१४ साउन, वीरगञ्ज । भारतीय गाडीमा कडाइ गर्दै आएको पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ओसारप्रसारमा संलग्न ४ जना भारतीय नागरिकसहित गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारत बिहार मोतिहारी जिल्ला बिशुनपुर वडानम्बर ३ का ३१ वर्षीय नुर महमद हुसेन, भारत बिहार मोतिहारी जिल्ला फुलबरिया वडानम्ब ११ का ३२ वर्षीय असलम आलम साइन, भारत बिहार मोतिहारी जिल्ला फुलवरिया वडानम्बर ११ का २८ वर्षीय इर्साद साइन र मोतिहारी जिल्ला सितलपटीका ३० वर्षीय सुनिल साहलाई पक्राउ गरेको हो ।
मंगलबार बिहान नेपालबाट भारततर्फ जाँदै गरेको बीआर२८जी २७७० नम्बरको बलेरो गाडी रोकी चेकजाँच गर्दा गाडीको तल फल्स बटम बनाई लुकाइछिपाइ राखी राखेको ८९ किलो लागूऔषध गाजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पर्सा वीरगंज महानगरपालिका-२५ ड्राइपोर्ट बहुअरीस्थित सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
‘गाडीमा गाजा भेटिएको छ, भारततिर लैजान लागेका थिए, गाडीमा उनीहरु नै थिए,’ उनले भने , ‘कारोबारी हुन वा भरिया ? कुन ठाउँबाट कसरी आयो ? यस विषयमा अनुसन्धान भइरहेको छ ।’
प्रहरीले लागूऔषध मुद्धामा अनुसन्धानका लागि ९० दिनको समय लिन सक्ने कानुनी प्रावधान छ । गाजासहितको गाडीसमेत उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
इजाजत नलिइ सञ्चालनमा आउने भारतीय गाडी गैरकानुनी क्रियाकलापमा संलग्न भएको भन्दै पर्सा प्रहरीले कडाइ गर्दै आएको छ । सोही क्रममा इजाजत नलिइ सञ्चालन भएका १५ वटा भारतीय गाडी नियन्त्रणमा समेत लिइसकेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4