१० साउन, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अवस्थामा १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पछिल्लो पटक बिहीबार वीरगञ्ज महानगरपालिकाबाट डब्लुबीडी ९६८८ र पीबी२२एन १५२७ नम्बरका दुईवटा भारतीय गाडीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजश्व छली गरी भारतिय नम्बरका सवारीसाधनहरु वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा चलाई आइरहेको छन् भन्ने सूचनाका आधारमा ती सवारीलाई नियन्त्रणमा लिइएको दावी प्रहरीको छ ।
प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर जेठको मध्यतिर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख भएर आएपछि भारतीय सवारीमा कडाई गर्न थालिएको हो ।
त्यसयता पर्साबाट प्रहरीले १४ वटा भारतीय सवारी साधन नियन्त्रणमा लिएर राजश्व अनुसन्धानमा बुझाइ सकेको छ ।
भारतीय सवारीको हकमा वीरगञ्ज भन्सार कार्यालयको मुख्य गेटमा निश्चित किलोमिटरका लागि निःशुल्क २४ घण्टे पास र ५ सय रुपैयाँ तिरेर सिमित अवधिका लागि सञ्चालन गर्न पाउने प्रावधान छ ।
दर्ता गराएर वा ईजाजत लिएर मात्रै भारतीय सवारीसाधन नेपालभित्र चलाउन पाउने प्रावधान छ । दैनिक ५ सयको हाराहारीमा साना भारतीय सवारी नेपाल भित्रने तर ४ सय जतिले इजाजत नलिने गरेको दावी प्रहरीले गर्दै आएको छ ।
अपराधिक गतिविधिमा भारतीय गाडी प्रयोग हुने गरेको देखिएकोले कडाइ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
‘राजश्व छली त छँदैछ, केही दिनअघि मात्रै १ सय २० गाजासहित भारतीय नम्बरको गाडी नियन्त्रणमा लियौं । विगतका घटना अध्ययन गर्दा हात हतियार तस्करी गर्ने, लागू औषध ओसारपसार, हत्या, अपहरण जस्ता अपराधिक गतिविधिमा भारतीय गाडी नै प्रयोग हुने गरेको छ,’ उनले भने, ‘घटना घट्दा दर्तासमेत नभएका त्यस्ता गाडीको बारेमा हामीसँग कुनै सूचना नै हुँदैन । खुल्ला सीमामा गाडीको दुरुपयोग रोक्न यसलाई नियमन गर्न आवश्यक छ ।’
नेपाली व्यवसायीले भारतीय गाडी नेपालमा खुलेआम चल्दा बैंकको ऋण तिर्न नसकेको गुनासो समेत आफूकहाँ आएको उनको भनाइ छ । ‘नेपाली व्यवसायीले ४० लाख हालेर गाडी किन्छ, बैंकमा किस्ता मात्रै वर्षको १ लाख ४० हजार तिर्नुपर्दो रहेछ, भारतमा त्यो भन्दा निकै सस्तोमा गाडी पाइन्छ,’ उनले भने, ‘उताबाट आएर सस्तैमा काम गरिदिने रहेछन् ।’
पर्साको ग्रामीण क्षेत्रमा अघिल्लो वर्ष असारदेखि चैतसम्म ७० हजार किलोलिटर पेट्रोलियम पदार्थ खपत भएकोमा भारतीय गाडी निर्वाध रुपमा सञ्चालन हुँदा गत वर्ष वैैशाख जेठ दुई महिनामा मात्रै १ लाख किलो लिटर पेट्रोलियम पदार्थ खपत भएको आयल निगमको तथ्याङक छ ।
यस्तो छ कानुनी व्यवस्था
१ सय ७ किलोमिटर खुल्ला सीमा रहेको पर्सा जिल्लामा वीरगञ्ज भन्सार कार्यालयमा मात्रै इन्ट्री र भन्सार कटाउने सुविधा छ । ग्रामीण क्षेत्रमा छोटी भन्सार भए ईन्टि्र र भन्सार कटाउने सुविधा नहुँदा आफन्त आउँदा सास्ती भोग्ने गरेको ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ ।
विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिइ बढीमा एक महीनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्ने तर त्यस्तो सवारीलाई नेपालभित्र यातायात सेवा सञ्चालन गर्न अनुमति दिइने छैन भनी उल्लेख छ । तर, सीमावर्ती क्षेत्रका धेरै नेपालीले वर्षभरी नै भारतीय गाडी र मोटरसाइकल प्रयोग गर्दै आइरहेका छन् ।
त्यस्तै प्रहरीले वीरगंज महानगरपालिका वडा नं ८ घण्टाघरमा चेकजाँचका क्रममा बिहीबार ना१च २३५५ नम्बरको जीप नियन्त्रणमा लिएको छ ।
सवारी दर्ता किताबमा विलिस कम्पनी उल्लेख भएको तर उपलब्ध कागजात अनुसारको गाडिको स्वरुप नमिलेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4