News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालसहित एसियाका विभिन्न देशमा जलवायु न्यायका लागि ४० भन्दा बढी शहरमा करिब १० हजार अभियन्ताले प्रदर्शन गरेका छन्।
१ मंसिर, काठमाडौं । जलवायु न्यायका लागि जलवायु अभियन्ता, अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप–३० अहिले ब्राजिलको बेलेममा जारी छ । उक्त सम्मेलनमा सामाजिक, वातावरणीय, आदिवासी र मानवअधिकारको सवाल पनि उठाउन सम्बन्धित देशहरूलाई जागरुक बनाउने उद्देश्यसहित जलवायु अभियन्ताहरूले शुक्रबार नेपालसहित एसियाका विभिन्न देशमा प्रदर्शन गरेका हुन् ।
एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टले कोप–३० को सम्मेलनको अवसरमा जलवायु न्यायका लागि एसियाभरका देशहरूमा एकसाथ प्रदर्शनको संयोजन गरेको हो।
एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टका संयोजक लिडी नेकपिलले जलवायु न्यायका लागि विश्वभरका अभियन्ताले एकैपटक प्रदर्शन गरी जलवायु परिवर्तनको असर कम गर्नुपर्ने, खाद्य सुरक्षा, र सार्वजनिक स्वास्थ्य जस्ता साझा मुद्दाहरूलाई सम्बोधन गर्न सकारात्मक दबाब सिर्जना गरिएको बताए ।
नेपालमा, श्रमिक, ग्रामीण समुदाय र जलवायु न्यायका पक्षधरहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूले प्रदर्शनमा सहभागीता जनाएका थिए । उनीहरूले पग्लिरहेको हिमनदी, अनियमित मनसुन, बाढी र खेतीमा परेको प्रभाव कम गर्दै जलवायु वित्त पाउनुपर्ने माग राखेका छन् ।
प्रदर्शनमा सहभागी नेपाल ट्रेड युनियन महासंघले जलवायु परिवर्तनबाट प्रभावित नेपाली श्रमिक, महिला, सीमान्कृत वर्गलाई उर्जा नविकरण, रोजगारीको विकल्पको व्यवस्था गरेर सुरक्षित जीविकोपार्जन, उचित तालिम र बलियो सामाजिक सुरक्षा दिनुपर्ने जनाएको छ ।
ग्रामीण पुनर्निर्माण नेपालका बौद्धिक व्यवस्थापक निक्की श्रेष्ठले जलवायुको प्रभावले खेतीपाती किराको प्रकोप बढेको, सिंचाई तथा खानेपानीका स्रोत सुक्दा समस्यामा परेकोले स्थानीयको जीवनशैलीमा परेको प्रतिकुल असर कम गर्नुपर्नेमा जोड दिए ।
विकसित देशहरूले धेरै कार्बन उत्सर्जन गर्दा हजारौं मानिसहरूले जलवायु सङ्कटका प्रभावहरूसँग सङ्घर्ष गर्नुपरेकोले कार्वन उत्सर्जन घटाउनुपर्ने माग राखी विश्वभरका प्रमुख शहरमा स्थानीय समुदायले प्रदर्शन गरे । उनीहरूले जलवायु वित्तको वितरणमा पारदर्शीताको माग समेत राखेका छन् ।
विश्वका १६ देशमा १०० भन्दा बढी र्याली, प्रदर्शन र कार्यक्रमहरू आयोजना गरिएको छ । जलवायु परिवर्तनमा नीतिगत असमानता, वातावरणीय क्षतिमा मौलाइरहेको दण्डहीनताको निन्दा गर्नुपर्ने प्लेकार्डसहित अभियन्ताहरू प्रदर्शनमा सहभागी भएका थिए ।
कोप-३० मा सहभागी राष्ट्रहरूले कार्बन उत्सर्जन कटौती गर्ने प्रतिबद्धता जनाउनुपर्ने र कार्बन उत्सर्जन नगर्ने देशलाई जलवायु वित्त प्रदान गर्नुपर्ने मुख्य माग अभियन्ताहरूको छ । त्यसका लागि जलवायु वित्त कोष सञ्चालन गर्न र भूमिगत इन्धनको प्रयोग घटाउनुपर्ने माग गरियो । एसियाका फिलिपिन्स, भारत, बङ्गलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी शहरमा गरी करिब १० हजार अभियन्ताहरूले प्रदर्शनमा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4