Comments Add Comment

गण्डकी प्रदेशमा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई पनि गाडी सुविधा

Photo Credit : गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

८ साउन, पोखरा । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन प्रदेश सरकारले बाटो खोलिदिएको हो ।

असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने गरी सुविधा पाउने निर्णय गरेकै दिन उपमेयर र उपाध्यक्षले पनि गाडी सुविधा पाउने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । अब सबै स्थानीय तहका उपप्रमुखले कानुन बमोजिम नै गाडी सुविधा लिन पाउने भएका छन् । केही स्थानीय तहले यसअघि पनि गाडी सुविधा प्रयोग गर्दै आएका थिए ।

‘प्रमुख तथा अध्यक्षलाई गाडी, इन्धन वा यातायात खर्च उपलब्ध गराउने भन्ने ऐनमा उल्लेख बुँदालाई प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष भन्ने शब्द राखिएको छ,’ कानुन मन्त्रालयका एक कर्मचारीले भने । यससम्बन्धी संशोधन विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

त्यस्तै प्रदेश सरकारबाट कार्यपालिका सदस्यले पाउने भत्ता तथा यातायात सुविधा पाउनेसम्बन्धी व्यवस्था ऐनको अनूसूची संशोधन गरेपछि राजपत्रमा प्रकाशित गर्न ठिक्क पारेर राखिएको छ ।

९ हजार रुपैयाँ पारिश्रमिक पाउने गाउँ कार्यपालिका सदस्यले अब वडाध्यक्षकै बराबरी १८ हजार रुपैयाँ सुविधा पाउने छन् । अन्य वडा सदस्यले कार्यपालिका सदस्यले पहिले पाउँदै आएको ९ हजार रुपैयाँ बराबर पुग्ने भएको छ । उनीहरुले ६ हजार रुपैयाँ खाइपाई आएका थिए ।

१० हजार रुपैयाँ पाउने नगरपालिकाको कार्यपालिका सदस्यले अब वडाध्यक्षले जति नै २० हजार रुपैयाँ पाउने भएका छन् । गाउँपालिका सभा सदस्यको जस्तै नगरसभा सदस्यको पनि सुविधा बढेको छ । ७ हजार रुपैयाँ पाउने वडा सदस्यले अब भने १० हजार रुपैयाँ पाउने छन् ।

महानगरको कार्यपालिका सदस्यको सुविधा वृद्धि भएर वडाध्यक्षकै बराबर २५ हजार रुपैयाँ पुगेको छ । कार्यपालिका सदस्य नरहेका नगरसभा सदस्यले अब ८ हजार ३ सय ५० बाट १२ हजार ५ सय रुपैयाँ पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment