
१६ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ ।
ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो ।
निगमले आगामी सेप्टेम्बरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । निगमले नारितामा सेड्यूल फ्लाइट गर्न खोजे पनि अनुमति पाएको छैन ।
ओसाकाका नियमित उडानका साथै निगमको विमानबाट नारिता विमानस्थलसम्म २ वटा चार्टर उडान समेत हुने भएको हाे । यस सम्वन्धमा सुमेघ टूर्स एन्ड ट्राभल प्रालिसँग सम्झौता भएको छ ।
यी चार्टर उडान काठमाडौं-नारिता-काठमाडौंबीच सेप्टेम्बर र अक्टोबर महिनामा हुनेछन् । पहिलो उडान २६ सेप्टेम्बर बिहीबार काठमाडौंबाट नारिता गई २७ सेप्टेम्बर शुक्रबार काठमाडौं फर्किने छ ।
यस्तै दोस्रो उडान अक्टोबर २ तारिख बुधबार गई अक्टोबर ३ तारिख बिहीबार फर्किने छ । चार्टरका लागि काठमाडौं-नारिता-काठमाडौं उडान १४ घन्टा ३० मिनेटको हुनेछ ।
साथै निगमले २९ अगष्ट २०१९ बाट जापानको ओसाकामा नियमित उडान सुरू गर्दैछ ।
प्रतिक्रिया 4