Comments Add Comment

मकवानपुरका ५०५ जना चेपाङको स्वास्थ्य बीमा

२० असार, हेटौंडा । आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका मकवानपुरको भिमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बीमा गरिएको छ ।

सामान्य रोगको समेत उपचार गराउन नसक्दा अकालमै मृत्युबरण गर्नु पर्ने बाध्यताबाट मुक्ति दिन गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गर्दै बिपन्न परिवारका चेपाङहरुको स्वास्थ्य बीमा गरिदिएको हो । बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।

बीमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बीमा कार्ड हस्तान्तरण गरेको छ । गाउँपालिका वडानम्बर-२ कार्यालयबाट बीमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले परिचय पत्र बितरण गरेका थिए ।

स्वयमसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङक संकलन गरी बीमा गरिएको कार्यालयले जनाएको छ ।

संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ नम्बर वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको कार्यालयका स्वास्थय संयोजक ध्रुवप्रसाद लामिछानेले जानकारी दिए ।

तथ्याङक अनुसार १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।

परिचय पत्र बितरण गर्दै गाउँपालिका अध्यक्ष हिदम लामाले समान्य रोगका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।

उनले बिमाको कार्डलाई सिरानीमा राखेर परम्परागत धामि झाँक्रीको भरमा नपर्न चेपाङ समुदायलाई आग्रह गरे । उनले भने ‘अब पुरातन सोच भन्दा पनि बालबालिकालाई विद्यालयसम्म पुर्‍याऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment