Comments Add Comment

बलिउड र वर्षाः बलिउडकर्मीको झरी अनुभव

‘टिप टिप वरसा पानी….।’ वर्षौंअघि बलिउडमा यो गीत लोकप्रिय थियो । ‘मोहरा’ फिल्मको उक्त गीतको रिमेक भर्सन तयार पारिएको छ, जसको केही अघि छायांकन सम्पन्न भएको छ ।

वास्तवमा वर्षा अथवा झरी अथवा पानीको थोपासँग सम्बन्धित भएर बलिउडका फिल्मका लागि जति पनि गीतहरु बनेका छन्, ती सबै गीतहरुले प्रकृतिको रोमान्सलाई व्यक्त गरेका छन् । ती गीतहरुलाई फिल्मका निर्देशकहरुले आफ्नो फिल्मका लागि छायांकन गराउन कहिले अल्छि मानेनन् । त्यसरी छायांकन गरिएका वर्षासँग सम्बन्धित अधिकांश गीतहरुले दर्शकको मन जितेको इतिहास छ ।

मनसुनमा आम मानिसको जनजीवनमात्र होइन, रुख-विरुवादेखि जनावरसम्म रोमान्चित हुन्छन् । फिल्मको पर्दामा कलाकारहरुले मनसुनलाई जति नै आकर्षक शैलीबाट प्रस्तुत गरेका हुन्छन्, के वास्तविक जीवनमा पनि उनीहरु मनसुन भनेपछि हुरुक्क हुन्छन् त ? केही बलिउडकर्मिले मनसुनलाई मन पर्ने बताएका छन् भने केहीले मन नपर्ने । केही बलिउडकर्मीको मनसुन रोजाइ उनीहरुकै शब्दमाः

कट्रिना कैफ, अभिनेत्री

मलाई मनसुन मनपर्छ । झमझम पानी परेको पनि मनपर्छ । पानी परेको बेला माटोबाट आउने वासना झनै मनपर्छ । म हरेक वर्षको मनसुन मुम्बईमै रहेर इन्जोय गर्न चाहान्छु । यदि मनसुनमा मुम्बईमा रहन पाइन भने ठूलो कुरा मिस भएको जस्तो लाग्छ । वर्षामा पर्ने पानीको थोपा मलाई असाध्यै पि्रय लाग्छ । पानीको त्यो थोपाले मलाई प्रेम तथा रोमान्सको अनुभव गराउँछ ।

 मल्लिका शेरावत, अभिनेत्री

म भारतमा भएको बेला मनसुनलाई निकै नै इन्जोय गर्छु । तर यो सिजनमा विदेशमा भएँ भने चिसोले सताउने गर्छ । विदेशमा पर्ने पानीसंग बढ्ने चिसो मलाई मन पर्दैन । समरमा यूरोप पुगेको बेला पानी पर्‍यो भने सूर्यको दर्शन पाउनै मुश्किल पर्छ ।

त्यस्तो बेला म आफैं डिप्रेस हुन्छु । भारतमा भने मनसुनले खुशीयालीसंगै नयाँ जीवन लिएर आएको महसुस हुन्छ । मनसुनको पानीमा माटोकै सुवास आउँछ, जुन मलाई अति मनपर्छ । मनसुनको थालनीसँगै गर्मी कम भएको अनुभव गर्न सकिन्छ । चारैतिर हरियाली देख्न पाउँदा असाध्यै खुशी लाग्छ । विशेषगरी मलाई मनसुनको बेला समुद्री तटमा हिँड्न खुबै मनपर्छ ।

 तुषार कपूर, अभिनेता

पहिला-पहिला मलाई मनसुन मन पर्दैन थियो । तर छोराको बुवा बनेपछि भने मलाई मनसुन मन पर्न थालेको छ । मनसुनको बेला छोरा लक्ष्यसँग पार्कमा घुम्न पाउँदा रमाइलो लाग्छ । पार्कमा उ र म झण्डै दुई-तीन घण्टा खेल्छौं । त्यसैले छोराको आगमनसंगै मलाई मनसुन मन पर्न थालेको छ ।

सिमोन सिंह, अभिनेत्री

मलाई मनसुन मनपर्छ । यो मौसममा माटोबाट आउने एक प्रकारको वासना मनपर्छ । मनसुनको बेला रुख-बिरुवाको पातबाट टप्प झर्ने पानीको थोपा देख्दा मन नै रोमान्चित हुन्छ । म बाल्यकालदेखि नै मनसुनको बेला रुखको पातबाट पानी झरेको देख्दा रमाउँथे, अहिले पनि त्यो बानी छुटेको छैन । मनसुनको बेला समुद्री तट निकै सुन्दर देखिन्छ । फुर्सद पाउने बित्तिकै म यो मौसममा समुद्री तट पुगेकै हुन्छु ।

 विद्या बालन, अभिनेत्री

मनसुनको बेला चल्ने चिसो हावा तथा हावासंगै पानी परेको दृष्य मलाई असाध्यै मन पर्छ । म बाल्यकालदेखि नै यो क्ष्ँण मन पराउँदै आएकी छु । मनसुनको समस्या भनेकै आउटडोर सुटिङ र घुम्नका लागि घरबाट बाहिर जान गाह्रो पर्नु हो । यसबाहेक मनसुनको खासै खराबी केही पनि छैन । यो मौसममा तातो चिया अनि पकौडा….आहा, पानी परेको बेला ती दुई चिज भएपछि मलाई अरु केही चाहिंदैन ।

सोनाक्षी सिन्हा, अभिनेत्री

मलाई मनसुन मन पर्दैन । खासगरी मुम्बईको मनसुन त मनै पर्दैन । यो मौसममा पुरै मुम्बई पानीमा डुब्छ । त्यसैले मलाई मनसुनको बेला काम गर्न समेत मन लाग्दैन । नढाँटी भन्नु पर्दा मलाई मनसुन त उदास लाग्छ । यो मौसममा मलाई जे काम गर्न पनि अल्छि लाग्छ । त्यसैले म मनसुनमा प्रायः घरमै बस्न मन पराउँछु ।

 आयुष्मान खुराना, अभिनेता

मलाई वर्षा र मनसुनको सिजन असाध्यै मनपर्छ । म यो मौसमलाई निकै इन्जोय गर्छु । खासगरी यो मौसममा परिवार तथा साथीहरुसंग बस्न मनपर्छ । पानी जीवन हो, वर्षा यसको एउटा माध्यम हो, त्यसैले यसलाई म कहिले पनि मिस गर्न चाहान्न । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment