Comments Add Comment

अर्थमन्त्रीसँगको छलफलपछि व्यवसायी आन्दोलन स्थगित गर्न सहमत

विवाद समाधान समितिको प्रतिवेदन कुर्ने सहमति

७ साउन, काठमाडौं । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) विरुद्धको आन्दोलन व्यवसायीले स्थगित गरेका छन् ।

सोमबार अर्थमन्त्री डा. युवराज खतिवडासँगको छलफलपछि साना व्यवसायीको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा पुगेको व्यवसायी र अर्थमन्त्रीबीच करिब एक घण्टा भएको छलफलमा विवाद समाधान समितिको प्रतिवेदन कुर्ने सहमति भएको हो ।

अर्थमन्त्रालयले निजी क्षेत्र समेतको सहभागिता रहने गरी ५ सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिमा महासंघको समेत प्रतिनिधि राख्ने सहमति भएको छलफलमा सहभागी महासंघका अध्यक्ष कटुवालले जानकारी दिए ।

‘हामीले हाम्रा मागहरु सुनायौं, अर्थमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ’ अध्यक्ष कटुवालले भने, ‘बिवाद समाधान समितिमा हाम्रो पनि प्रतिनिधित्व हुने भएपछि छलफल टुंगिएको छ ।’

महासंघले अघिल्लो शुक्रबार न्यरोडमा प्रदर्शन गरेको थियो । राजश्व अनुसन्धान विभागले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीमा आधारित ट्रयाकिङ सिस्टम कम्तीमा पनि एक वर्ष परीक्षणको रुपमा लागु हुनुपर्ने महासंघले माग गर्दै आएको छ ।

सरकारले साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भव्य कार्यक्रम गरेर भीसीटीएसको शुभारम्भ गरेको थियो । विभागले ३ महिनाका लागि उक्त सिस्टम परीक्षणको रुपमा लागू हुने बताएको छ । व्यवसायीहरुले भने ३ महिनाले नपुग्ने भन्दै एक वर्ष परीक्षणको रुपमा लागू गर्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment