Comments Add Comment

कथा : ब्ल्याकहोलबाट बाहिर निस्कँदा

धेरै दिन भयो, नयनको फोन कुरिरहेकी थिई उसले । यही फोनले उनीहरुको एकल जीवन दोकलमा परिणत हुनु थियो । ऊ राम्री थिई । त्यसमाथि बेहुलीबन्दा उसको सुन्दरताले आकाश छोइरहेको थियो ।

मसहित उसका साथीहरुले कहिले जिस्क्याउँदै त कहिले नोस्टाल्जिक बन्दै उसलाई विदा गर्‍यौं । हाम्रो सर्कलबाट ऊ हराई ।

थाहा थिएन, ऊ हराउनु हाम्रो सम्बन्ध पनि हराउनु हो र पुराना खुसी पनि हराउनु हो । मान्छे हराउनु भनेको ऊसँग भएका चञ्चलता, खुसी र सपना पनि हराउनु रहेछ । हाम्रो स्मृतिमा उसको अनुहार बाहेक सबथोक हराउँदै गए । हामी पनि हाम्रो संसारमा हरायौँ ।

एकजना लेख्न मन पराउने मान्छेसँग म हराएँ । मेरी सहेलीजस्तै म पनि उसको लेखाइमा पग्लिएँ । उसको हेराइमा पग्लिएँ । उसको बोलीमा मग्न हुन थालेँ । आफू उसैका लागि जन्मिएको जस्तो लाग्न  थाल्यो । उसले छाड्यो भने बाँच्न सक्दिनँ जस्तो लागिरह्यो ।

मैले यसरी प्रेम गर्दागर्दै ऊ एकदिन बिनासूचना हरायो । उसले बिहे गर्‍यो ।

त्यसपछि मैले धेरैको बिहेको खबर सुनेँ । धेरै प्रेमकहानीहरु टुक्रिएको सुनेँ । बिहेपछि केही साथीहरुको पारपाचुकेका कारणहरु सुनेँ । पारपाचुके नहुनेहरुका दुःखका कथा सुनें । प्रेमीले विनासूचना छाडेर गएको अर्थ पनि बुझेँ । मेरो मात्रै प्रेम सम्बन्ध टुटेको रहेन छ । जतिबेला पनि टुट्न सक्ने रहेछ सम्बन्ध । टुट्नकै लागि सम्बन्ध जोडिँदोरहेछ ।

विवाह मिलनको अन्तिम सुत्र होइन, यो त अनुभव मात्र हो ।

यति जानेपछि मैले जिन्दगीमा बिहे गर्ने निर्णय गरेँ । बिहे गरेर हराएका मेरा कैयौँ साथीहरुझैँ म पनि यो ठाउँबाट हराउने भएँ ।

मेरो बिहेको खबर सुनेर सुष्मा मेरो घर आई ।

‘सीमाना ! तँ बिहे नगर ।’

‘तिमारु बिहे गर्ने, बच्चा जन्माउने अनि शानको जिन्दगी जिउने । मचाँहि बिहे नगर्नु ?’

सुष्माले भनी ‘म आफ्नो खुट्टामा उभिएकी थिएँ । थाहै छ, बैँकको सानदार जागिर थियो । ब्रान्च म्यानेजर हुने पक्का भएपछि बिहे गरेँ । अहिले यही जागिरका कारण लोग्नेको टोकेसो सुन्नपर्छ ।’

‘अहिले जागिर खाए पनि त भयो, के बिग्रेको छ र ?’

‘देखिनस् । पेटमा बच्चा छ । यसलाई हुर्काउन पर्‍यो । पढाउन पर्‍यो ।’

‘आमा हुने भइछस् । बधाइ छ । घरको म्यानेजर छदैँ छेस् । अब बैँकको म्यानेजर किन भैरहनुपर्‍यो   त ?’

‘बिहे नगर भनेको हो क्यारे । मान्ने होइन । आमा बन्न मन छ भने बिहे नै किन गर्नपर्यो र ?’

‘यति जान्ने रैछेस् । तैँले किन गरिस् त नि ? भन्न सजिलो छ । सक्छेस् भने कसरी बाँच्नपर्छ देखा । नत्र तेरो सल्लाह तँसगैँ राख् ।’

ऊ केही नभनी जुरुक्क उठेर हिँडी ।

बिहे गरेसी मान्छेहरु कति जब्बर हुने रहेछन् । अरुबेला यति भनेको भए पिल्पिलाउन थालीहाल्थीँ । उसको साहस खुप मन पर्‍यो ।

‘ओई, बिहेमा चाँहि आइज नि फेरि ।’ पर पुगिसक्दा मैले भनंे ।

‘नबोलाए पनि आउँछु ।’ सिँढी उत्रँदै उसले यस्तै केही भनी ।

मेरो बिहे भयो ।

मेरी आमा गाउँबाट हराएजस्तै, हजुरआमा पहाडबाट हराएजस्तै, मेरा साथीहरु सहरबाट हराएजस्तै म पनि हराएँ । सुष्मा हराएजस्तै हराएँ । अपवादबाहेक हाम्रो समूहका साथीहरु एकएक गरेर यसैगरी हराएका थिए । म पनि हराए ।

बिहे गर्नु भनेको हराउनु पो रहेछ । मैले यत्रो वर्ष नबुझेको कुरा बल्ल बुझेँ ।

हामी भान्छाकोठामा हरायौँ । बगैँचामा हरायौँ । घरभित्रको चारपर्खालभित्र हरायांै । लोग्नेको बिछ्यौनामा हरायौँ । मातृत्वकोे खुशीमा हरायौँ । लोग्नेको हेपाइमा हरायौँ । कहिलेकाहीँ, लोग्नेको मीठो छुवाइमा हरायौँ त कहिले सम्झनै मन नलाग्ने उसको व्यवहारमा । लुगा धुँदाधुँदै, भाँडा माझ्दामाझ्दै, हिन्दी सिरियलमा देखाइने घरझगडा, मायाप्रेम हेर्दाहेर्दै हरायौँ । अस्तित्वको दाबी गर्दागर्दै घरभित्र पसेपछि, बिहेको मण्डपमा बसेपछि, नारी यत्तिकै हराउँदी रहिछे ।

अपवाद, हाम्रो समूहबाट प्राश्ना हराइन । अलग्गै मुटु भएकी प्राश्नाले बिहे नगरेका कारण ऊ नहराएको निष्कर्ष निकालेँ । उसलाई खोज्यो भने सजिलै भेट्टाउन सकिन्थ्यो । ऊ कहिले टेलिभिजनमा आउँथी । कहिले पत्रिकाका पन्नाहरुमा सल्बलाउँथी । कहिले माइक लिएर मञ्चमा झुल्किन्थीँ । कहिले पुरुषहरुसँगै सभा, गोष्ठीहरुमा भेटिन्थी । कहिले स्कुलका नानीहरुसँग भेटिन्थी । कहिले विश्वविद्यालयको कोठामा भेटिन्थी । कहिले लाईब्रेरीमा भेटिन्थी । कहिले हरिया डाँडामा भेटिन्थी । कहिले झरनामा भेटिन्थी । कहिले जनचेतना फैलाउँदै कणर्ाली, रुकुममा भेटिन्थी । ऊ सबैले भेट्ने, सबैलाई भेट्ने भएकी थिई । हेर्दाहेर्दै ऊ एकदिन सासंद भवनको कुर्सीमा पनि भेटिई । नीति नियम बनाउने मन्त्रालयमा भेटिई ।

हामी हराएकाहरु उसलाई देखाएर साना नानीहरुमा हिम्मत भर्न खोजिरहेका थियौँ । हामी हराए पनि उनीहरु नहराऊन् । अस्तित्वको दाबी गरुन् भनेर सिकाइरहेका थियौँ । यसरी सिकाउँदा सिकाउँदै पनि मेरी छोरी हराई । मेरी छोरीजस्तै कैयौँ आमाहरुका छोरी हराए ।

छोरीहरु मात्रै किन हराउँछन् हँ ?

माइती गएका बेला आमाले सुनाउनुभयो ।

‘तेरी साथी सुष्माले लोग्ने छाडी । माइतीको ईज्जत फाली ।  कस्ती नकचरी ? त्यत्रो सम्पत्तिवालसँग बिहे गराइदिएका थिए । अझ त्यसको त लब म्यारिज हो क्यारे होइन ? आफैँले छानेको पोइ पनि कसरी छाड्न सकेकी त । सासूससुरा बेलैमा मरेका थिए । स्याहार्नु परेन । सुखले मात्तिएकी । हामीले कति दुख झेलेम् । अचेलकालाई जति सुख भए पनि नपुग्ने । न खेतबारी गोड्नुपर्ने भन्ने छ, न सासुससुरा स्याहार्नुपर्ने । जाबो एउटा लोग्नेलाई रिझाएर बस्न पनि… कति मत्तु भएकी रहिछे त ।’

मेरा लोग्ने बैठक कोठाबाट आउनुभयो । उहाँले प्राश्नाका बारेमा आमालाई सुनाउनुभयो, ‘आमा Û त्यस्ता बाईफाले आईमाईहरुको कुरा गरेर कहाँ सकिन्छ र ? उसकी साथी प्राश्ना अहिले नेता भएकी छ । खै कुन हो, अर्को नेतासँग चक्कर रहेछ । अब त्यस्ता लोग्ने फेर्दै माथि पुग्नेको के कुरा गर्नु ? क्षमता हुनु नपर्ने रहेछ, रुप भए हुने । अहिले महिला अधिकारका कुरा गरेर हिँड्छे । त्यसलाई मन्त्री बनाउने पुरुष नै होइनन् र ? सर्पलाई दूध खुवाए पनि विष नै निकाल्छ भन्थे । हो रहेछ । पुरुषको विरोध गर्दै हिड्छे ।’

आमाको भनाइले मेरो मुटु चरक्क चिरिएको थियो, लोग्नेको भनाइले पट्ट फुट्यो ।

घरभरि किताबहरु हुन्थे । टेबलमा पत्रिकाहरु असरल्ल हुन्थे । एकछिन फुर्सद भए पो पढ्न । त्यहीँ छरिएका पुस्तक र अखबारहरु सम्हाल्दैमा दिन जान्थ्यो । घरको काम न देखिन्छ, न सकिन्छ । एकछिन खाली पनि भइँदैन । के गरिस् दिनभरि भन्दा केही न केही । यसरी घरमै हराइरह्यांै हामी । धन्न सुष्मा यो हराइरहने ब्ल्याकहोलबाट बाहिर निस्किछे । कस्ती जब्बर भइछे, त्यस्ती पिञ्चे पनि ।

सुष्माभन्दा त म आँटिली छु भन्थे साथीहरु । मेरो साहस कहाँ गयो हँ ? केटाहरुलाई मर्ने गरी पिट्ने यी हातहरु लोग्नेको विरुद्धमा किन उठ्दैनन् ? बुवासँग मुखमुखै लाग्न सक्ने म सासूससुरासँग किन ठाडो गरी बोल्न सक्दिनँ ? बिहे गरेसी कति लाचार भएँछु ।

‘यो त कस्ती जब्बर छे, योसँग बिहे गर्ने केटाले कुकुरले नपाउने दुःख पाउँछ, म त गर्दिनँ तँसँग बिहे ।’ यस्तो भन्ने केटाले कस्तोसँग बिहे गर्‍यो होला ? जति जब्बर भए पनि बिहेपछि नौनीझैँ पग्लनै पर्ने रहेछ । अब मलाई पग्लिरहनु थिएन । घरभित्रै हराइरहनु थिएन । हेपाइ सहिरहनु थिएन । सुष्माजस्तै जब्बर बन्न मन भयो ।

मैले डिभोर्स गरेँ ।

यसपछि हाम्रा ग्रुपका एक-एक साथीहरु डिभोर्स गर्दै बाहिर निस्किए । हामी ११ जनाको ग्रुप बाहिर निस्किएपछि फेरि भेट भयौँ । तर, प्राश्ना भेटिइन । ऊ सधैँ अपवाद ।

हामीले हराएका वर्षका कथाहरु साटासाट गर्‍यौं । हराउँदाको खुशी बाँडौं भन्दा हामीसँग खुशीका केही कथा थिएनन् । बस् बिहेपछिका दुई/तीन वर्ष अनि आमा बन्दाको खुशीबाहेक अरु हराउँदाको खुशी केही थिएन हामीसँग ।

बरु हामीले दुःखलाई स्वीकार्न सिकेका थियौँ । यस्तै हो, यसरी नै चल्छ भनेर चित्त बुझाउन सिकेका थियौँ । मनभरि दुःख बोकेर पनि हाँस्न र अरुलाई खुशी बनाइरहने कला जानेका थियाैं । हामीले हराउँदा यत्ति कुरा जानेका रहेछाैं । तर, नजानेका कुराहरु कति थिए, कति । अब सिक्नु छँदै थियो । प्राश्ना झैँ उन्मक्त जिन्दगी जिउनु थियो । आफ्नै लय बनाउनु थियो ।

सुष्माले भने आफ्नो लय बनाइसकेकी थिई । ऊ सिलाई बुनाई दोकान खोलेर बसेकी थिई । उसले हामीलाई पनि एक्लै बाँच्न सिकाई । आँट दिई । हामी छरिएर आफैँ केही गर्न खोजेकाहरु एक ठाउँ जम्मा भयौं । सुस्माको आँटले हामीले साहस बटुलिरहेका थियौँ । उसले हामीलाई आर्थिक स्वतन्त्रताको खुशीको अलिअलि झिल्कोहरु देखाइदिई । हामी त्यही झिल्कोले जिन्दगी पुरै उज्यालो बनाउने प्रयत्न गर्ने भयाैं । आफैंमा साहस भर्न सक्ने भयौँ ।

डिभोर्स गर्दा पाएको सम्पत्ति हामीले लगानी गर्ने निधो गर्‍यौं । तर, डिभोर्स गर्दा जानुका र मन्दिराले केही पाएका थिएनन् । बरु शरीरभरि कहिल्यै नमेटिने दागहरु लिएर आएका थिए । दाइजो नपाएको निहुँमा मन्दिराले झण्डै गुमाएको ज्यान लिएर आएकी थिई ।

यसरी निस्केर आएका हामीले सानो लगानीले हुने साबुन फ्याक्ट्री खोल्ने भयाैं । मन्दिराले चटपटे बनाएर बेच्छु भन्न थाली । हामीले उसलाई सहयोग गर्‍यौं ।

हामी  नहराइकन जिन्दगी बाँच्ने बाटो आफैँले खन्दै थियौँ । सधैँ भेटि्टइरहने प्राश्ना भने हामीबाट हराएकी थिई । हामी भेटि्टदाँ ऊ कता हराई हँ ?

ऊ अखबारका पन्नाहरुबाट हराएकी थिई । मन्त्रीको कुर्सीबाट पनि हराएकी थिई । ऊ साना नानीहरुको जिन्दगीबाट हराएकी थिई । ऊ बैठक, गोष्ठी अनि सभा समारोहबाट हराएकी थिई । टेलिभिजनको पर्दाबाट हराएकी थिई ।

सुष्माले खबर लिएर आई, ‘प्राश्नाले बिहे गरी ।’

हामी सबै उसले कोसँग बिहे गरी भनेर जान्न उत्सुक थियौँ ।

उसले मलाई फोटो देखाई र भनी, ‘उसले तेरो पूर्वलोग्नेसँग बिहे गरी ।’

म मुसुक्क मुस्कुराएँ । ऊ सधैँ अपवाद बनिरहन्छे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment