News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमको साउदी अरबस्थित जीएसए अवधि सकिएर नवीकरण नहुँदा साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ ।
- अल फेसलिया मोडर्न एभिएसनले नोभेम्बरभरि मात्रै काम गर्ने र १ डिसेम्बरदेखि सेवा दिन नसक्ने इमेलमार्फत नेवानिलाई जानकारी गराएको छ ।
- साउदीमा साताको एक उडान रहेको र पछिल्ला चार उडान रद्द भएकाले सयौँ नेपालीको यात्रा अन्योलमा परेको छ ।
१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ ।
साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण अब साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ ।
निगम स्रोतका अनुसार साउदीमा अल फेसलिया मोडर्न एभिएसन नेपाल एयरलाइन्सको जीएसएका रूपमा काम गरिरहेको छ । जीएसएको नवीकरण ३१ जुलाईमा भइसक्नुपर्ने थियो ।
तर, निगम व्यवस्थापनको बेवास्ताका कारण विद्यमान जीएसएको नवीकरण हुन सकेको छैन भने नयाँ जीएसएस समेत नियुक्ति प्रक्रिया अगाडी बढेको छैन ।
नवीकरण नभएपछि विद्यमान जीएसएले अब निगमका लागि निरन्तर काम गर्न नसक्ने जानकारी इमेल मार्फत नेवानिलाई गराएको छ ।
कम्पनीले नोभेम्बरभरि काम गर्ने र १ डिसेम्बरदेखि काम गर्न नसक्ने स्पष्ट पारेको छ । यो कम्पनी ५ वर्षका लागि नियुक्त भएको थियो । जसको अवधि गत जुलाईमा सकिएको हो ।
जीएसले स्थानीय सेल्स, मार्केटिङ, कानुनी प्रक्रियाका काम गर्छ । साथै, सम्बन्धित देशको नियामक निकायसँग समन्वय समेत गर्छ । कर्मचारीका भिसा प्रक्रियामा समेत जीएसएले सहयोग गर्छ ।
साउदी नेपाली कामदार अत्यधिक रहेको श्रम गन्तव्य देश हो । यहाँ ५ लाख हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ । तर, राष्ट्रिय ध्वजावाहकले यस गन्तव्यमा प्राथमिकता साथ आफ्नो उपस्थिति देखाउन सकेको छैन ।
यहाँ साताको एक उडान राखिएको छ । पछिल्लो समय साउदीमा जारी द्वन्द्वबीच पछिल्ला चार उडान रद्द भइसकेका छन् । यसले सयौँ नेपालीको यात्रा अन्योलमा परेको छ ।
प्रतिक्रिया 4