Comments Add Comment

सञ्चारमन्त्रीको प्रष्टीकरण : मिडिया नियन्त्रण गर्ने तयारी छैन

२० असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने काम सरकारले नगर्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको प्रष्टीकरण दिएइका हुन् ।

तर, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने मनत्री बाँस्कोटाले बताए । सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने उनको तर्क छ ।

अपुष्ट समाचारहरुलाई स्वतन्त्रताको नाममा सम्प्रेषण गरिरहेको भन्दै उनले भने, ‘प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफूलाई लागेको कुरा भए पनि नभए पनि पुष्टि भएपनि नभएपनि गजबले गरिराख्न पाउनुभएको छ । एकदम स्वतन्त्र छ ।’

संसद सार्वभौम भएकाले बिधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए ।

उनले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताए ।

यस्तै मन्त्री बाँस्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए ।

‘लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाहिँ के छ ? अप्ठ्यारो के पर्‍यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरि अर्थाेकै पर्ला भनेर कायम राखेको । तर, समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment