Comments Add Comment

एक वर्षमा ८ सय नेपाली काठको बाकसमा फर्किए

१३ साउन, काठमाडौं । गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ ।

कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।

झापा सुरुंगाका झलक श्रेष्ठले दशैंमा घर आउँछु भनेका थिए बाबु जीतबहादुरलाई । नभन्दै उनी दशैंमा नै फर्किए, तर काठको बाकसमा ।

****

एकातिर सरकारले विभिन्न देशमा लाखौं रोजगारी सिर्जना गर्ने बताइरहेको छ, अर्कोतिर रोजगारीकै लागि विदेशिएका युवाहरु यसरी मृत्युवरण गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा दैनिक ३ नेपालीहरु बन्द बाकसमा आउँछन् भन्ने तथ्यांक पनि पुरानो भइसक्यो ।

विदेशमा मृत्युवरण गर्नेका परिवारलाई केही रकम क्षतिपूर्ति दिएर सरकारले आफ्नो ‘कर्तव्य’ पूरा गरेको ठानिरहेको छ । तर, क्षतिपूर्तिको सानो रकमले त्यो परिवारमाथि लागेको घाउमा के मल्हमपट्टि लगाउन सक्थ्यो ?

गत एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली काठको बाकसमा फर्किए । वैदेशिक रोजगारीमा जानेको मृत्यु हुँदा क्षतिपूर्ति दिलाउने वैदेशिक रोजगार बोर्डको सचिवालयले मात्रै एक वर्षका बीचमा ७५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको छ । अवैधानिक रुपमा गएर मृत्यु हुने कामदारको संख्या यसमा जोडिएको छैन ।

यो पनि पढ्नुहोस ‘हरि घर त आए तर, रातो कफिनमा’

बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ७३० जना पुरुष र २३ जना महिला कामदारले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाए । यो संख्या आर्थिक वर्ष २०७४/७५ को भन्दा अलिकति थोरै हो । सो वर्ष ८२१ जनाको मृत्यु भएकोमा ८ सय पुरुष र २१ जना महिला थिए । गत वर्ष विदेशमा मृत्यु हुने पुरुष कामदारको संख्या घटे पनि महिला कामदारको संख्या थोरै बढेको देखिन्छ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष कामदारको धेरै मृत्यु हुने देशमा मलेसिया अगाडि देखियो । गत वर्ष मलेसियामा २२९ जना नेपाली कामदारले ज्यान गुमाएका थिए, त्सभन्दा अघिल्लो वर्ष यो संख्या २८९ थियो । मृतक कामदारको संख्या घटे पनि मलेसिया अझै नेपाली कामदारको लागि असुरक्षित गन्तब्यको सूचीमा पहिलो नम्बरमा नै छ ।

यो वर्ष मलेसिया जाने कामदारको संख्या निकै न्युन भएकाले संख्या घटेको हो । यसै पनि यो वर्ष वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्याममा ३३ प्रतिशतले गिरावट आएको छ ।
साउदी अरेबियाबाट एक वर्षका बीचमा १९४ नेपाली कामदारको शब भित्रियो । अघिल्लो वर्ष यो संख्या २०३ थियो ।

कतारमा भने मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको छ । अघिल्लो वर्ष १२३ जना नेपालीले कतारमा मृत्युवरण गरेकोमा गत वर्ष त्यो संख्या बढेर १३५ पुगेको छ । विश्वकप फुटबलको तयारीमा रहेको कतारमा नेपाली कामदारको सुरक्षामा पटक-पटक प्रश्न उठे पनि अझै पनि मृत्युदरमा कमी आउन सकेको छैन ।

यो पनि पढ्नुहोस छोरा ! उठ न

यसैगरी यूएईमा ८५ जनाले ज्यान गुमाए । यो संख्या अघिल्लो वर्षभन्दा कम हो । आव २०७४/७५मा यूएईमा ९४ जना नेपालीको निधन भएको थियो । कुवेतमा २९ जनाले ज्यान गुमाउँदा कोरियाबाट पनि २० जना कामदारको शब कफिनमा फर्कियो । कोरियामा मृत्यु हुने अधिकांश नेपालीले आत्महत्या गरेको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।

कोरियामा नेपाली कामदारको आत्महत्या दर अन्य देशको भन्दा उच्च छ । कामको दबाव, भाषाको समस्या र पारिवारिक उल्झन तथा डिप्रेसन लगायतका कारणले कोरियामा नेपाली कामदारले आत्महत्या गर्ने क्रम घट्न सकेको छैन ।

गत वर्ष नै बहराइनमा ११ नेपालीले ज्यान गुमाउनुपर्‍यो भने घरेलु महिला कामदारको मुख्य गन्तब्य मानिने ओमानमा ६ जनाको मृत्यु भएको थियो । जापानमा रोजगारीका लागि गएका ३ जनाले पनि ज्यान गुमाए । अन्य देशमा ४१ जना कामदारको मृत्यु भयो । यसमध्ये केही अशक्त भएर नेपाल फर्किएपछि स्वदेशमा उपचारकौ क्रममा ज्यान गुमाउनेहरु पनि छन् ।

तथ्यांकलाई केलाउँदा दैनिक औसत २ जनाभन्दा बढि नेपाली कामदारको शब नेपाल भित्रिरहेको छ । यसमा विद्यार्थी भिसामा गएकाहरुको तथ्यांक जोडिएको छैन ।

विदेशमा ज्यान गुमाएर फर्किने नेपालीहरुमा बहुसंख्यक तराई तथा पूर्वी, मध्य र पश्चिम पहाडी जिल्लाका युवा छन् । विदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, सिराहा रुपन्देही, नवलपरासी, खोटाङ, गुल्मी, नवलपरासी, रोल्पा लगायतका जिल्लाका कामदारहरुले बढी ज्यान गुमाएको देखिन्छ ।

किन हुन्छ मृत्यु ?

बिदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । तथ्यांक अनुसार वर्षौंदेखि नै यो समस्याले नेपालीहरुमा उच्च छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेको कार्डियोलोजिष्ट डाक्टर मिलन प्रकाश श्रेष्ठ बताउँछन् ।

त्यसैगरी मादक पदार्थका रुपमा विभिन्न केमिकलहरु मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गरेको डाक्टर श्रेष्ठको भनाइ छ । हृदयाघातका कारण पनि धेरैले मृत्युवरण गर्नुपर्छ ।

यो पनि पढ्नुहोस घाट, काठ र खाटको कनेक्सनः कफिनमाथि सुत्छन् शहरका करोडपति

असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनावका कारण नेपालीहरु विदेशमा Åदयघातको शिकार भएको बोर्डका अधिकारीहरु बताउँछन् ।

यस्तै ट्राफिक नियमबारे जान्न र त्यसको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीहरुले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नुपरेको छ । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरु पर्ने गरेको बोर्डले जनाएको छ ।

कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने नेपालीको संख्या पनि ठूलो छ ।

रोजगारीमा गएका नेपालीहरु अपराधको शिकार पनि बन्ने गरेका छन् । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसइवीमा पनि हत्याका घटना हुने गरेका छन् । नेपाली-नेपाली तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।

त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोप लगायतका कारण पनि कामदारको ज्यान जाने गरेको छ । कतिपयको मृत्यु भने कालगतिले पनि हुन्छ । आत्महत्या गरेर विदेशमा मृत्यु रोज्ने नेपालीको संख्या पनि थोरै छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment