Comments Add Comment

‘भेटी’ बुझ्दै इन्जिनियर, ७ जना अख्तियारको फन्दामा

४ साउन, काठमाडौं । आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिन सहज गरिदिए बापत इन्जिनियरहरुले ‘भेटी’ बुझ्न थालेका छन् । त्यसक्रममा नयाँ आर्थिक वर्ष सुरु भएको साता नै ७ जना इन्जिनियर र अरु केही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फँदामा परेका छन् ।

उनीहरुले सरकारी योजनाका ठेकदार तथा उपभोक्ता समितिलाई गरेको लापरबाहीलाई ढाकछोप गर्दै आर्थिक वर्षको अन्त्यमा रकम निकासा गर्न सहयोग गरे वापत भेटी (घुस) रकम बुझेका हुन् ।

अख्तियारकाअनुसार कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई शनिबार १५ लाख घुससहित पक्राउ गरेको छ ।

उनीहरुले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत लिएको १५ लाख रुपैयाँ घुस लिएका थिए । सवारी चालक टंकप्रसाद ओझासहित चार जनालाई गेरूवा गाउँपालिका-१ बाट रंगेहात नियन्त्रणमा लिइएको हो ।

यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका दुई इन्जिनियर पनि घुस लिएको रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको टोलीले सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्ऽ साह र सवारी चालक सुमन खड्कालाई नियन्त्रणमा लिएको हो ।

विभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसँग घुस रकम लिएर बा १ झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाडौं आउँदै गरेको भन्ने सूचनाको आधारमा आयोगको भक्तपुरको जगातीमा गाडी रोकेर छापा मारेको थियो । सिनियर डिभिजन इन्जिनियर अधिकारीको साथबाट १३ लाख ८ हजार ५ सय र अर्का इन्जिनियर साहको साथबाट १ लाख २९ एक सय पाँच शंकास्पद नगद फेला परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

यसअघि शुक्रबार दिउँसो गोलबजार नगरपालिका, सिरहाका सब इन्जिनियर उमा श्रेष्ठ पनि घुस रकमसहित पक्राउ परेकी छन् । उनले शौचालय निर्माणको भुक्तानी सहज गराइदिए बापत ५० हजार पैयाँ घुस लिएकी थिइन् ।

उनलाई घुस लिएको रकमसहित गोलबजार- ७ पुरानो चोहर्वा बसपार्कको होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यसअघि बिहीबार मात्र रामनगर गाउँपालिका, सर्लाहीमा इन्जिनियर रामजी बाबु यादव ५० हजार घुस रकमसहित पक्राउ परेका थिए । उनले पनि गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सर्फमर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस लिएका थिए ।

यस्तै सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत एक लाख ७५ हजार घुस लिएका डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि अख्तियारको फन्दामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment