हुन् । तर, सशस्त्र द्वन्द्वपछि माओवादी हुँदै मोहन वैद्यको समूहमा उनी जोडिए । वैद्य समूह छाडेर चुरे भावर पार्टी हुँदै पछिल्लो समय उनी नेकपा विप्लव समूहमा आवद्ध भएका थिए ।

जग्गा विप्लव समूहले सर्लाहीको सागरनाथ वन परियोजना कब्जा गरेर सुकुम्वासी राख्दा पनि पौडेलले नै अगुवाई गरेका थिए । करिब ३ हजार विघा जग्गा प्रहरीले खाली गराउन खोज्दा गोली पनि चलेको थियो । तर, कुनै क्षति भएन ।

‘पौडेलकै योजनामा सुकुम्वासीलाई त्यहाँ राखिएको थियो । उनी सकुम्बासीको नाममा आफ्नो प्रभाव बढाउन चाहन्थे’, ती अधिकृतले थपे, ‘सुकुम्बासीको नाममा जग्गा कब्जा गरेर कमिसन लिन खोजेको सूचना हामीलाई थियो ।’

प्रहरी स्रोतका अनुसार पछिल्ला वर्षमा भने स्थानीय तहहरुमा चन्दा आतंक मच्चाइएको थियो । पौडेलले स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग चन्दा माग्दै आएका थिए । साथै, राजीनामा दिन दबाब दिँदै जनकारबाहीको चेतावनी पनि दिएका थिए ।

२३ वैशाखमा बागमती नदी किनारमा राखिएको स्काभेटरमा समेत आगजनी गरिएको थियो । नदीमा गिट्टी वालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको स्काभेटरमा भएको आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले समेत पौडेलको योजनामा घटना गराएको बयान दिएका थिए ।

यो पनि पढ्नुहोस सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

‘उनको बयानका आधारमा पौडेललाई फरार प्रतिवादी बनाएर मुद्दा चलाएका थियौं’, जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एक अधिकृतले भने, ‘तर, उनी फेला परेका थिएनन् ।’

व्यवसायीले चन्दा नदिएपछि तर्साउन पौडेलले आगजनी गरेको हुनसक्ने प्रहरीले बताएको थियो ।

त्यसयता भूमिगत रहेका पौडेलले विभिन्न माध्यमबाट जिल्लाका व्यापारी र जनप्रतिनिधिबाट चन्दा उठाइरहेको दाबी गर्दै  प्रदेश प्रहरीका एक अधिकृत भन्छन्, ‘स्थानीय व्यापारीबाट १० लाख रुपैयाँसम्म उठाइएको भेटिएको थियो ।’ बिहीबार भएको भिडन्तका क्रममा पौडेलको साथमा भेटिएको डायरीमा पनि व्यापारीहरुको नाम र विस्तृत विवरण उल्लेख भएको प्रहरी स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment