Comments Add Comment

‘बीमा अनिवार्य होइन, आवश्यकता हो’

१२ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका- ६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुवा रामकिशोर यादवले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । हत्याको कारण थियो- बीमा रकम ।

रामकिशोरले एकमहिना अघि छोरीको जीवन बीमा गरेका थिए । छोरीको मृत्यु भए २५ लाख रुपैयाँ पाउने बुझेपछि उनैले असार १६ गते राति हत्या गरे । ७० वर्ष लामो नेपालको बीमा इतिहासमा भएको यो नै पहिलो दुःखद र अपत्यारिलो घटना भयो ।

त्यसको १५ दिनभित्रै पोखरामा रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मीको हत्या गरेको घटना बाहिरियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार लक्ष्मीको हत्याको एउटा कारण बीमा रकम पनि थियो ।

नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा यस्ता दुःखद घटनाहरुबारे विमा कम्पनी र अभिकर्ताहरुले बेलैमा ध्यान दिनुपर्ने बताउछन् । प्रस्तुत छ, सीईओ झासँग अनलाइनखबरले बीमा क्षेत्रका विविध विषयमा गरेको कुराकानीको सम्पादित अंश:

आर्थिक सुरक्षाको लागि गरिने बीमाले अपराध पनि बढाउन खोजेको रौतहट र पोखराको घट्नाले देखायो होइन ? 

यी दुई घटनाले निकै दुखित बनायो । हामी बीमा व्यवसायीहरुले भविश्यमा यस्ता घटना हुन सक्लान कि भन्नेमा सचेत हुनपर्छ । यसमा हामी हाम्रो तर्फबाट के गर्न सक्छौं भन्ने सोच्नुु पर्छ । अहिले नेपालमा कोहि पनि व्यक्ति बीमा कम्पनीमा आफैं आएर बीमा गरेका छैनन् ।

कोही व्यक्ति बीमा गर्न अभिकर्ता वा सिधै बीमा कम्पनीमा आए भने उनी किन बीमा गर्न चाहन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बीमा गर्न आउने व्यक्तिको आम्दानीको श्रोत, बीमा गर्न चाहनुको कारण, आनिबानीदेखि स्वास्थ्य अवस्थासम्मको मिहिन जानकारी लिनु पर्छ ।

पहिले त यस्तो विषयमा अभिकर्ताले ध्यान दिनुपर्छ । गलत सोचका साथ बीमा गर्न खोजेको व्यक्तिले धेरै कुराहरु लुकाउँछ । हामीले सकेसम्म सत्य खोतल्ने प्रयास गर्नुपर्छ ।

पोखरा र रौतहटमा भएका घटानाले एकदमै स्तब्ध बनाएको छ, यो नेपालमा नयाँ हो । छिमेकी भारतमा यस्ता घटना नयाँ होइन तर, हाम्रो नेपालमा कल्पना भन्दा बाहिरको कुरा थियो । आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि गम्भीर हुनुपर्छ ।

जति बढी विमा पोलिसी बिक्री गर्यो त्यति बढी कमिशन आउने भएका कारण अभिकर्ताले धेरैको बीमा गराउन खोज्छन् । यो अवस्थामा यस्ता घटना कसरी रोक्न सकिन्छ ? 

पैसा नउठेर सिमेन्ट उद्योग बन्द भएको समाचार मैले पढेको थिएँ । बढी बेच्न खोज्दा नै यस्तो भएको हो । भविष्य नहेरी बिक्री बढाउन खोजियो भने त्यसको असर त पर्छ नै । हामीले बीमा त गर्ने हो तर, बीमा गर्न योग्य छ छैन भन्ने पनि हेर्नुपर्यो ।

सबै बीमा कम्पनीले ‘टार्गेट बेस’ काम गरिरहेका छौं । त्यो टार्गेट गएर अभिकर्तामा ठोकिन्छ । टार्गेट पुरा गर्न अभिकर्ताहरुलाई हामी आकर्षक सेवा सुविधा दिन्छौं तर, उहाँहरुले धेरै बीमा गर्ने नाममा ‘क्लाईन्ट’बारे राम्ररी नबुझी गर्नु हुँदैन ।

भनेपछि अभिकर्तामार्फत यस्ता घटना रोक्न सकिन्छ ?

बीमा अभिकर्तामार्फत नै हुने भएका कारण उहाँहरुले आफू नै पहिलो ‘अन्डरराइटर’ हो भन्ने बुझ्नुपर्छ । उहाँहरु आफूले गर्न खोजेको बीमाबारे गहिरोसँग बुझ्न पर्‍यो । यो-यो अवस्थामा बीमा कभरेज हुन्छ वा हुँदैन भनेर बझ्न र बुझाउन सक्नुपर्छ ।

अर्को कुरा आपराधिक घट्नामा संलग्नहरुलाई कडा कानुनी सजाय हुनुपर्छ, जसबाट यसो गर्नै हुँदैन भन्ने सन्देश प्रवाह होस् ।

बीमा दाबी भुक्तानी एकदमै ढिलो हुने गरेको बिमितहरुको गुनासो छ । ढिलाईको कारण के हो ?

कानूनमा १५ दिनभित्र बीमा दाबी भुक्तानी गर्नुपर्छ भनेर लेखिएको छ । मृत्यु दाबी भुक्तानी र बीमा परिपक्व -म्याचुरिटी क्लेम) गरी दुई किसिमका दाबी भुक्तानी हुन्छ । पहिलोमा कागजात नपुग्ने समस्या धेरै हुन्छ । नपुगेका कागजात पुर्याउन हामी आफैं पनि सहजिकरण गर्छौं ।

यो सन्दर्भमा मलाई एउटा घटना याद आयो । एक जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएछ । उहाँको परिवार सम्पर्कमा आउनुभयो तर, कागजात ल्याउनु भएन । विकट क्षेत्रबाट आउनु भएको छ, कागजात पुर्याउने सम्भावना कमै देखिएपछि हामीले नै सहजीकरण कागज पूरा गर्यौं ।

म्याचुरिटी क्लेममा चाहीँ कुनै समस्या छैन । हामीले २४ घण्टामै भुक्तानी दिएको रेकर्ड पनि छ । त्यसो त, मृत्यु दावी भुक्तानी पनि २४ घन्टामै गरेको रेकर्ड पनि छ । सिन्धुलीमा भएको एउटा दुर्घटनामा परिवारका एक जनाबाहेक सबैको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये एक जनाले हाम्रोमा बीमा गर्नु भएको रहेछ । पुरा कागजात आएकाले हामीले २४ घण्टामा सिन्धुली नै पुगेर भुक्तानी गर्यौ ।

भर्खरै आर्थिक वर्ष सकिएको छ । धेरै सूचकका आधारमा पहिलो नेपाल लाइफको ‘फोर्थ क्वाटर’को रिपोर्ट कस्तो आउला ?

हामी शुरुवाती दिनदेखि नै अग्रपंक्तिमा छौं । बजार हेर्दै, वातावरणको विश्लेषण गर्दै अगाडि जाने क्रममा आर्थिक वर्ष २०७५/०७६ को फोर्थ क्वाटर रिपोर्ट उत्साहप्रद छ । हामीले यसपाली पनि नौ अर्ब माथिको बीमा शुल्क आर्जन गरेका छौं ।

हाम्रो बीमा शुल्क २३ अर्ब पुगेको छ । यो नतिजाबाट हाम्रो टिम खुसी छौं । मुलुकमा बीमाको पहुँच कम भएको बेला हामीले राम्रो प्रगति गरेका छौं ।

अघिल्लो वर्षको तुलनामा बीमा पहुँच ८ प्रतिशत बढेको छ । नेपाल लाइफको तुलनात्मक प्रगति कस्तो छ ?

पछिल्लो समय बीमाको पहुँच राम्रै बढेको छ । समग्र बीमा बजार नै राम्रो सुधार भइरहेका बेला नेपाल लाइफले पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको तुलनामा हामीले करिब ६४ प्रतिशत विजनेश बढाएका छौं ।

पछिल्लो समय नयाँ बीमा कम्पनीहरु पनि आए पनि हामीले नयाँ विजनेशमा प्रगति गर्‍यौं । मार्केट सेयर हाम्रा लागि एउटा चुनौति थियो, जसमा हामी खरो उत्रिएका छौं ।

यस्तो सफलता कसरी हासिल हुन्छ ?

बीमा भनेको एकदमै विश्वासको कुरा हो । बिमित र अभिकर्ताहरुले हामीलाई विश्वास गर्नु भएको छ । बीमा बिजिनेसमा अभिकर्ताहरुको काम धेरै गाह्रो हुन्छ । अभिकर्ताले कमिशनका लागि मात्र काम गर्ने होइन, विमित र संस्थाको हित पनि हेर्नुपर्छ ।

हामी टिम वर्कबाट पनि सफल भएका हौं । यो सफलतामा लगानीकर्ताको पनि ठूलो योगदान छ । बीमा समितिले हामीलाई चुक्ता पुँजी बढाउन भन्दा लगानीकर्ताहरु साढे पाँच अर्ब हाल्न तयार रहनु भयो ।

बीमा क्षेत्रमा पनि मर्जरको चर्चा शुरु भएको छ, केहि सोच्नु भएको छ ?

मर्जरको विषय ‘सिजनल’ हो जस्तो मलाई लाग्दैन । कुनैबेला निकै चर्चामा हुने र कुनै बेला चुपचाप बस्नु पर्ने प्रक्रिया मर्जरको होइन । यो २ किसिमले हुन्छ । एउटा आवश्यकताका आधारमा हुन्छ, एउटा एक्लै हिड्न सकिएन भने साथी खोज्नु पर्छ ।

अर्को सिनर्जी आउने किसिमको भयो भने मर्जरमा जानुपर्ने हुन्छ । जस्तो १ र १ जोडेर ११ बनाउन सकिन्छ भने मर्जरमा जानु राम्रो हुन्छ । अहिले हामी जे छौं त्यो भन्दा राम्रो कसरी हुन सकिन्छ भन्ने हुन्छ । त्यसका लागि हामी पनि खुला छौं तर, अहिले नै केहि सोचेका छैंनौ ।

नयाँ बीमा कम्पनीहरुका कारण केहि चुनौती थपिएको हो ?

म चुनौतीलाई अवसरको रुपमा लिन्छु । सफल हुनका लागि चुनौतीलाई अवसर बनाउनपर्छ । बजारमा नयाँ प्रतिष्पर्धी थपिएपछि नयाँ योजना अनुसार काम गर्नुपर्छ, जुन हामीले गरेका छौं ।

प्रगतिको चाहना सबैमा हुन्छ । कोहि व्यक्ति वा संस्था परिपूर्ण हुँदैन । हामीले राम्रोका लागि काम गर्ने हो । यो कुरा मनन् गर्दै आफ्नो कामलाई स्थिर तरिकाले अगाडि बढाउन सक्नुपर्छ ।

अब बजारले राम्रो ‘ग्रो’ गर्छ भन्ने भएपछि नयाँ बीमा कम्पनीहरु थपिए । योसँगै मार्केट सेयर इन्ट्याक्ट राख्ने चुनौती भयो । त्यसका लागि ब्यापार बढाउनु पर्ने भयो, जुन हामीले गर्यौं । म यसको श्रेय गर्वकासाथ हाम्रा अभिकर्तालाई दिन्छु । अभिकर्ता साथीहरु राम्रोसँग परिचालित हुनु भएकैले हाम्रा विजनश राम्रो भयो ।

नयाँ कम्पनीहरु थपिएपछि विमाको दायरा पनि बढेको छ । पछिल्लो समय बीमामा नागरिक चासो कस्तो छ ?

नागरिकमा बीमाबारे निकै चासो बढेको पाएको छु । बीमा कम्पनीहरु थपिएसँगै बीमासम्बन्धी कार्यक्रमहरु पनि धेरै भए । बीमा अभिकर्ताहरुको संख्या बढ्यो । हिजो हाम्रोमा १८ हजार सक्रिय अभिकर्ता थिए, आज २४ हजार छन् ।

बीमा अभियन्ता अर्थात् विमाबारे बोल्दै हिँड्नेहरु पनि बढेका छन् । अर्को कुरा, हिजो सञ्चारमाध्यमहरुमा बीमाका विषयमा कम कभरेज हुन्थे । अहिले धेरै स्पेश पाएको छ । आठवर्ष अघि म यो क्षेत्रमा आउँदा बीमाबारेको समाचार पढ्न हप्ता कुर्नुपथ्र्यो, आज दैनिक आउँछ ।

नियमनकारी निकाय बीमा समितिले पनि बीमा जागरणको कार्यक्रम चलायो । गाउँगाउँमा पुगेर त्यहाँको स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमहरु गर्यो । यसले पनि आम नेपालीमा बिमाबारे धेरै सचेतना आएको छ ।

अहिले बीमा क्षेत्रका मुख्य समस्या चाहिँ के-के हुन् ?

सबै आर्थिक क्षेत्रको पहिलो समस्या भनेको विजनेश नै हो भनिन्छ तर, नेपालमा हरेक वर्ष बीमा गर्नेको संख्या बढिरहेको छ । बीमा गर्नेको औसत उमेर ३० वर्ष भन्दा माथि देखिन्छ ।

हिजो बीमा क्षेत्रमा जनशक्तिको कमी थियो भनिन्छ तर, हामीले जनशक्ति धेरै चाहिने गरी काम नै गरेका थिएनौं । दुई-तिन वर्ष हामीले बीमाको पहुँच ६ प्रतिशत मात्रै भन्यौं, सधै यहिँ हुन्छ भन्ने सोच्यौं । तर ‘ग्रोथ’मा फड्को आयो । नौवटा कम्पनी भएको बजारमा १० वटा नयाँ थपिँदा जनशक्तिमा केही कमी देखिएको हो । जागिरका लागि धेरैको रोजाई अहिले पनि बैंकिङ क्षेत्र नै हो । पछिल्लो समय

बीमा क्षेत्रमा जागिरको आकर्षण बढेको छ । यो क्षेत्र क्रमिक रुपमा युवा आकर्षण बढ्दैछ ।

बीमा क्षेत्रबाट मुलुकलाई राम्रो फाइदा पुगेको छ । हामीलाई पूर्वाधार विकासको आवश्यकता छ । यसका लागि दिर्घकालीन लगानी आवश्यक छ । यस्तो लगानी जीवन बीमा क्षेत्रबाट जुट्नसक्छ । जीवन बीमा कम्पनीहरुमा वार्षिक रुपमा पैसा जम्मा भएर एउटा निश्चित समयका लागि बसेको रकम लगानी गर्न सकिन्छ ।

म अनिवार्य बीमाको पक्षमा छैन । अहिले बैंकबाट बीमा गरेको विषयले नकारात्मक असर गरेको छ । यसको कारण नै अनिवार्य हो । बीमाका लागि ‘मोटिभेट’ गर्ने हो । ‘क्लाईन्ट’बाट लिएको रकम हाम्रो कमाई नभएर दायित्व हो । यो रकमलाई ‘गभर्मेन्ट ब्याकअप प्रोजेक्ट’मा लगानी गर्न सकिन्छ ।

बीमा आजको आवश्यकता हो । कसैको व्यवसाय बढाउन नभई आफ्नो आवश्यकता पुरा गर्न बीमा गर्नुपर्छ भन्ने भावना जगाउनु पर्छ । बीमा अनिवार्य भने हुनुहुँदैन ।

भनेपछि, बीमाका माध्यमबाट तरलता समस्या पनि समाधान हुन्छ त ?

अहिले बैंकमा २५-२६ खर्ब रुपैयाँ निक्षेप छ । त्यसमा बीमा क्षेत्रको हिस्सा दुई खर्बभन्दा छ । नेपाल लाइफको मात्र ७० अर्बभन्दा बढी पुगेको छ । कुन क्षेत्रले निक्षेप ल्याएको छ भन्ने हेर्नु पर्‍यो ।

बैंकिङ क्षेत्रबाट गएको पैसा बीमा हुँदै फेरि बैंकिङ क्षेत्रमा फर्किएको भन्ने छ । हामीले गाउँगाउँ गएर बैंकिङ च्यानल बाहिर रहेको पैसा उठाएर ल्याएका छौं । निक्षेपमा योगदान गरेको क्षेत्रलाई थप प्रोत्साहित गर्नेबारे सरकारले सोच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment