News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभाग घेराउ गरेका केयरगिभरहरूले प्रतीक्षा सूचीमा रहेका आफूहरूलाई पहिलो प्राथमिकतामा इजरायल पठाउनुपर्ने माग राखेका छन्।
- इजरायलको पिवाले २ हजार ३ सय नयाँ कोटा पठाएको र विभागले नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ।
- लक्की ड्रमा नपरेका उम्मेदवारहरूले नयाँ विज्ञापन खोल्न नहुने भन्दै धर्ना दिएका छन् र मन्त्रालयले उनीहरूलाई लैजाने आश्वासन दिएको छ।
१ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल जाने प्रतीक्षा सूची (वेटिङ लिस्ट) मा रहेकाले वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् ।
छनोट प्रक्रियामा छनोट भएर प्रतीक्षा सूचीमा रहेकाले विभाग घेराउ गरेका हुन् । सूचीमा रहेकाले आफूहरू जान नपाएको र विभागले अर्को सूचना गरेर नयाँ विज्ञापन गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
नेपालबाट थप २ हजार ३ सय नेपाली श्रमिक (केयरगिभर) लैजाने तयारी भइरहेको छ । आफूहरू लामो समयदेखि प्रतीक्षामा रहेको तर सरकारले अर्को विज्ञापन खोलेर नयाँलाई लैजाने तयारी गरेको भन्दै उनीहरू विभाग पुगेका हुन् ।
यसअघिको प्रक्रियामा छनोट भएर पनि १ हजार १ सय ५४ उम्मेदवार प्रतीक्षा सूचीमा थिए । उनीहरूले विगतमा सबै प्रक्रिया पूरा गरी ‘वेटिङ लिस्ट’ मा रहेकालाई नयाँ आवेदन खुलाउनुअघि आफूहरूलाई पहिलो प्राथमिकतामा राखेर इजरायल पठाउनुपर्ने माग राखेका छन् ।

यसअघि समेत ४ सय १५ जना स्वीकृत व्यक्तिलाई विशेष प्राथमिकता दिएर इजरायल पठाइएको भन्दै आफूहरूलाई समेत सोही प्रक्रिया अपनाएर लैजानुपर्ने उनीहरूको माग छ ।
लामो समयदेखि इजरायल जाने आशमा रहेका र योग्यता पुगेर पनि ‘लक्की ड्र’ मा नपर्दा आफूहरू अन्यायमा परेको उनीहरूको भनाइ छ ।
इजरायलको जनसंख्या तथा अध्यागमन विभाग (पिवा) ले २ हजार ३ सय नयाँ कोटा पठाएको छ । वैदेशिक रोजगार विभागले यसका लागि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ । उनीहरूले विगतको जस्तै प्रक्रिया मार्फत आफूहरूलाई समेत पठाउनुपर्ने माग अघि सारेका छन् ।
११ असार २०८१ मा दोस्रो चरणमा २ हजार १ सय १२ जना लक्की ड्रमार्फत छनोटमा परेका थिए । तीमध्ये हालसम्म १ हजार ९ भन्दा बढी केयरगिभर इजरायल पुगिसकेका छन् ।
लक्की ड्रमा नपरेर प्रतीक्षामा रहेका उनीहरूले आफूहरू नपठाइ नयाँ विज्ञापन खोल्न नहुने माग राख्दै धर्ना दिएका हुन् ।
विभागले भने पिवाबाट नयाँ मागपत्र आएको र सोही अनुसार नै सूचना जारी गर्न लागेको जनाएको छ । पिवाले उनीहरूलाई समेत इजरायल लैजाने आश्वासन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिएको छ ।
प्रतिक्रिया 4