Comments Add Comment

साताका किताब : पूर्वराजादेखि  मदनमणि दीक्षितसम्म

दशैं नजिकिँदै जाँदा बजारमा उपभोग्य बस्तुको उत्पादनजस्तै नेपाली पुस्तकको पनि बजार बढ्ने गर्छ । यो साता पनि बजारमा दर्जन बढी पुस्तकहरु बजारमा आएका छन् ।

दशैंको मौका छोपेर प्रकाशकहरु नयाँ शैली र शिल्पका पुस्तक छाप्नेदेखि पुराना पाण्डुलिपि एवं अप्राप्य  पुस्तकहरु उधिन्नतिर लाग्छन् । प्रवासबाट दशैं  मान्न नेपाल आउनेहरु नै यसका प्रमुख ग्राहक हुन् । यद्यपि लामो छुट्टी रुचाउनेहरुका लागि पनि पुस्तक सर्वपि्रय मानिन्छ । यही कारण दसैं सुरु हुनु धेरैअघिदेखि नै पुस्तक प्रकाशन तीब्र बन्ने गरेको छ । भदौको प्रारम्भदेखि पुस्तक गुल्जार बन्दै जान्छ ।

सन्देश सङ्ग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहका कारण मात्र यो सन्देश संग्रहको चर्चा भएको होइन, यसको मूल्यले पनि यो सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । पुस्तकमा प्रजातान्त्रिक र जनताद्वारा निर्वाचित संसद भङ्ग गरेर शक्ति आफ्नो हातमा लिएका बेला दिएको भाषणदेखि सञ्चारमाध्यममा आएका उनका भनाइहरुलाई पुस्तकमा समेटिएको  छ ।

आफूले माओवादीलगायतका समस्या समाधान गर्न तत्कालीन लोकतान्त्रिक दललाई तीन वर्षको समय माग गरेको र त्यसको बदलामा आफूले सम्पूर्ण शक्ति गुमाउनुपरेको गुनासो पुस्तकमा गरिएको छ । पुस्तक राजनीतिक उद्देश्यले निकालेको प्रष्ट हुन्छ । पुस्तक सर्वसाधारणले पढ्न नसक्ने गरि ५ हजार ५ सय रुपैंया राखिएको छ ।

ऋग्वैदिक नारी चरित्र

नेपाली पाठकमाझ मदनमणि दीक्षित वैदिककालीन मानव समाजका ज्ञाताका रुपमा परिचित छन् । उनको क्लासिक उपन्यास ‘माधवी’ यसको उच्चतम उदाहरण हो । माधवी उपन्यास लेख्ने क्रममा उनले कति धेरै अध्ययन गरेका थिए भन्ने कुरा चाहीँ ऋग्वैदिककालीक नारीहरुको बारेमा लेखिएको यो पुस्तकले प्रष्ट पार्छ ।

पुस्तकमा दुर्गा, काली, लक्ष्मी, गौरी, अत्रि, अनसूया, उर्वशी, लोपामुद्रा, याक्षिणी, ताटका, सुदेष्णा, यमी जस्ता दर्जनौं महिलाहरुको जन्मकाल, उनीहरुले गरेका पौरखका कारण जन्मिएका मिथकहरुको वर्णन छ । पूर्वीय दर्शनमा रुची हुनेहरुका लागि यो पुस्तक पठनीय मानिन्छ ।

घनश्याम ढकालको संस्मरण

कुसुम शर्माद्वारा लिखित परिचयको सन्दर्भमा ‘घनश्याम ढकाल’ एउटा लेखकले अर्को लेखकका विषयमा कुन तहसम्म अध्ययन गर्न सक्छ भन्ने उदाहरण बनेको छ पुस्तक परिचयको सन्दर्भमा घनश्याम ढकाल । समालोचक कुसुम शर्माले ढकालका व्यक्तित्व र कृतित्वको अध्ययन गरेर यो पुस्तक तयार पारेका हुन् ।

ढकाल मार्क्सवादी समालोचना र भौतिकवादी चिन्तक थिए । उनले सरुभक्तको उपन्यास ‘पागलबस्तीमाथि गरेको समालोचनालाई प्रगतिवादी समालोचनाको उत्कृष्ट नमूना मानिन्छ । ०६८ साल फागुनमा ढकालको निधन भएपछि अर्का समालोचक कुसुम शर्माले यो पुस्तक तयार पारेका हुन् । पुस्तकमा ढकालका सबैजसो सन्दर्भहरु उल्लेख गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रध्यापनरत शर्माका ‘नेपाली भाषामा टर्नरको योगदान, कवि इच्छुकका कविताका सन्दर्भमा लहराका फूलहरु, समयका छर्राहरु, आगाका यात्रा, संघर्षशील युवाका डायरी, अनवरत यात्रा, कोम्रोङ्खाला बाँचे भेट होला, पारिजातका कविताको अध्ययन जस्ता झण्डै दुई दर्जन पस्तक प्रकाशित छन् ।

अन्योल

माओवादीको सशस्त्र विद्रोहदेखि मधेस आन्दोलनसम्मको खालखण्डका बीचमा सामान्य मानिसले भागेका अप्ठ्याराहरुको वर्णन गरिएको पुस्तक हो । उपन्यासमार्फत दुर्गाप्रसाद गर्तौला निर्दोष र निरीह जनताहरुको कथा भन्ने प्रयास गरेका छन् ।

पुस्तकले पूर्वी तराईको जनजीवनको वर्णन गर्छ र यो तन्किदै सिक्किमसम्म पुगेको छ । पुस्तक पढ्दै जाँदा लेखकले सत्य घटनाहरुलाई औपन्यासिक रुप दिने प्रयास गरेको भान हुन्छ ।

पुस्तकले समाजिक र राजनीतिक अगुवाका कारण देशले जे जस्तो घटना भोगे पनि देश बनाउनुको बिकल्प नभएको सन्देश दिएको छ ।

बाटो

नेपाली डायस्पोरिक साहित्य कस्तो हुनुपर्छ भन्ने बहस बेला बेलामा हुने गरेको छ । यही बहसलाई सजिलो बनाउन धर्म सापकोटा ‘राजुले बाटो कथा सङ्ग्रह बजारमा ल्याएका छन् । १२ वर्षदेखि बेलायतमा बसोबास गरिरहेका सापकोटाले बाटोमा राखिएका कथाहरुले डायस्पोरिक साहित्य नमूना दिने आँकलन गरेका छन् ।

पुस्तकमा १५ वटा कथाहरु छन् । कथाहरुले विदेशी माटोमा नेपालीहरुको सङ्घर्ष, सपना र नेपालको समृद्दिको चिन्तन गर्छन् । धरैजसो कथाहरुले विदेश आउनुअघि धेरै कुरा सोच्नुपर्ने अवस्था बनाइदिन्छ ।

एक दशकअघिदेखि नै साहित्यमा कलम चलाइरहेका सापकोटाका लघुकथा सङ्ग्रह र बालकथा सङ्ग्रह पनि प्रकाशित छन् ।

यात्राका पाइला

पर्यटन व्यवसायी राजेन्द्रमान डंगोलको पहिलो कृति हो-यात्राका पाइलाहरु । पुस्तकमा सादा यात्रा वर्णन मात्र होइन, पर्यटकीय गन्तब्यका भाषा, साहित्य, संस्कृति, भूगोल र घुम्न जाँदा खर्च गर्ने मूल्यसमेत उल्लेख छ । यो पुस्तक नेपालको यात्रा गर्न चाहानेहरुका लागि गाइड बुक जस्तै हो ।

नियात्रा साहित्यमा गन्तब्य शैली पनि मिसाएका कारण यो पुस्तक साहित्यका पुस्तकहरुको भिडमा फरक देखिन्छ ।हिमाली यात्रामा विशेष रुची राख्ने लेखक डंगोल त्रिशुली साहित्य प्रतिष्ठानसँग सम्बन्धित छन् ।

लालित्य

कविशिरोमणिको पदले विभूषित लेखनाथ पौडेलले विभिन्न समयमा लेखेको कविता कृतिहरुको एकमुष्ठ संकलन हो-लालित्य । पहिलो पल्ट २०१० सालमा छापिएको यो पुस्तक बजारमा अप्राप्य भएपछि मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । यसको पहिलो भागमा ६१ र दोस्रो भागमा ३८ वटा कविता सङ्कलन छन् ।

यी कविता पढिरहँदा नेपाली कविता साहित्यको उत्कर्ष रुप अनुभव हुन्छ । पौडेलको जीवनका महत्वपूर्ण समयमा रचना भएका यी कविता पढ्दा उनमा मानवता र प्रकृति प्रेममा ठूलो रुचि थियो भन्ने महसुस हुन्छ । सरल शैलीका कारण यो पुस्तक अङ्ग्रेजी स्कुलमा पढिरहेका बालबालिकालाई नेपाली भाषा समृद्ध बनाउन पनि काम लाग्छ ।

किस्ता किस्तामा जिन्दगी

आरबी निश्चलको पाँचाैं कविता सङ्ग्रह हो, किस्ता किस्तामा जिन्दगी । यसअघि उनले मौन फूल,  आँशु खस्दै गर्छ, पैताला पुकार कविता सङ्ग्रह र सपनाफूल नामक खण्डकाब्य प्रकाशन गरिसकेका छन् ।

उनका कवितामा प्रकृति प्रेम र विद्रोहको झलक एक साथ पाइन्छ । यो शैली किस्ता किस्तामा जिन्दगी सङ्ग्रहमा पनि निरन्तरता दिएका छन् । पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा दार्शनिक चिन्तनका १२ कविता राखिएका छन् । दोस्रो खण्डमा कवि र कवितासम्बन्धी १२ कविता सङ्ग्रहित छन् । तेस्रोमा भने स्वतन्त्रतालाई केन्द्रमा राखेर  १४ कविता राखिएका छन् । सबै कविताले माझिएको भाषा पाएको छ । यो पुस्तकले उच्च बौद्धिक पाठकको माग गर्छ ।

प्रेम बस्ती

श्वेता मैनालीको प्रेमिल कविताहरुको संग्रह हो प्रेम बस्ती । प्रेम बस्तीमा सादा प्रेमका कुरा मात्र छैनन्, त्यसमा प्रेमका सबै आयामको चर्चा गरिएको छ । सङ्ग्रहमा ३३ वटा कविता रााखिएका   छन् । अस्ट्रेलियामा बसोबास गर्ने स्वेताले आफ्नो पुस्तक राजधानी  सिड्नीमा विमोचन गरेकी थिइन् । पुस्तक नेपाली बजारमा पनि उपलब्ध छ ।

यो पनि पढ्नुहोस साताका ६ पुस्तक : हाटा जाने रातदेखि दाइबुचुसम्म
यो पनि पढ्नुहोस साताका ४ पुस्तक : रवीन्द्र समीरदेखि शारदा शर्मासम्म

यो पनि पढ्नुहोस यो साताका किताब : ‘मीटू’देखि ‘सिड्नी सपना’सम्म यो पनि पढ्नुहोस यो साताका ५ पुस्तक

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment