Comments Add Comment

राखेपका नयाँ सदस्य सचिवसामू क्रिकेटलाई निकास दिने अवसर

जिल्ला अधिवेशन अन्तिम चरणमा, प्रदेशको प्रक्रिया सुरु

२४ असार, काठमाडौं । चार वर्षअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) को तदर्थ समिति बनाएपछि सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई नै निलम्बन गरिदियो ।

आईसीसीको निलम्बन फुकुवा भइनसक्दै उनै सिलवाल अहिले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त भएका छन् ।

सोमबार सदस्य सचिवको सपथ खाएका सिलवालले मंगलबारै टी–२० विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरे । त्यस क्रममा उनले क्रिकेटको समस्या आफूले समाधान गर्ने भन्दै ढुक्क भएर खेल्न खेलाडीलाई आग्रह गरे । सिलवालले भने, ‘देशले ठूलो आशा गरेको छ, जितेर आउनु होला ।’

सिलवालले भने उनीसामू क्यानको विवाद छिट्टै समाधान गर्ने अवसर र वातावरण दुबै तयार पनि देखिन्छ । किनकी आईसीसीको अगुवाईमा विधान संशोधन गरेर जिल्ला संघहरुको चुनाव भइरहेको छ ।

जिल्लाको अन्तिम चरणमा, प्रदेशको प्रक्रिया सुरु

आईसीसीले बनाएको स्वतन्त्र समितिका अनुसार क्यानको जिल्ला अधिवेशन अन्तिम चरणमा पुगिसकेको छ । स्वतन्त्र समितिले २० जिल्लाको चुनावलाई बैधानिकता दिएको थियो भने १२ मा नयाँ सदस्यता वितरण गरेर तथा ७ जिल्लामा पुरानै सदस्यताअनुसार पुनः चुनाव गर्न निर्देशन दिएको थियो । त्यसअनुसार अब तीन जिल्लामा मात्र चुनाव हुन बाँकी छ ।

बाँके र काठमाडौंको मुद्दा अदालतमा छ । निर्वाचित क्यानका उपाध्यक्ष विनोद मैनालीले बाँके जिल्ला क्रिकेट संघमा रहेको आफ्नो सदस्यता खारेज भएको भन्दै मुद्दा हालेका थिए । उनको सदस्यता खारेज नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चमा मंगलबार पेशी थियो तर, सुनुवाई हुन सकेन ।

काठमाडौंमा पनि दिवाकर घले लगायतले मुद्दा हालेका छन्, यसको पेशी भोलिलाई तोकिएको छ । पर्सामा भने सदस्यतासम्बन्धी देखिएको विवाद समाधान भएको छ र अर्को सातासम्म अधिवेशन गरेर नयाँ कार्यसमिति बनाउने तयारी छ ।

यो पनि पढ्नुहोस क्रिकेट विवाद समाधानउन्मुख, जुलाईमा हट्ला त प्रतिबन्ध ?

जिल्लाको चुनाव अन्तिम चरणमा पुगेसँगै प्रदेश कमिटी गठनको प्रक्रिया पनि सुरु भएको छ । स्वतन्त्र समितिका एक सदस्यका अनुसार जिल्ला चुनाव भइसकेका तीन वटा प्रदेशलाई साउन ११ देखि २५ गतेभित्र अधिवेशन गर्ने समयसीमा दिइएको छ । प्रदेश ७ ले ११ गते अधिवेशन बोलाएको छ ।

प्रदेश १ र ४ ले मिति तोकेको छैन । बाँकी प्रदेशको हकमा जिल्ला अधिवेशन सकिएपछि अधिवेशन गर्न समयसीमा दिइने स्वतन्त्र समितिले जनाएको छ ।

जिल्ला क्रिकेट संघहरु गठनमा भएको प्रगति आईसीसीको आसन्न बोर्ड बैठकलाई जानकारी गराइनेछ । बोर्ड आईसीसीको बैठक १८ जुलाईमा बोलाएको छ ।

क्रिकेटलाई निकास दिने अवसर

स्वतन्त्र समितिका एक सदस्यका अनुसार क्रिकेट संघको प्रदेश र केन्द्रीय कमिटी नबनिसकेकाले आईसीसीको आसन्न बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने सम्भावना कम छ । तर सकारात्मक प्रतिक्रिया दिनसक्छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक सदस्य भन्छन्, ‘हामीले जिल्ला चुनावमा भएका प्रगतिबारे जानकारी गराउँछौं । त्यस आधारमा बोर्ड बैठकमा छलफल भएर सकारात्मक प्रतिक्रिया आयो भने भने क्यान बनेलगत्तै निलम्बन फुकुवा हुनसक्छ ।’

तर यो बीचमा कुनै समस्या नआउला भन्ने पनि छैन । क्रिकेट संघमा सुरु भएको विवादको जड नेपालको क्रिकेटलाई कसरी राम्रो बनाउने भनेर होइन कि नेतृत्वमा को पुग्ने भनेर भएको हो । अझ प्रष्ट भन्दा राजनीति घुसेर हो ।

र, अब नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनका बेला पनि राजनीति घुस्दैन भन्ने छैन । अहिले पनि चतुरबहादुर चन्द नेतृत्वको तत्कालीन निर्वाचित क्यान फेरि नेतृत्वमा आउने योजनामा छ, जसलाई कांग्रेस निकट मानिन्छ ।

उता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्धहरु आफैं नेतृत्वमा आउन चाहन्छन् । अझ हिजो क्यानको तदर्थ समितिको अध्यक्ष नै भएका सिलवाल राखेपको सदस्य सचिव भएपछि यो समूहले त्यो चाहनालाई बल पुग्ने आश गर्नु अस्वभाविक होइन ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पनि नेतृत्वको दावेदारका रुपमा हेरिएको छ । लामो समय काठमाडौं क्रिकेट संघमा रहेका तथा आईसीसीले बनाएको नेपाल सल्लाहकार समूहमा रहेर काम गरेका उनले भक्तपुर क्रिकेट संघबाटै भए पनि सदस्यता लिएपछि नेतृत्वमा आउने चाहेको अनुमानलाई बल मिलेको छ । २० कात्तिक २०७१ मा क्यान तदर्थ समिति बनाउँदा आफ्नो महासचिव रहेका सिलवाल राखेप सदस्य सचिव नै भएपछि उनले पनि आफूलाई ‘फेवर’ गरिदिउन्’ भन्न चाहना नराख्लान् भन्न सकिन्न ।

अब राखेपका नवनियुक्त सदस्य सचिव सिलवालले क्रिकेट संघमा ‘मेरो मान्छे’ खोज्छन् कि समस्या समाधान गरेर निकासको बाटो रोज्छन्, त्यो समयले बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment