Comments Add Comment

निजी विमान कम्पनी एटीआरमा लोभिँदै, के छ आकर्षण ?

१३ साउन, काठमाडौं ।  एक दर्जन जहाजमार्फत राष्ट्रिय–अन्तरराष्ट्रिय उडान गरिरहेको बुद्ध एयरसँग १० वटा एटीआर जहाज छन् । फ्रान्स र इटालीको ‘ज्वाइन्ट भेन्चर’मा स्थापित यूरोपीयन जहाज निर्माता कम्पनीले निर्माण गरेका एटीआरमध्ये ७ वटा जहाज ७० सीट क्षमताका एटीआर ७२–५०० हुन् । तीनवटा जहाज एटीआर ४२–३२० हुन् । यसबाहेक बुद्धसँग दुईवटा जहाज भने १९ सीट क्षमताका बीचक्राफ्ट रहेका छन् । सन् २०१९ भित्रै थप दुई वटा एटीआर ७२ जहाज थप गर्ने योजना बुद्धको छ ।

· यति एयरलाइन्सले शनिबार पाचौं एटीआर ७२–५०० काठमाडौं ल्यायो । ७० सीट क्षमताको यो जहाज अवतरण गराएसँगै अब यतिसँग कूल जहाज ११ पुगे । यति एयरलाइन्ससँग ६ वटा जेटस्ट्रीम जहाज रहेका छन् । कम्पनी क्रमशः जेटस्ट्रीम जहाज विस्थापित गर्दै सबै जहाज एटीआर नै भित्राउने योजनामा छ ।

· दुई वटा ‘वम्बाडीएर सीआरजे’ मोडलका जहाजबाट सेवा शुरु गरेको सौर्य एयरलाइन्सले केही समय कारण सोचेजति व्यापार गर्न सकेन् । बम्बाडियर भने अमेरिकन ब्राण्ड हो । सौर्य एयरलाइन्समा अहिले व्यवस्थापन परिवर्तन भएको छ । त्यसपछि भने आक्रामक बजार विस्तारको योजनामा सौर्य एयरलाइन्स रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सौर्य एयरलाइन्स अब तीनवटा एटीआर ७२ थप गर्ने अनुमतिको निवेदन पेश गरेको छ । मन्त्रालयको अनुमति पाएपछि जतिसक्दो छिटो नयाँ जहाज भित्राउने योजनामा कम्पनी रहेको छ । सौर्यसँग अहिले दुई वटा वम्बाडिएर सीआरजे रहेकोमा एउटा भने ग्राउण्डेड अवस्थामा छ ।

आकर्षक बजारले लोभ्यायो

एटीआर ७२ नेपालका ठूला विमानस्थल र छिमेकी मुलुक भारतका नेपालबाट नजिकका शहरसम्म सजिलै उड्न सक्छ । यसै जहाजबाट बुद्ध एयरले भारतको वनारस र कोलकात्तामा उडान विस्तार गरेको छ । यसबाहेक नेपालको धनगढी, नेपालगन्ज, भैरहवा, विराटनगर, राजविराज र भद्रपुरमा यो जहाजले सजिलै उडान गर्न सक्छ ।

यी सबै विमानस्थल अहिले व्यस्त र चलेका आन्तरिक विमानस्थल हुन् । चाडबाड र पर्यटकीय मौसममा धान्नै नसक्ने भीड हुने यी विमानस्थलबाट वायुसेवा कम्पनीले राम्रै विजनेश पाइरहेका छन् । सोही कारण वायुसेवा कम्पनी एटीआर विमानतर्फ लोभिएका छन् । जसको प्रत्यक्ष फाइदा यात्रुलाई पुग्ने निश्चित छ ।

सौर्य एयरलाइन्सले जेट इन्जिनयुक्त वम्बाडियर भित्राउँदा यात्रुले आरामदायी सेवाका लागि यसलाई रोज्न थालेका थिए । सँगै निजी क्षेत्रको अर्को कम्पनी श्री एयरलाइन्सले समेत बम्बाडियर नै नेपाल भित्रायो । श्रीसँग अहिले ४ वटा बम्माडियर छन् । यी दुई कम्पनीले राम्रै विजनेश पाए । तर, सौर्य भने अब बम्बाडियरबाट क्रमशः एटीआरतर्फ जाने क्रममा छ । सौर्य एयरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई भन्छन्, ‘जेट इन्जिनका जहाज चलाउँदा छोटो रुटमा मेन्टिनेन्स धान्न मुस्किल हुने रहेछ ।’

उनका अनुसार एटीआर तुलनात्मक रुपमा किफायती जहाज हो । यसको छोटो रुटमा छिटो छिटो चलाउँदा पनि यसको इन्जिनमा अतिरिक्त भार पर्दैन । सामान्यतया लामो रुटमा चल्ने गरी निर्माण गरिएका जहाजका इन्जिन छिटो–छिटो बन्द गर्नुपर्दा त्यसको ‘लाइफ टाइम’ पनि सोही गतिमा घट्ने गर्छ । सोही मोडलका अन्य जहाजको तुलनामा प्रतियात्रु ५० प्रतिशत कम मात्रामा कार्वनडाइअक्साइड उत्सर्जन गर्ने कम्पनीहरुको दाबी छ । सोही कारण यसलाई वातावरणमैत्री पनि मानिन्छ । एकसाथ धेरै यात्रु बोक्ने र सञ्चालन खर्च, इन्धन किफायतीजस्ता कारणले पनि एटीआर नेपालमा लोकप्रिय बन्दै गएको हो ।

त्यसो त यी जहाजको मर्मत र सम्भारको पनि नेपालमा पर्याप्त सुविधा छ । बुद्ध एयरले त्रिभुवन विमानस्थलभित्रै निर्माण गरेको विमान मर्मत केन्द्रमा एटीआर जहाजको आकस्मिक तथा नियमित मर्मत गर्ने सुविधा उपलब्ध छ । बुद्धले विदेशी कम्पनीका जहाजलाई समेत नेपालमै ल्याएर मर्मत गर्न सक्ने क्षमता बनाइसकेको छ । यस अवस्थामा आफ्नै मुलुकभित्र रहेको मर्मत सुविधाले पनि एटीआरतर्फ धेरै कम्पनीको आकर्षण देखिन्छ ।
सामान्यतया एउटा वायुसेवा कम्पनीसँग धेरै उत्पादन कम्पनीका जहाज भए भने उनीहरुको सञ्चालन खर्च दोब्बरले बढ्ने गर्छ । किनकि त्यसका लागि छुट्टै पाइलट, छुट्टै इन्जिनियरलगायत प्राविधिकको जोहो गर्नुपर्छ । त्यसकारण अहिले वायुसेवा कम्पनीहरु सकभर एउटै कम्पनीका धेरै जहाज राख्ने रणनीतिमा पुगेका छन् । त्यसकारण पुराना जहाज विस्थापित गर्दै कम्पनीहरुले एउटै जहाज निर्माताका धेरै जहाज राख्न शुरु गरिसकेका छन् ।

एटीआर भर्सेस बम्बाडियर

नेपालको हवाई विजनेशमा एटीआर–एटीआर प्रतिस्पर्धा त सतहमा उत्रिनै सकेको छ । किनकि निजी क्षेत्रका दुई ठूला बुद्ध र यतीले अब समान प्रकृतिका जहाजबाट समान रुटमा उडान सुरु गरिसकेका छन् । त्यही मेसोमा प्रतिस्पर्धा एटीआर–बम्बाडियरबीच चर्कने निश्चित छ । किनकि अन्य कम्पनीहरुले एटीआरलाई प्राथमिकता दिइरहँदा श्री एयरलाइन्स भने बम्बाडियर सीआरजे जहाजमा केन्द्रित छ ।

दुई वर्ष अगाडीबाट ‘सेड्यूल फ्लाइट’ थालेको श्री एयरलाइन्ससँग अहिले सीआरजे ५०० र सीआरजे ७०० मोडलका दुई/दुई जहाज छन् । यी ७० र ५० सीट क्षमताका जहाज हुन् । श्री अझै यही मोडेलका जहाज थप्ने योजनामा छ । छोटो अवधिमै आन्तरिक उडानमा तेस्रो ठूलो कम्पनी बनिसकेको श्री एयरलाइन्सको उपस्थितिले समग्रमा यात्रुको सेवा सुविधा वृद्धिमा सहयोग पुग्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment