Comments Add Comment

आँधी प्रभावित क्षेत्रका सुत्केरी र गर्भवतीलाई राहत सामग्री हस्तान्तरण

१२ असार, वीरगञ्ज । गत चैत १७ गते आएको आँधी प्रभावित क्षेत्रका २ सय जना भन्दा बढी गर्भवती, सुत्केरी महिलालाई बिहीबार राहत वितरण गरिएको छ । बाराको सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया, वडा नं ८ प्रसुरामपुर, वडा नं १ कवहीमा राहत वितरण गरिएको हो ।

असल छिमेकी नेपाल पोखराको टोलीले टोर्नाडो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको थियो । शिशुका लागि ब्लाङ्केट, बेेबी किट, ५ सय ग्राम घिउ, २ सय ग्राम ज्वानो, ५ सय ग्राम हर्लिक्स, ५ सय ग्राम सर्वोत्तम पिठोसहितको झोला हस्तान्तरण गरिएको सहजकर्ता प्रेम घिमिरेले जानकारी दिए ।

‘स्थानीय स्वयंसेविकाहरुको सहयोगमा प्रभावित क्षेत्रका गर्भवती र सुत्केरी महिलाको नामावली संकलन गरेका थियौं,’ उनले भने , ‘त्यसैको आधारमा लगेर सामग्री वितरण गरेका छौं ।’

सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा ८८, वडा नं ८ प्रसुरामपुरमा १ सय र वडा नं १ कवहीमा ३० वटा झोला वितरण गरिएको थियो ।

असल छिमेकी नेपाल पोखराका सचिव प्रकाश भुजेलले टोर्नाडो प्रभावित क्षेत्रमा सुत्केरी र गर्भवती महिलाहरुको निम्ति पौष्टिक आहार सामाग्री वितरण गरिएको जानकारी दिए । सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष बबिता यादवको उपस्थितिमा राहत सामाग्री वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment