Comments Add Comment

प्रतिवन्धित भारतीय र बंगलादेशी पान नेपाली भन्दै यूरोप निर्यात !

२० साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/०७६ मा नेपालबाट ३ हजार ४०७ किलो पानको पात विदेश निर्यात भयो । जबकी नेपालमा पान खेती हुने गरेको कुनै पनि तथ्यांक भेटिँदैन ।

गत आवमा निर्यात गरिएको पानको मूल्य करिब ९ लाख ९७ हजार हुन आउँछ । यो अघिल्लो वर्षको तुलनामा न्यून हो । आव ०७४/०७५ मा एक करोड ७९ लाख ५६ हजार ७४२ रुपैयाँको पान निर्यात भएको थियो । त्यस्तै, आव ०७३/०७४ मा २ लाख ५५ हजार ५५१ रुपैयाँ र आर्थिक वर्ष ०७२/०७३ मा ३४ लाख ४१ हजार ५२६ रुपैयाँको पानको पात नेपालबाट निकासी भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक उदय बोहोराका अनुसार नेपालबाट पानको पात मुख्यगरी बेलायत निर्यात हुँदै आएको छ । निर्यात हुने पानको पात कहाँको उत्पादन हो भन्ने यकिन गर्ने निकाय नेपाल उद्योग वाणिज्य महासंघ र यसका जिल्ला शाखाहरु हुन् । कृषि मन्त्रालय अन्तर्गतको विमानस्थल क्वारेन्टाइन कार्यालयको रेकर्डमा बेलायत निर्यात भइरहेका पानको पातको उत्पादन नेपालमा भएको उल्लेख छ ।

तर, राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरका अनुसार नेपालमा पान खेती हुने कुनै पनि तथ्याङ्क छैन । झापा र सुनसरीमा पान उत्पादन हुने गरेकोबारे आफूहरुले सुने पनि रेकर्डमा राखिने गरी उत्पादन नभएको केन्द्रका अधिकृत धनबहादुर थापाले बताए । प्रयोगका रुपमा गरिएको पान खेती नेपालमा सफल नभएको उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरुका अनुसार झापा तथा वरिपरिका जिल्लामा निर्यात गर्ने गरी पानको पात उत्पादन भएकै छैन । यस्तै झापा चेम्बरका अध्यक्ष टीकाराज ढकालले पनि झापामा निर्यात हुने गरी पान उत्पादन नभएको बताए ।

उद्योग वाणिज्य संघ सुनसरीका अनुसार त्यस क्षेत्रमा घर-घरमा सोखको रुपमा पान लगाइएका छन् तर व्यवसायिक खेती भएको छैन । उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष लिलम बस्नेतले आफ्नो जिल्लामा व्यवसायिक पान खेति नभएको बताए ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयले नेपालमा लगभग तीन टन हाराहारी पान उत्पादन हुने आँकलन गरेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार झापाको गरामुनि भन्ने ठाउँमा प्रयोगका रुपमा एक कृषकले खेति गरेका छन् । तर निर्यात नै गर्ने गरी नेपालमा पानको पातको उत्पादन भएको छैन ।

यसरी हुन्छ निर्यात

स्रोतका अनुसार नेपालमा बंगलादेश र भारतको राजस्थानबाट अवैध रुपमा पान भित्रिने गरेको छ । र्‍यापिड अलर्ट सिस्टम अफ फुड एण्ड फिड (आरुएएसएफएफ) यूरोपियन यूनियनले भारत र बंगलदेशको पानलाई आफ्नो क्षेत्रका देशमा भित्रिन रोक लगाएको छ ।

खासगरी बेलायतलगायतका मुलुकमा बस्ने एसियनहरुले खाने पानमा पात नगल्ने केमिकलको प्रयोग उच्च मात्रामा भएको पाइएपछि स्वास्थ्यलाई हानी गर्ने भन्दै यूरोपले ती देशबाट पान आयातमा कडाइ गरेको हो ।

यसरी भारत र पाकिस्तानबाट सोझै बेलायत निकासी गर्न नपाएपछि नेपालमा ओसारेर पठाउन थालिएको व्यवसायी बताउँछन् । नेपालबाट निर्यात भएको पान कति नेपाली कति विदेशी भन्ने तथ्याङ्क सरकारसंग छैन ।

नेपाली पान उत्पादन भएर निर्यात हुनु जायज भए पनि विदेशी पान नेपाली लेवल लगाएर विदेश पठाइनु गलत भएको वनस्पति क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् । हानिकारक केमिकल मिसाइएको आरोपमा रोक लगाइएका विदेशी पान नेपाली भनेर ती देशमा निर्यात हुँदा नेपाली पानको निर्यात भविष्य समेत खतरामा पर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment