Comments Add Comment

पर्यटनमन्त्री भट्टराईले मागे नेपाल एयरलाइन्ससँग कार्ययोजना

२० साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमसँग कार्ययोजना माग गरेका छन् ।

सोमबार निगम पुगेका मन्त्री भट्टराईले भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न र राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना ल्याउन उनले निगम व्यवस्थापनसँग माग गरेका छन् ।

जहाज सञ्चालन गर्ने संस्थाले जहाज थप्न आवश्यक रहे पनि जहाज खरीद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउनुपर्ने बताए । विगतमा निगमले दुर्गम भेगमा गरेको सेवा स्मरण गर्दै उनले आन्तरिक उडानलाई समय सापेक्ष बनाउन समेत निर्देशन दिए ।

निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्य व्यवस्थापकलाई उचित काम सुम्पेर पनि प्रतिफल लिन तयार हुनुपर्ने उनको भनाइ थियो । उनका अनुसार विमानस्थलको संख्या थपिंदै गएको सन्दर्भ कोट्याउँदै उनले आगामी मंसीर भित्र निजगढ विमानस्थलको शिलान्यास गरिने जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पूँजीमा सन्तुलन आवश्यक रहेको बताए । स्पष्ट व्यावसायिक योजना ल्याएमा निगमलाई सरकारको सहयोग रहने उनको प्रतिवद्धता थियो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलल निगमले सेवाको स्तर वृद्धि र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।

पूँजी र ऋणबीच सन्तुलन ल्याउनकै लागि निगमले सरकारसँग २० अर्ब रुपैयाँ लगानी खोजेको उनको स्पष्टिकरण थियो । निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले निगमका लागि एकमुष्ट जहाज खरीद गरी सवल संस्थाका रुपमा स्थापित गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment