Comments Add Comment

भोजपुरको वडा कार्यालयमा आगजनी, बजारमा शंकास्पद बस्तु

१८ असार, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोडका साथै  आगजनी गरेको छ ।

वडा कार्यालयको ताला फोडेर कार्यालयमा रहेको महत्वपूर्ण कागजातलगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताला फोडेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको इन्सेपेक्टर पाण्डव राजवंशीले बताए ।

सोही वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्कृय गरिएको प्रहरीले जनाएको छ । कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

घटनापछि उक्त स्थानमा सुरक्षा स्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । उक्त घटनास्थलमा बुधबार विहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ ।

सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला

त्यस्तै भोजपुर सदरमुकाम नजिकैको देउराली सौदाचोकस्थित बुधबार विहान साढे ११ बजेतिर शंकास्पद वस्तु फेला परेको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु फेला प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ । शंकास्पद बस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । शंकास्पद बस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्लामा पछिल्लो समयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुको हतियारधारी समूहको गतिविधि बढेकाले यी घटनामा विप्लव समूहकै संलग्नता हुनसक्ने अनुमान गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment