Comments Add Comment

जोडीलाई खेलाउनै पर्ने शर्तले दिक्क फिल्म मेकर

केही दिन अगाडि एक जना निर्देशकले अनलाइनखबरसँग भन्दै थिए–‘अहिले त चलचित्र बनाउन नै गाह्रो रहेछ । अधिकांश कलाकारका जोडी छन् । एउटालाई लिदा अर्कोलाई पनि लिनै पर्ने शर्त लागू हुने रहेछ । यसैले, बरु नयाँ कलाकार लिएरै चलचित्र बनाउँछु ।’

यस्तै, अर्का एक जना निर्माताको गुनासो पनि उस्तै थियो । नायक सौगात मल्ललाई चलचित्रका लागि अफर गर्न पुगेका ती निर्माताले नायिका श्रृष्टी श्रेष्ठलाई पनि खेलाउनुपर्ने माग सुनेपछि आफ्नो सोच नै मोडेका थिए । सौगातले आफूले खेलेका चलचित्रमा श्रृष्टीलाई पनि खेलाउनै पर्छ भनेर माग राख्न थालेको उनीहरु प्रेममा परेपछि हो ।

नेपाली चलचित्रमा यस्ता खालका कुरा अहिले धेरै सुनिन थालेको छ । चलचित्रको पर्दामा काम गर्नु र पर्दा बाहिर प्रेम गर्नु फरक कुरा हो भन्ने कलाकारले वुझ्न छाडेका छन् । यहीकारणले नै हो, अहिले चलचित्रको पर्दामा आफ्नो जोडीलाई खेलाउनै पर्ने अड्डी कलाकारले लिन थालेका छन् ।

केही समय अगाडि सम्म बजारमा चर्चा हुन्थ्यो कि, केही जोडीहरुले एकमुष्ठ पारिश्रमिकको डिमाण्ड गर्छन् । नायक दयाहाङ राई र नायिका प्रियंका कार्की नजिक हुँदा यो हल्ला खुब चलेको थियो । भलै, दुबैले यो कुरा स्विकार गरेनन् ।
पछिल्लो समयमा नायिका प्रियंका कार्की भएको चलचित्रदेखि म्यूजिक भिडियोमा नायक आयुष्मान देशराज जोशी छुटेनन् ।

अहिले यो माग सबैभन्दा बढी सौगात मल्ल र श्रृष्टी श्रेष्ठमा सुनिन्छ । यसैले, सौगातले काम गर्ने पक्का भएको चलचित्रमा श्रृष्टीको प्रवेश भएको छ । कलाकारले आफ्नो जोडीलाई पनि खेलाउनुपर्ने माग अगाडि सार्न थालेपछि चलचित्र बनाउनेहरु दिक्क मान्न थालेका छन् । यसले, चलचित्र क्षेत्रलाई व्यवसायिक नबनाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment