Comments Add Comment

प्रस्तावित राजदूतको सुनुवाईमा मेस्सीको चर्चा

Photo Credit : रासस

२३ असार, काठमाडौं । संसदीय सुनुवाई समितिमा सोमबार चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई भयो । बंगलादेशका लागि प्रस्तावितको सुनुवाई विहान भयो भने कतार, अष्ट्रेलिया र स्पेनका लागि प्रस्तावित राजदूतको दिउँसो ।

अष्ट्रेलियाका लागि प्रस्ताव राजदूत महेशराज दाहाललाई अमेरिकी ग्रीनकार्डबारे सोधिएको प्रश्नलाई छाड्ने हो भने सुनुवाई ‘कर्मकान्डी’ झै रह्यो । बरु बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई लिएर रोचक चर्चा भयो ।

स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पाको सुनुवाई भइरहेको थियो । शेर्पाले सुरुमा आफ्नो अवधारणा राखेपछि सदस्यहरुले स्पेनमा नेपालीको उपस्थिति, नेपालको आर्थि विकासमा स्पेनको भूमिका लगायतका प्रश्न गरेका थिए ।

सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले एकाएक मेस्सीलाई त्यो बहसमा ल्याए । उनले ‘मेस्सीले खेलेको टिममा नेपाली खेलाडी पर्नसक्छ ? तपाईँको कार्यकालमा मेस्सीको टिमबाट नेपालीले खेल्न सक्ने वातावरण बन्छ ?’ भन्दै प्रश्न गरे ।

त्यसपछि अरु सांसद पनि मेस्सीतिरै लागे । कांग्रेस सांसद जितेन्द्र नारायण देवले आफू स्पेनमा जाँदा मेस्सीले खेलेको खेल मैदान अवलोकन गरेको सुनाए । ‘मैले मेस्सीले खेलेको मैदान हेरेर आएँ’ भन्छन्, ‘पहिला त्यहाँ गएँ र त्यसपछि अन्त्यत्र ।’

तर जवाफ दिने क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शेर्पाले भने न मेस्सीबारे चर्चा गरिन्, न मेस्सीको टिमबाट नेपाली खेलाडी खेल्नसक्ने सम्भावना बारे ।

उनले आर्थिक विकास, पर्यटन र दिपक्षीय भ्रमण गराउने विषयलाई प्राथमिकतामा राख्ने उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment