Comments Add Comment

भारतीय दबावसामु ‘झुकेको’ भन्दै नेकपामै सरकारको आलोचना

प्रधानमन्त्री भन्छन्ः दबाव होइन, मेसिन नै रहेनछ

२१ असार, काठमाडौं । भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सत्तारुढ नेकपाका सांसदहरुले  सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन् ।

बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले भारतीय दबावसामु  सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन् । ‘कुनै देशले नजाँच भन्दैमा चुप लाग्नुपर्ने किन ? यसलाई मैले आश्चर्यका रुपमा लिएको छु’ बैठकपछि नेता रावलले भनेका छन् ।

बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिए । सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उनले भने, ‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन । हामी विश्वस्त हुनुपर्यो कि नेपाली जनताले विषादी मिसिएका शरीरलाई प्रतिकूल असर पार्ने खालका चिजहरु उपभोग गरिरहेका छैनन् ।’

प्रधानमन्त्री ओलीले भने कसैको दबावले नभई पूर्वाधार नभएकाले निर्णय फिर्ता लिनु परेको बताएका छन् । तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच गर्ने मेसिन छ छैन भने जानकारी नै नभएको भन्दै उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ । पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ ।’

सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । काठमाडौंस्थित भारतीय दूताबासले लिखित पत्र नै लेखेर सरकारी निर्णयको विरोध गरेको थियो ।

भारतले विरोध गरे लगतै सरकारले तयारी नपुगेको भन्दै नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।

सरकारको विरोध गर्नु संसदीय मर्यादा विपरित

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदनभित्र र बाहिर बोल्दा सांसदहरुले जानेर वा नजानेर सरकारको विरोध गरेकोमा असन्तुष्टि जनाए । ‘काम गर्दा कमजोरी भए आएर भन्नुस्, पार्टी कमिटीमा राख्नुस्’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सत्तारुढ सांसदरुहरुले नै सरकारको विरोध गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलका सांसदले संसदभित्र सरकारको विरुद्ध बोल्दैनन्’ उनले भनेका छन्, ‘सरकारको विरोध गर्नु संसदीय मर्यादा विपरीत हो ।’

साथै संसद बाहिर पनि सरकारको विरोध गर्नुृ अनशासन उल्लंघन हुने उनले बताएका छन् ।

संसदीय समितिले फर्मान जारी गर्ने होइन

बैठकमा प्रधानमन्त्री ओलीले आईफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनको पनि विरोध गरे । सरकारलेले देशलाई घाटा लगाउने निर्णय नगर्ने भन्दै उनले भने, ‘हामी कम लगानीमा बढी नाफा हुने व्यापार गर्न चाहन्छौं ।’

सिंगापुर, मलेसिया लगायतका देशमा पनि आईफा अवार्ड भएको र उनीहरुले बेवकुफ भएर अवार्ड नगरेको भन्दै उनले भने, ‘हामीले पनि बुझेर नै ल्याउन खोजेको हो । त्यसेले बुझ्दै नबुझी संसदीय समितिले फर्मान जारी गर्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment