Comments Add Comment

सरकारको नेतृत्व परिवर्तन हुनैपर्छ : देवेन्द्र पौडेल

Photo Credit : कपिल ज्ञवाली । बुटवलमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता देवेन्द्र पौडेल ।

४ साउन, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । साथै उनले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गरेका छन् ।

‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, प्रदेश ५ को बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले अगाडि थपे, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

प्रचण्डनिकट नेता पौडेलले सरकारमा ओलीको नेतृत्व परिवर्तन हुने र त्यो भूमिका पार्टीका अर्का अध्यक्ष प्रचण्डले गर्ने दाबी गरे ।  तर, सरकारको नेतृत्व परिवर्तनको समय भने आइनसकेको उनकाे भनाइ छ ।

नेता पौडेलले सरकार सुशासनको दिशामा कमजोर देखिएको उक्त अवसरमा बताए । निर्मला काण्ड, संसद्मा दर्ता भएका विभिन्न विधेयक, विषादी परीक्षणलगायत विषयमा सरकार बुद्धिमत्तापूर्ण ढंगले अघि नबढेको पौडेलको ठम्याइ छ ।

उनले गुठी बिधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे ।

नेता पौडेलले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए । देखिनेगरी सरकारले नतिजा निकाल्न नसक्नुमा मन्त्रीकाे भूमिका रहेकाे भन्दै उनले  सरकार गतिशील बनाउन मन्त्री परिवर्तन गर्नुपर्ने बताए ।

‘सरकारले देखिनेगरी काम गर्न सकेको छैन । कमकमजोरी देखिएका छन्’, नेता पौडेलले भने, ‘यसका लागि मन्त्री फेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment