Comments Add Comment

निर्मलालाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल : कांग्रेस

९ साउन, काठमाडौं । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको आरोप लगाएको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताएका छन् ।

निर्मला पन्त प्रकरणबारे मंगलबार आयोजित पत्रकर सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिलाई पनि कांग्रेसले गैर जिम्मेवार भनेको छ । ‘निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पूरा हुन्न’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

कन्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । कांग्रेसले एक वर्षका बीचमा सरकारले दोषी जोगाउने प्रपन्च, निर्दोषलाई दोषी ठहर्‍याउने प्रयत्न गरेको पनि आरोप लगाएको छ ।

यसबीचमा सरकार एक्सनमा भन्दा भाषणमा बढी भेटिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले समेत गैर जिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले भनेका छन् ‘नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ? ‘ सरकारले प्रहरीलाई पनि बदनाम गर्ने षड्यन्त्र गरेको कांग्रेसको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment