Comments Add Comment

भारत पाकिस्तानबीचको व्यापार सम्बन्ध तोडिँदा नेपाललाई कस्तो असर ?

२३ साउन, काठमाडौं । जम्मू कश्मीरको विशेष राज्यको दर्जा खोस्ने भारत सरकारको कदमलाई लिएर पाकिस्तानले भारतसँगको द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्‍यो । यसबाट नेपाल–पाकिस्तान व्यापारमा पर्ने असरबारे चर्चा सुरु भएको छ ।

भारतले चालेको कदमको जबाफ पाकिस्तानले व्यापारिक अस्त्रबाट दिएपछि दुई देशबीच बुधबारबाट आयात–निर्यात ठप्प बनेको छ । यससँगै भारतीय मार्ग हुंदै नेपालले पाकिस्तानसँग गर्ने व्यापार पूर्णरुपमा प्रभावित बन्ने जानकारहरु बताउँछन् ।

नेपालसँग पाकिस्तानले समुन्द्री मार्ग भएर भारतको कलकत्ता बन्दरगाह हुँदै व्यापार गरिरहेको छ । वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल दुई देशबीचको तनावका कारण नेपालले पाकिस्तानसँग गर्ने ब्यापारमा अवरोध आउने बताउँछन् ।

यद्यपि, नेपाल र पाकिस्तानबीचको व्यापार थोरै परिमाणमा रहेका कारण तत्कालै देखिने गरी ठूलो असर र प्रभाव नदेखिने उनको भनाइ छ ।

‘बरु भारतका लागि पाकिस्तानले गर्ने निर्यातका वस्तुहरुको सूची पहिल्याएर त्यसलाई पूर्ति गर्नेगरी आफ्नो उत्पादन पठाउने अवसर नेपालसँग हुनसक्छ,’ ढकालले भने ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ भने भूपरिवेष्ठित मुलुकको सुविधाका कारण भारत–पाकिस्तानको द्वन्द्वले नेपालसँगको पाकिस्तानी व्यापारमा असर नगर्ने दावी गर्छन् । नेपालले पाकिस्तानसँग व्यापार गर्न पाउने विभिन्न अन्तर्राष्ट्रिय कानुनी सुविधा भएकाले असर नगर्ने उनले बताए ।

‘तर, पाकिस्तानबाट भारतीय पोर्ट हुँदै आउने आउने सामानमा भारतीय पक्षले कडाई गर्न सक्ने भएकाले नेपाली व्यवसायीले झण्झट व्यहोर्नुपर्ने हुन सक्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपालले पाकिस्तानसँग ६४ करोड ६ लाख ८३ हजारको वस्तु आयात गरेको छ । यस्तै नेपालबाट पाकिस्तानतर्फ ५ करोड ३७ लाख ९८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

नेपालले पाकिस्तानबाट चिनी, सीसाका सामाग्रीहरु, कफी, औषधीजन्य वस्तु, खेलौना, चुरा तथा पोते, घडी, कार्पेट, फोटाग्राफीका सामानलगायतका ५५ प्रकारका वस्तुहरु आयात गरेको भन्सार विभागले जनाएको छ । नेपालबाट भने पाकिस्तानतर्फ औषधी, कार्पेट टेक्सटायल लगायतका २५ प्रकारका वस्तुहरु निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment