Comments Add Comment

रुपाताल परिक्रमा गर्न ५ किमिको इको ट्रेल, के-के बन्दैछन पूर्वाधार ?

१७ साउन, काठमाडौं । कास्कीको तेस्रो ठूलो ताल रुपाताल परिक्रमा गर्न वातावरणमैत्री पदमार्ग निर्माण गरिने भएको छ । मानव अतिक्रमणमा परेको रुपाताल संरक्षण गर्दै उक्त प्राकृतिक सम्पदालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित रुपाताल संरक्षण एकिकृत विकास परियोजना कार्यान्वयन थालिएको हो ।

वन तथा वातावरण मन्त्रालयले यस परियोजनाको वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन स्वीकृत गरेको छ ।

अहिले पोखराको पर्यटन फेवातालमा केन्दि्रत छ । रुपातालमा बन्ने पूर्वाधारबाट प्राकृतिक वातावरण संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पञ्चवषिर्य योजनाका रुपमा यस परियोजनामा करीव ४ अर्ब रुपैयाँ लगानीको योजना सरकारको रहेको छ ।

आयोजनाअन्तर्गत स्थानीय स्तरबाट हुने कामहरु शुरु भइसकेको रुपा गाउँपालिका, कास्कीका अध्यक्ष नवराज ओझाले जानकारी दिए । यो आयोजना केन्द्रमा भने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहत रहेको छ ।

ताल संरक्षण गर्न बाँध

रुपातालको प्राकृतिक सुन्दरता कायम राख्दै संरक्षण गर्न यहाँ ६ मिटर अग्लो ५७२ मिटर लामो बाँध निर्माण हुने भएको छ । रुपाताललाई वातावरण मैत्री ६ किलोमिटर लामो पहुँच सडक र पदयात्रा मार्ग बनाएर व्यवस्थित गर्ने योजना रहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजना कार्यान्वयनबाट १५ घरधुरी विस्थापित हुने र ६७.५ हेक्टर जमिन अधिग्रहण गरिदैछ । माथिबाट बगेर आएको माटो तथा बालुवा सिधै तालमा नपुगोस भनी अहिले ताल क्षेत्रमा पोखरी निर्माणको काम भइरहेको ओझाले बताए ।

आयोजनाका अनुसार इको ट्रेल निर्माण गर्न चपभैया सामुदायिक बनको ०.९३ हेक्टर र श्री पौरखे कालीमाटी सुन्दरी डाँडा वनको ०.२० हेक्टर अधिग्रहण गरिने भएको छ । रुपाताल नेपालको अधिक वषर्ा हुने आकर्षक क्षेत्र मध्ये एक हो ।

रुपाताल वाटरसेडको क्षेत्रफल २६६३ हेक्टर रहेको छ । यस भित्र ५२.५४ प्रतिशत वन क्षेत्रले धाकेको छ । ४१.५५ प्रतिशत क्षेत्रमा भने खेती गरिएको छ । तालले भने ४ प्रतिशत क्षेत्र ढाकेको छ ।

रोमाञ्चक बन्नेछ पदयात्रा

तालको पूवी र पश्चिमी, पहाड वन क्षेत्रले ढाकेको छ । जहा चिलाउने र कटुसका रुखको बाहुल्य छ । यसबाहेक सिमल, टुनी, टुटेलो, तारीकाजस्ता रुख प्रजाति समेत पाइन्छन् ।

वर, पिपल तथा बेलका लागि पनि यो वन महत्वपूर्ण मानिन्छ । यस आयोजनाले घेरेको क्षेत्र भित्र १३४ प्रजातिका जंगलि जनावर र पंक्षीको वासस्थान रहेको छ । तालमा २३ प्रजातिका माछा रहेका छन् ।

रुपाताल अहिले उचित संरक्षणको अभावमा लोप हुने जोखिममा छ । सोहीकारण आयोजनाको कार्यान्वयनबाट रुपाताल र यसको प्राकृतिक वातावरण संरक्षणमा योगदान पुग्ने वातावणीय प्रभाव मूल्यांकनको निष्कर्ष रहेको छ । आयोजना कार्यान्वयनले पर्यटन क्षेत्रलाई बढावा दिने, स्थानीय अर्थ व्यवस्था वृद्धि गर्ने र स्थानीय बासिन्दाको जीवनस्तर सुधार हुने उल्लेख छ ।

प्रस्तावित आयोजनाको कार्यान्वयनबाट तालको अहिलेको जलस्तर ६२० मिटरबाट ६२४ मिटरसम्म व्यवस्थापन हुने भएको छ । यसबाट कास्की जिल्लाकै सामाजिक र आर्थिक विकासमा फाइदा पुर्‍याउने निष्कर्ष वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले निकालेको छ ।

१५ घरधुरी विस्थापित हुने

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजना कार्यान्वयन गर्दा १५ घरधुरी विस्थापित गर्नु पर्ने भएको छ । त्यसबाट ७७ जनसंख्या विस्थापित हुनेछन् । यस भेगका मानिसहरुले रुपातालमा माछा मार्ने र त्यसलाई बजारसम्म लगेर बेच्ने, कृषि तथा स-साना पसल सञ्चालन गरी जिविकोपार्जन गरिरहेका छन् ।

अध्यक्ष ओझामा अनुसार अहिलेसम्म मुआब्जा निर्धारणको काम सम्पन्न भएको छ । मुआब्जामा मात्र करीव सवा अर्ब  लागत अनुमान गरिएकोमा २५ करोड वितरण भइसकेको ओझाले जानकारी दिए ।

मुआब्जा वितरण तथा आयोजना कार्यान्वयनमा महानगरपालिकाले समेत सहजिकरण गरिरहेको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय शेषनारायण पौडेलले जानकारी दिए ।

वातावरण व्यवस्थापनमा मात्र साढे ४ करोड

रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको वातावरणीय व्यवस्थापनका लागि मात्र ४ करोड ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । सकारात्मक/नकारात्मक प्रभावको बढावा/न्यूनिकरण, वातावणीय अनुगमन तथा व्यवस्थापन र लेखा परीक्षणमा यो रकम खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

रुपातालमा अहिले पनि विभिन्न पर्यटकीय गतिविधि संचालनमा छन् । तर, संरक्षणमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन । बाढीले ताल पुर्दै जाने, अधिक मानवीय गतिविधिका कारण प्रदूषण बढिरहँदा यस तालको वातावरणीय सुन्दरता क्रमशः हराउँदै गएको वातावरणविद्हरुको चिन्ता छ ।

सोहीकारण सरकारले रुपाताल संरक्षण र प्रवर्द्धन सँगसँगै गर्ने नीति लिएको बताएको छ । ताल आसपास पर्यटकीय आकर्षणका गतिविधि बढाएर सुरक्षाका लागि सीसीटीभी जडानदेखि विजुली बत्तिको समेत व्यवस्था हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment