Comments Add Comment

७७ जिल्लाकै नागरिक सेयर बजारको पहुँचमा

९ असार, काठमाडौं । चालु आर्थिक वर्षदेखि सेयर बजारको पहुँच नेपालका ७७ वटै जिल्लामा विस्तार भएको छ । कुनै बेला राजधानी केन्द्रित सेयर बजार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा ७७ जिल्लामै पुगेको हो ।

सेयर बजारसम्बन्धी जानकारी कमै मात्रै रहेका बेला बोर्ड र नेप्सेले तल्लो स्तरमा पुगेर सेयर शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् । जसको फलस्वरुप सबै जिल्लाका नागरिक सेयर बजारमा जोडिएको बोर्ड बताउँछ ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबारसम्म १५ लाख ३८ हजार ६ सय ३ वटा डिम्याट खाता खोलिएका छन् । यो संख्या भित्र ७७ वटै जिल्लाका नागरिक रहेको लिमिटेडले जनाएको छ । सीडीएसबाट प्राप्त तथ्यांक अनुसार यि डिम्याट खातामा ४ अर्ब २७ करोड ७६ लाख ९१ हजार ९ सय ७६ कित्ता सेयर रहेका छन् ।

धितोपत्र बोर्ड आफैले २०७३/७४ देखि सेयर शिक्षाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । बोर्डले आर्थिक वर्ष २०७३/७४ मा ५ वटा प्रदेशमा २१ वटा कार्यक्रम आयोजना गरेको थियो । यो कार्यक्रममा त्यस वर्ष २ हजार ५ सय ६५ सहभागी भएका थिए । गत आर्थिक वर्षमा बोर्डले ६ वटा प्रदेशमा विभिन्न समयमा ३१ वडा साक्षरताका कार्यक्रम सञ्चालन गरेको थियो ।

गत वर्ष गरेको ३१ वटा साक्षरता कार्यक्रममा ४ हजार ३ सय ७० जना प्रत्यक्ष सहभागी भएका थिए । चालु आर्थिक वर्षमा पनि बोर्डले साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु वर्षको तथ्यांक भने बोर्डले सार्वजनिक गरेको छैन ।

साक्षरता कार्यक्रममा बोर्डले संघ/संस्था, लगानीकर्ताहरु साथै पत्रकारहरुसमेतलाई सहभागी गराउने गरेको छ ।

कुन प्रदेशमा कति डिम्याट ?

पछिल्लो तथ्यांकमा ८ लाख १२ हजार पुरुष र ५ लाख १३ हजार महिलाहरु सेयर लगानीकर्ता बनेका छन् । यसमा पनि १६ वर्षभन्दा कम उमेरका १ लाख १९ हजार ३ सय ८६ लगानीकर्ता रहेका छन् ।

यसैगरी १७ देखि ३५ वर्ष उमेर समूहका ५ लाख १७ हजार १ सय ३, ३५ देखि ६० वर्षसम्म ५ लाख ७८ हजार ३ सय ३० र ६० वर्षभन्दा माथि रहेका १ लाख ११ हजार ५ सय ५४ जना लगानीकर्ता रहेका छन् ।

प्रदेशगत रुपमा हेर्दा भने अत्यधिक लगानीकर्ता प्रदेश नम्बर ३ मा रहेका छन् । प्रदेश ३ मा ८ लाख २६ हजार ६ सय २४ जना रहेका छन् । दोस्रोमा भने प्रदेश नम्बर एकमा १ लाख ७२ हजार ६ सय ४० जना रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा १ लाख १५ हजार ५ सय २२ जना, प्रदेश ५ मा ९९ हजार ४ सय ७२ जना, प्रदेश २ मा ७१ हजार ९ सय जना, प्रदेश ७ मा २६ हजार ८ सय ८४ जना लगानीकर्ता रहेका छन् । सबैभन्दा कम लगानीकर्ता भने कर्णाली प्रदेशमा रहेका छन् । कर्णालीमा जम्मा १३ हजार ३ सय ३१ जनामात्रै लगानीकर्ता रहेका छन् ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै लगानीकर्ता काठमाडौं जिल्लामा रहेका छन् । काठमाडौंका ४ लाख ३१२ हजार ९ सय ७४ लगानीकर्ता रहेका छन् । ललितपुरमा ९७ हजार २ सय ५३ जना र भक्तपुरमा ६९ हजार २ सय ५३ लगानीकर्ता छन् । यस्तै, दोलखामा ४५ हजार ३ सय ७४ जना, मोरङमा ४४ हजार ३ सय ६३ जना, झापामा ३५ हजार ५ सय ३८ जना, कास्कीमा ३८ हजार ५ सय ७४ जना रहेका छन् ।

सबैभन्दा कम भने कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेका छन् । डोल्पाका १९२ नागरिक मात्रै सेयर बजारको पहुँचमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment