Comments Add Comment

संसदमा राजेन्द्र महतोको प्रश्न : कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो ?

२० साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी  जानकारी दिएका थिए । नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए ।

त्यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै सांसद महतोले आपत्ति जनाए । संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’

नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए । सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे ।

यो घटनामा आफ्नो मानहानी भएको भन्दै माफी माग्न सरकारसँग माग गरे । उनले भने, ‘सरकारले माफी माग्नुपर्छ । यसरी भ्रम फैलाउने काम गर्नु हुँदैन ।’ सञ्चार माध्यमले पनि यसमा ध्यान नदिएको भन्दै आपत्ति जनाए ।

सांसद महतोले उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिनु स्वभाविक नभएको भन्दै नेकपा सांसद खगराज अधिकारीले नियमापत्ती गरेका थिए । त्यस्तै नेकपा सांसद कृष्णभक्त पोखरेलले उक्त शब्द रेकर्डबाट हटाउन माग गरे । त्यसपछि सभामुख महराले महतोले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment