Comments Add Comment

सैनिक कल्याणकारी कोषको रकमः ११ वर्षमा तेब्बर

२४ साउन, काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रकम एक दशकमा तेब्बर वृद्धि भएको छ । कोषसँग रहेको नगद मौज्दात ११ वर्षको अवधिमा १३ अर्ब ६ करोडबाट वृद्धि भएर ३८ अर्ब ५७ करोडमा पुगेको हो ।

कोषले उपलब्ध गराएको विवरण विश्लेषण गर्दा वार्षिक सरदर ११.२४ प्रतिशतले रकम वृद्धि भएको देखिन्छ । सहायक रथी सागरबहादुर केसी कोषको समग्र आर्थिक गतिविधि सन्तोषजनक रहेको बताउँछन् ।

‘०७५ असार मसान्तमा मात्रै ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात रहेकोमा यस वर्ष २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले वृद्धि भएको छ’, कोषका निर्देशक समेत रहेका केसीले भने, ‘आर्थिक वर्ष ०७५/०७६ मा कोषको नगद रकम २ अर्ब ८० करोड ३६ लाखले वृद्धि भइ ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।’

यसका अतिरिक्त कोष अन्तरगतका विभिन्न निकायमा ५ अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानी गरिएको उनी बताउँछन् । उनका अनुसार, यो रकमसहित कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २२१ करोड ९० लाख ४० हजार रुपैयाँ छ ।

‘कोषमार्फत विष्फोटक पदार्थ उत्पादन हुने सुनाचुरी इमल्सन प्लान्ट, रिपुमर्दिनी अक्सिन प्लन्ट, पानी उत्पादन केन्द्र लगायतमा लगानी गरिएको छ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन् ।

उनका अनुसार कोषको रकम वहालवाला तथा अवकास प्राप्त सैनिक र उनीहरुका परिवारका लागि खर्च हुने गरेको छ ।

‘कल्याणकारी योजना तथा आयमूलक कार्यमा लगानी गर्न पाइने व्यवस्था छ । तर, यस्तो लगानी प्रबर्द्घकको रुपमा गर्न पाइन्न’, सहायक रथी पाण्डे भन्छन्, ‘सेनालाई आवश्यक पर्ने विविध सामग्रीको आपूर्ति, उत्पादन र सञ्चयमा पनि कोषको रकम खर्च हुन्छ ।’

उनका अनुसार, संयुक्त राष्ट्र संघ अन्तरगतको शान्ति सेनामा जाँदा आवश्यक सामग्री खरिदमा पनि कोषको रकम प्रयोग हुँदै आएको छ ।

जोखिममा रहेको निक्षेप घट्दो

कोष अन्तरगत जोखिममा रहेको निक्षेप रकम पनि उल्लेख्य रुपमा घटेको कोषका निर्देशक केसी बताउँछन् । उनका अनुसार, आर्थिक वर्ष २०६६/२०६७ मा ८४ करोड ५१ लाख निक्षेप रकम जोखिममा रहेकोमा अहिले घटेर ५ करोड २ लाख ६६ हजारमा पुगेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा २७ करोड ३० लाख रुपैयाँ जोखिममा थियो । ‘जोखिमको न्यूनिकरण गर्न जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर वित्तिय जोखिम कम गर्ने नीति अवलम्बन गरिएकाले निक्षेप धेरै हदसम्म सुरक्षित रहेको हो’, केसी भन्छन्, ‘समस्याग्रस्त बैंकहरुबाट कोषको निक्षेप असूली गर्ने कार्य प्रभावकारी बनाउन अचल सम्पत्ति कोषको स्वीकृति बेगर बेचविखन गर्न नपाउने गरी रोक्का राख्ने कानूनी प्रक्रिया पनि अबलम्बन गरिएको छ ।’

उनका अनुसार, नेपाल राष्ट्र बैंकबाट प्राप्त पछिल्लो वित्तिय सूचनाका आधारमा बैंक तथा वित्तिय संस्थाहरुको पुनः वर्गीकरण गरेर विदेशी मुद्रा सटही प्रिमियममा समेत बैंकबीच खुला प्रतिष्पर्धा गराइने गरिएको छ । हाल सेनाले ‘ख’ र ‘ग’ वर्गाका विकास बैंक र वित्त कम्पनीलाई निक्षेप उपलब्ध गराएको छैन ।

‘विभिन्न वाणिज्य बैंकलाई निक्षेप उपलब्ध गराउँदा सम्बन्धित बैंकको पूँजी पर्याप्तता, कर्जा तथा लगानीको गुणस्तर स्थिति, व्यवस्था, सञ्चालन नतिजा, तरलता र बजार संवेदनशीलताका स्थितिलाई अध्ययन गर्ने गर्छौं’, उनले भने, ‘अध्ययनको आधारमा प्राथमिकता वर्गीकरण गरेर अधिकतम निक्षेप सीमा तोकेर कोषको रकम निक्षेप उपलब्ध गराउने गरिएको छ ।’

५ क्षेत्रमा कल्याणकारी कार्य

सैनिक कोषले ४ वटा क्षेत्रमा कल्याणकारी कार्य सञ्चालन गरिरहेको छ । प्रवक्ता पाण्डेका अनुसार स्वास्थ्य, शिक्षा, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा कोषको गतिविधि केन्द्रीत छ ।

कोषबाट वहालवाला सैनिक परिवार तथा अवकाश प्राप्त सैनिक र परिवारका लागि २०३४ सालबाटै निःशुल्क स्वास्थ्य उपचार सेवा दिइँदैछ । जसअनुसार वीरेन्द्र सैनिक अस्पतालमा आर्थिक वर्ष ०७५/०७६ को असारसम्ममा करिब ४ लाख जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरिसकेको जनाइएको छ । अस्पतालमा गैरसैनिक व्यक्तिको पनि उपचार हुँदै आएको छ ।

वहालवाला तथा अवकाश प्राप्त सैनिकको श्रीमान/श्रीमतीका लागि सैनिक अस्पतालमा उपचार हुन नसक्ने गम्भिर प्रकृतिको रोग लागे प्रति व्यक्ति ५ लाख (श्रीमान र श्रीमतीका लागि १० लाख) बराबरको स्वास्थ्य उपचार सुविधासहित स्वास्थ्य विमा कार्यक्रम पनि सञ्चालित छ ।

शिक्षातर्फ कोषमार्फत सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सञ्चालित छ । यो विद्यालय २०३५ सालदेखि मकवानपुरको भिमदेफीमा सुपिङ बहुमुखी क्याम्पसको नामबाट सञ्चालित थियो । पछि भक्तपुरमा स्थानान्तरण भएको हो । कोषले महाविद्यालयको सुविधालाई देशव्यापी रुपमा क्रमशः विस्तार गर्दै लाने योजना बनाएको छ ।

‘पोखरा, धरान, सुर्खेत, धनगढी र चितवनमा पनि सैनिक आवासिय महाविद्यालयहरु सञ्चालन भइरहेको छन्’, सहायक रथी केसी भन्छन्, ‘कोषबाट सञ्चालित विद्यालय/महाविद्यालय सबै प्रदेशसम्म लाने नीति अनुसार यो वर्ष प्रदेश २ मा समेत सैनिक विद्यालय निर्माण कार्य भइरहेको छ ।’

सैनिक विद्यालयमा ४० प्रतिशतको संख्यामा गैरसैनिक व्यक्तिलाई भर्ना लिइने गरिएको छ ।

कोषबाट सञ्चालित नपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अवकाश प्राप्त तथा वहालवाला सैनिकका छोराछोरीले मेडिकल शिक्षा लिने अवसर पाइरहेका छन् ।

वि.सं. २०३२ सालमा यूएन शान्ति सेनामा गएका व्यक्तिको १ करोड ३२ लाख रुपैयाँ विउ पुँजीबाट कोषको स्थापना भएको थियो । अहिले यो बढेर मुलुककै ठूलो कल्याणकारी कोषको रुपमा विकास हुँदै गएको छ

नेपाल मेडिकल काउन्सिलबाट लिइएको लाइसेन्सिङ परीक्षणमा देशभरको औषत परीक्षाफल करिब ४० प्रतिशत रहने गरेकामा यो संस्थानको नतिजा शतप्रतिशत रहेको सैनिक अधिकृत बताउँछन् ।

सीप तथा स्वरोजगारको क्षेत्रमा अवकाश प्राप्त सैनिक र परिवारका लागि व्यवसायिक कृषि तथा पशुपालनको तालिम प्रदान गरेर स्वरोजगार बन्न सक्ने वातावरण निर्माण गरिएको बताइएको छ ।

यसका लागि लमजुङको वेसिशहर–२ मा नेपलाी सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको स्थापना गरिएको छ ।

‘त्यहाँ पिजेटीए र भिजेटीएका अतिरिक्त छोटो अवधिका व्यवसायिक तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरी २ भदौबाट कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ’, सहायक रथी केसी भन्छन् ।

छोटो अवधिका लागि कृषि तथा पशुपालन सम्बन्धी व्यवसायिक तालिमका लागि दुई जना वहालवाला र दुई जना सन्तती समेत गरी ४ जनालाई जापान समेत पठाउने गरिएको छ ।

सरकारबाट प्राप्त हुने निवृत्तिभरणका अतिरिक्त सैनिक कोषबाट पनि आर्थिक राहत प्रदान गरिँदै आएको छ । जसअनुसार करिब ८१ हजार भूतपूर्व सैनिक तथा आश्रित परिवारले कल्याकारी निवृत्तिभरण सुविधा लिइरहेको जनाइएको छ ।

कोषको इतिहास

वि.सं. २०३२ सालमा यूएन शान्ति सेनामा गएका व्यक्तिको १ करोड ३२ लाख रुपैयाँ विउ पुँजीबाट कोषको स्थापना भएको थियो । अहिले यो बढेर मुलुककै ठूलो कल्याणकारी कोषको रुपमा विकास हुँदै गएको छ भने यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १० लाख मानिस लाभान्विक हुने गरेको जंगी अड्डाको भनाइ छ ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार कोष सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ बमोजिम सञ्चालन हुन्छ । कोषको व्यवस्थापन प्रधानसेनापतिको अध्यक्षतामा रहने समितिले गर्ने प्रावधान छ । जसमा भूतपूर्व सैनिक अधिकृतसहित अर्थ र रक्षा मन्त्रालयका प्रतिनिधि पनि सदस्य रहन्छन् ।

हाल सेनाले ‘बहुजन हिताय, बहुजन सुखाय’लाई कोषको आदर्श वाक्य मानेको छ । सेनाले शान्त सेनामा भाग लिए वापत प्राप्त हुने रकमको निश्चित प्रतिशत रकम काटेर कोषमा जम्मा गर्ने गर्छ ।

‘बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयको शिक्षण शुल्क पनि कोषको आय स्रोत हो’, पाण्डे भन्छन्, ‘यसबाहेक सुनाचुरी इमल्सन प्लान्ट रिपूमर्दिनी अक्सिजन प्लान्ट लगायतका आय मुलक लगानीबाट प्राप्त रकम, विदेशी मुद्रा सटहरी प्रिमियम, मेडिकल सेवा उपलब्ध गराए वापत प्राप्त हुने रकम पनि कोषमा जम्मा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment