+
+
Shares

आजका पत्रिका : नेकपा स्कुल विभागमा घनश्याम भुसालको पनि दाबी

मेलम्चीको ठेक्का विनाप्रतिस्पर्धा पूर्वमाओवादीलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते ६:३९

८ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्‍याएको क्षति प्राथमिकतामा परेको छ । तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ । गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन् ।

त्यसबाहेक नेकपाको स्कुल विभागमा जारी विवाद, पूर्वमाओवादीलाई विनाप्रतिस्पर्धा मेलम्चीको ठेक्का, १८ सय ठेकेदारमाथि छानबिन, वार्षिक आठ खर्बसम्म कर छलीलगायतका समाचार आजका पत्रिकामा छन् ।

नेकपा स्कुल विभागमा घनश्याम भुसालको दाबी

कान्तिपुर दैनिकले नेकपाको स्कुल विभाग प्रमुखमा घनश्याम भुसालले पनि दाबी गरेको समाचार लेखेको छ । ईश्वर पोखरेल वा नारायणकाजी श्रेष्ठमध्ये कसलाई स्कुल विभागको जिम्मेवारी दिने भनेर नेकपामा छलफल भइरहेका बेला अर्का नेता भुसालले पनि दाबी गरेका हुन् ।

बैचारिक अभियान चलाउँदै आएका भुसालले कान्तिपुरसँग भनेका छन्, ‘पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ ।’

एनसेलले कर विवादमा समाधान खोज्दै अन्तर्राष्ट्रिय निकाय गुहारे पनि मध्यस्थतामा सरकार सामेल नहुने र महाकवी लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित घरजग्गा (कविकुञ्ज)को मुआब्जा ५ करोड १२ लाख रुपैयाँ मूल्यांकन गरिएको समाचार पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । महाकविको परिवारका सदस्यसमेत समेटेर सरकारले बनाएको मुआब्जा निर्धारण समितिले १२ आना क्षेत्रफलमा फैलिएको कविकुञ्जको मूल्यांकन ५ करोड १२ लाख गरेको हो । यो ऐतिहासिक घरलाई सरकारले साहित्यिक संग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

मेलम्चीको ठेक्का पूर्वमाओवादीलाई

अन्नपूर्ण पोष्ट दैनिकले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न पूर्व माओवादी कार्यकर्तालाई ठेक्का दिएको समाचार छापेको छ । आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको हेडवर्क्समध्येको काम श्रेष्ठ कन्स्ट्रक्सनलाई दिएका थिए । श्रेष्ठ कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्ता चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारीलाई उपठेक्का लगाएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट लेख्छ, ‘मन्त्रिपरिषदले गत जेठ ६ गते कूल ४३ करोड रुपैयाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिए पनि हुने गरी निर्णय गरेको थियो । सोही निर्णयको आडमा अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको हो । डेढ अर्ब रुपैयाँमा पूरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषदले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो ।’

१८ सय ठेकेदारमाथि छानबिन थालियो

नागरिक दैनिकले अठार सय ठेकेदारमाथि सरकारले छानबिन थालेको मुख्य समाचार छापेको छ । पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी/ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो । नागरिकले लेखेको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो ।’

कोरियाले साढे ६ हजार मात्रै नेपाली कामदार लैजाने

कारोबार दैनिकले कोरियाले नेपालबाट साढे ६ हजारमात्रै कामदार लैजाने समाचार लेखेको छ । यसबाट भाषा परीक्षा पास गरेकाहरु पनि सीप परीक्षणको मारमा पर्ने समाचारमा लेखिएको छ । १२ हजार ९ सय नेपालीले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।

राजधानी दैनिकले मुलुकमा बर्सेनि कम्तीमा ७ देखि ८ खर्ब रुपैयाँ बराबरको कर छली हुने गरेको लेखेको छ । यदि कर छली रोकिए जनताको थाप्लोमा ऋण नै नपर्ने समाचारमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?