Comments Add Comment

गोलीकाण्डसँगै गाउँपालिकाको विवाद छताछुल्ल

२४ साउन, काठमाडौं । प्रहरीले गोली हानेर लोप्साङ भन्ने बाबुराम तामाङलाई पक्राउ गरेसँगै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षको आन्तरिक विवाद सतहमा आएको छ ।

लोप्साङमाथि गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई २ करोड मागेको र नदिए छोरीलाई अपहरण गरेर मार्ने धम्की दिएको आरोप छ ।

गाउँपालिका अध्यक्ष खड्काले वडा नं. ७ का वडाध्यक्ष सुवास बोहोराको योजनामा आफूलाई धम्की आउने गरेको आरोप लगाए । वडाध्यक्ष बोहोराले भने आरोप पुष्टि गर्न चुनौती मात्र दिएनन्, गाउँपालिका अध्यक्षबाट आफू र उपाध्यक्ष असुरक्षित भएको बताए ।

खड्काको आरोप : योजनाकार वडाध्यक्ष हुन्

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जारी गरेको विज्ञप्तिमा लोप्साङलले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई दुई करोड दिएर ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।

खड्काले भने वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहराको ग्रान्ड डिजाइनमा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष खड्काले भने, ‘बोहरासँगको आन्तरिक विवादका कारण म र छोरा–छोरीलाई समेत बारम्बार ज्यान मार्ने धम्की आउने गरेको थियो ।’

बोहरासँग चुनाव ताका टिकटको विषयलाई लिएर मनमुटाव भएको खड्काले बताए । खड्काले भने, ‘स्थानीय तह चुनावमा मैले टिकट नपाउन् भन्ने पक्षमा बोहरा रहे पनि पार्टीले मलाई दियो । मैले जितेँ पनि । तर वडाध्यक्ष मलाई असफल बनाउन हरतरहले लागि रहे ।’

सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने आफ्नो प्रस्तावमा वडाध्यक्ष बोहराले खोँचे थापेको उनको आरोप छ । १३ वैशाखमा भएको गाउँसभाछि आफूलाई बढी नै तनाव दिएको र अति भएपछि १८ साउनगतेदेखि काठमाडौं आएर बसेको बताए ।

गाउँपालिका अध्यक्ष खड्का भन्छन्, ‘फोन गर्ने व्यक्तिले बारम्बार २ करोड माग्दै धम्की दिने गरेको छ । २ करोड नदिए तेरो नाममा ४ राउण्ड गोली खर्च गर्न नपरोस् भन्ने धम्की दिन्छ । तिथि, मिति, समय र स्थान तोकेरै गोली हान्ने धम्की आउँछ । अनि कसरी गाउँपालिकामा बस्नु ? सुरक्षाका लागि काठमाडौं आउन बाध्य भएँ ।’

धम्की दिने व्यक्तिले २ करोड रुपैयाँ दिए गाउँपालिकाको विवाद समेत मिलाउँछु भन्ने गरेको उनको दाबी छ ।

आरोप पुष्टि गर : वडाध्यक्ष

वडाध्यक्ष बोहराले भने गाउँपालिका अध्यक्षबाट उपाध्यक्ष र आफू असुरक्षित बनेको बताएका छन् । उनले ज्यान मार्ने धम्कीको योजनाकार भएको पुष्टि गर्न खड्कालाई चुनौतीसमेत दिएका छन् ।

विकासका काम गर्ने क्रममा देखिएको असम्झदारीलाई लिएर गम्भीर आरोप लगाएको उनले बताए । उनले भने, ‘गत वर्ष हामीले दुरागाउँका विद्युतीकरणमा काम गरेका थियौं । अनुगमनपछि मात्रै बजेट विनियोजन गरौं भनेर कार्यपालिकाका १२ जना सदस्यले भन्यौं । उपभोक्ता समितिले गरेका खर्चबारे जानकारी लिएर मात्र भुक्तानी दिन आग्रह गर्दा गाउँपालिका अध्यक्षले बैठकमै उपाध्यक्ष र मलाई कुर्सी उठाएर हान्ने प्रयास गर्नु भएको थियो ।’

गाउँपालिका अध्यक्षबाटै असुरक्षित भएपछि पार्टी नेतृत्व र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए । तर अध्यक्षले आपराधिक घट्नामा जोड्नु दुःखद् भएको भन्दै आफ्नो संलग्नताबारे पुष्टि गर्न चुुनौती दिएका छन् । वडाध्यक्ष बोहराले भने, ‘म राजनीति गर्ने मान्छे हुँ । आपराधिक घटनामा काहिँ कतै मेरो संलग्नता हुँदैन । आरोपको पुष्टि गर्न म चुनौती दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment