Comments Add Comment

फिल्मको भूमिकाले मलाई ‘प्ले ब्वाइ’को रुपमा चित्रित गर्योः आर्यन सिग्देल(भिडियो)

‘फिल्म छनोटमा म चुकेँ, अब गम्भिर छु’

नेपाली चलचित्रले अहिले चकलेटी नायकहरुको माग बढी गर्छ । चकलेटी अनुहार भएका नायकहरुमाथि लाखौ खर्च गर्न तयार छन्, लगानीकर्ता । तर, नेपाली चलचित्रमा चकलेटी अनुहारप्रतिको आकर्षण अहिलेको पुस्तामा मात्र भएको होइन । चलचित्र ‘किस्मत’बाट करिअर सुरुवात गर्दै गर्दा नायक आर्यन सिग्देलको चकलेटी अनुहार, स्टाइल र अभिनयले लाखौ दर्शकलाई फ्यान मात्र बनाएन, लगानी गर्ने मानिसका लागि उनी पैसा छाप्ने मेसिन पनि बनेका थिए । यसैले त, आर्यन सिग्देलमाथि आँखा चिम्लिएर निर्माताले लाखौ रकम खर्च गरे ।

तर, समय एकनाशले घुम्दैन । बक्स अफिसमा हरेक शुक्रबार परिवर्तन हुने चलचित्रको व्यापारिक आँकडाले एउटा कलाकारको क्रेजलाई कि त उकालो लगाउँछ कि त ओरालो । विगत केही बर्षदेखि आर्यन सिग्देल आफ्नो गुम्दै गरेको क्रेजलाई फर्काउने कोशिशमा छन् ।

करिअरको ग्राफ
नायक सिग्देलको करिअरको ग्राफ रोचक छ । पहिलो चलचित्रबाट नै हरियो चिन्हका साथ उकालो लागेको उनको करिअरको ग्राफ पछिल्ला केही बर्षयता रातो चिन्हका साथ झरिरहेको छ । तर, आर्यन आफूले कहिले पनि स्टार र स्टारडममा विश्वास नगरेको बताउँछन् ।

आर्यन भन्छन्–‘म स्टारडममा कहिले पनि विश्वास गर्दिनँ । मेरो आफ्नै खालको चलचित्र गर्ने शैली थियो । म कलाकार हुँ र मेरो काम अभिनय गर्ने हो । म स्टार भएँ, स्टारडम मेन्टेन गर्नुपर्छ भन्ने मलाई कहिले पनि लागेन । आगामी आउने चलचित्रलाई राम्रो गरौं भन्ने सोच मात्र मलाई आउँछ । भोली चरित्र अभिनेताको रुपमा काम गर्न पर्यो भने पनि म खुशी हुन्छु, किनकी मैले यो बाहेक अरु केही जानेकै छैन ।’

यसो भनिरहँदा आर्यनमा आफूले करिअरका दौडमा कतै न कतै गल्ती गरेको महशुश भने भएको छ । करिअरको ग्राफ माथि वा तल जानुमा नितान्त सोही व्यक्ति जिम्मेवार हुने आर्यनको वुझाई छ । आर्यन सुनिए–‘कुनै पनि मानिसको करिअरको ग्राफ माथि वा तल जानुमा त्यही व्यक्तिकै हात हुन्छ । हाम्रो क्षेत्रमा मिडियाको पनि थोरै भूमिका त हुन्छ । नत्र कुनै पनि व्यक्तिको करिअर जसले विगार्छ उ नै जिम्मेवारी हो । मैले चलचित्र रोज्ने बेलामा गल्ती गरे होला । यसको जिम्मा त मैले नै लिनुपर्छ ।’

पैसामुखी भइनँ, साथीका लागि आफूलाई विर्सिएँ
करिअर नयाँ उचाइमा पुगिरहेको समयमा आर्यन पैसामुखी बने । आफूलाई लगानी गर्नेले जती पनि रकम दिन तयार भएपछि आर्यनले आँखा चिम्लिए र हातमा आएका सबै चलचित्रमा काम गरे । तर, आर्यन आफू पैसामुखी भएको स्विकार गर्दैनन् ।

आर्यनले खुलाए–‘मैले धेरै चलचित्र गर्दा पैसामुखी भएको आरोप लाग्यो होला । तर, मैले धेरै चलचित्रमा काम गरेर पैसा कम लिएको बेला नै त्यही थियो । मैले साथीभाइको लागि चलचित्र गर्दा, पैसाका लागि गरेको देखियो । हो, मैले साथीका लागि काम गर्दा गर्दै आफूलाई नै विर्सिएँ, तर अब आफ्नो लागि काम गर्छु । यस्तो गल्ती दोहोर्याउदिनँ ।’

अब गम्भिर छु
आर्यनले गुम्दै गरेको क्रेजलाई बचाउनका लागि कुनै प्रयास नगरेको आरोप उनलाई लाग्ने गरेको छ । तर, आर्यन यो कुरा स्विकार गर्न तयार छैनन् । ‘गुम्दै गरेको क्रेजलाई बचाउन म निर्माता बनेँ, आफै चलचित्र बनाएर आफूले खोजे जस्तै भूमिका पनि खेल्ने चाहेँ । तर, सबै कुराले साथ दिनुपर्ने रहेछ । सायद, मलाई समयले साथ दिएन । तर, अब म गम्भिर छु । जहाँसम्म स्टारडम भन्ने कुरा छ, यो जनताको माझमा जाँदा देखिने कुरा हो । मलाई यो पहिले भन्दा अझै बढी छ भन्ने लाग्छ । गल्ती यत्ती भयो कि, मैले दर्शकको चाहना अनुसार काम गर्न सकिनँ । मैले चलचित्र चयन गर्न सकिनँ । मलाई स्टारडम र क्रेज केही पनि चाहिएन, तर राम्रो चलचित्रमा काम गरेँ भने दर्शकले फेरि माया गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ आर्यनले भने ।

आर्यन अब फेरि करिअरलाई लिएर गम्भिर बनेका छन् । करिअरलाई कता लाने भन्ने उनकै हातमा छ । उनी भावूक हुँदै भन्छन्–‘चलचित्र मेरो प्यासन हो । चलचित्र क्षेत्र र अभिनय त मेरो मुुटुमा छ । अबको यो समयमा म अझै गम्भिर भएर लाग्नुपर्छ भन्ने लागेको छ । र अब म लाग्छु पनि ।’

म कसैको भावनासँग खेल्न सक्दिनँ
केही दिन अगाडि नायिका शिल्पा पोखरेलले दिएको एक अन्र्तवार्तापछि नायक आर्यन सिग्देल ‘प्लेब्वाई’ भएको चर्चा चल्यो । तर, आर्यन यो बिषयमा धेरै बोल्न चाहँदैनन् । आर्यनले स्पष्ट रुपमा भने–‘समाचारमा के आयो त्यसको पछि लाग्यो भने जिन्दगी नै जान्छ । म यसको पछि लाग्दिनँ । तर एउटा कुरा के हो भने, जसले जसलाई जती वुझ्न सक्छ त्यती नै बाहिर आउने हो ।’

तर, आर्यन आफ्नो ‘प्ले ब्वाइ’को छवि बन्नुमा चलचित्रको बिषयको पनि कारण मान्छन् । उनले भने–‘मलाई बाहिर भेट्ने मानिसहरुले पनि यस्तै भन्नुहुन्छ । सायद, मेरो सिरियल र त्यसपछिका चलचित्र पनि यस्तै आए । सुरुवातमै लभ स्टोरी चलचित्रहरु नै आए । चलचित्र हेर्दा हेर्दै यस्तो इमेज बनेको हुनुपर्छ ।’

आर्यनले ‘प्ले ब्वाइ’को अर्थ सुनाउँदै भने–‘प्ले ब्वाइ’ भनेको महिलाको भावनासँग खेल्ने मानिस हो । म महिला र पुरुष कसैको पनि भावनासँग खेल्ने मानिस होइन । म, आफ्नो स्वार्थका लागि अरुलाई प्रयोग गर्न सक्दिनँ ।’ तर, तपाइलाई महिलाहरुले बढी यूज पो गरे कि, यो प्रश्नमा हाँस्दै आर्यन सुनिन्छन्–‘महिलाहरुले त जती यूज गर्छन्, त्यती नै राम्रो नी होइन र ?’

विदेश मोह छैन
आर्यन सिग्देलसँगकै समकालिन कलाकार अहिले अमेरिकामा छन् । कुनै समय नायक आर्यन सिग्देल र जीवन लुइटेलविच नम्बर १ को भन्ने प्रतिस्पर्धा थियो । जीवन करिअर ओरालो लागेपछि अमेरिकातर्फ हानिए । आर्यनले पनि अमेरिका जान ५ पटकसम्म प्रयास गरिसकेका छन् ।

तर, आर्यन आफू उतै बस्न भन्दा पनि कार्यक्रमका लागि अमेरिका जान खोजेको बताउँछन् । आर्यन विदेशमा रमाउन नै सक्दैनन् । विदेश पुग्ने वित्तिकै उनलाई नेपालको याद आउँछ । उनी भन्छन्–‘म विदेशमा त रमाउनै सक्दिनँ । मलाई त भोलीका दिनमा चलचित्र गर्दा गर्दै नै सकिनँ पाए हुन्थ्यो भन्ने लाग्छ । म यो बाहेक अरु केही पनि चिज देख्दिनँ । मैले सुरुवातदेखि नै वुझेको यही क्षेत्र हो । तर, म अरु कलाकार गएको कुरालाई नराम्रो भन्दिनँ । किनकी, यहाँ कलाकारको अवस्था के छ भन्ने सबैलाई थाहा छ ।’

दर्शक फर्काउने जिम्मेवारी
आर्यन जस्तै चकलेटी छवि बोकेर अनमोल केसी, प्रदिप खड्का, सलिनमान बनियाँ जस्ता नायकहरु चलचित्र क्षेत्रमा आइसकेका छन् । अहिलेको यूवापुस्ताको ध्यान यिनै नायकहरुमा छ । यसैले आर्यनका लागि यी दर्शकलाई पनि फर्काउनु पर्ने अप्ठ्यारो छ । आर्यनलाई कुनै कलाकारलाई दर्शकले पर्खिने भन्दा पनि ती दर्शकलाई आफूतिर ल्याउन आवश्यक छ भन्ने लाग्छ ।

आर्यनले भने–‘पर्खिएको मानिससम्म नपुग्न पनि सकिन्छ । तर, उहाँहरुको सोचलाई समायोजन गर्न भने आवश्यक छ । उहाँहरुलाई आफूसम्म ल्याउन आवश्यक छ । त्यो जिम्मेवारी मेरो छ । यसैले म चलचित्रको स्तर घटाएर अब काम गर्दिनँ ।’

नयाँलाई सजिलो, पारिश्रमिकको हल्ला अनावश्यक
आर्यनले पुराना कलाकारदेखि नयाँ पुस्ताका कलाकारसँग काम गरेका छन् । आफ्नो पुस्ताको संघर्ष र पीडा देखेका छन् । आर्यनलाई अहिलेको पुस्तालाई चर्चामा आउनका लागि सामाजिक संजालले धेरै नै सहयोग गरेको भन्ने लाग्छ । ‘अहिले त धेरै नै सजिलो भयो । इन्टरनेटले कलाकारलाई काम भन्दा अन्य कुराले बढी चर्चित बनाइदियो । हाम्रो समयमा यस्तो सहज थिएन’ आर्यन भन्छन् ।

आर्यनलाई लाग्छ, अहिलेका कलाकार पहिलेको जस्तो काममा गम्भिर हुन नै आवश्यक छैन । हल्लै हल्लाले उनीहरुलाई चलाइदिएको छ । आर्यन, जीवन, विराज भट्ट, निखिल उप्रेतीको क्रेज चम्कदा पारिश्रमिकको चर्चा कहिले पनि भएन । तर, अहिले कलाकारको काम भन्दा पारिश्रमिकको चर्चा बढी हुन्छ । आर्यन, यस्ता कुरालाई मिडियामा ल्याउन नै नहुने तर्क गर्छन् । पारिश्रमिकले कलाकारको अभिनयको बिषयलाई पुरै ओझेलमा पारेको उनको भनाई छ ।

फिल्ममा पाको बन्दा
आर्यन अभिनित चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा आर्यन सिग्देल पाको उमेरको मानिसको भूमिकामा छन् । आर्यनको दाह्री र कपाल मात्र सेतो बनाएर उनलाई पाको बनाइएको छ । एउटा कलाकारलाई पाको देखाउन गरिने परिवर्तन यत्ती मात्र हो त ? आर्यन यो प्रश्नमा खुशी देखिए । किनकी, उनी यसलाई स्पष्ट पार्न चाहन्थे । भन्छन्–‘हो, मैले यो प्रतिक्रिया खुबै पाएको छु । मैले चलचित्रमा सिद्धान्त क्षेत्रीको भूमिका निर्वाहा गरेको छु । उ स्टाइलिस छ, सबैसँग बसेर मदिरा पिउछ । उसको उमेर धेरै भएको छैन । उसको जीवन जिउने शैलीमा धेरै परिवर्तन नै आएको छैन । उ उमेरमा धेरै वृद्ध होइन ।’

आर्यनले यो भूमिका निर्वाहा गर्नका लागि ८५ केजी तौल बनाएका थिए । चलचित्रको सम्पूर्ण जिम्मेवारी तपाइको काँधमा हो ? आर्यन भन्छन्–‘ मैले नै काँधमा चलचित्रलाई बोकेको भन्दा पनि सिद्धान्त क्षेत्री भन्ने पात्र म आफै भएकाले त्यस्तो देखिन्छ । चलचित्रको कथा पनि सिद्धान्त नामको पात्रकै वरिपरी बगेको छ । उसले कसैको संझनामा बिताएको लामो बर्ष र उसको जीवन यात्राको कथामा चलचित्र बनेको छ ।’

आर्यनले उनी अभिनित ‘मेरो एउटा साथी छ’देखि ‘नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्र हेरेका दर्शकलाई ‘हजार जुनी सम्म’ले निराश नबनाउने दाबी गरे ।

नेपाली चलचित्र क्षेत्रले अर्को आर्यन सिग्देल जन्माउन मुश्किल छ । यसैले, आर्यन सिग्देल आफैले भने जस्तै उनमा सोही गम्भिरता फेरि पनि देखियो भने दर्शकले एउटै कलाकारमा अभिनयको गहिराई र स्टारडम एकसाथ महशुश गर्न सक्नेछन् । आर्यन यो यात्रामा सफल होउन्, हाम्रो शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment