Comments Add Comment

भ्वाइसले पूरा गरिदियो चर्चित हुने सपना

२४ साउन, काठमाडौं । गाउन त उनी पहिले पनि गाउँथे । सुर–ताल उही हो, स्वर उही हो । मान्छे उही । तर हिजो र आजको समय उस्तो रहेन । हिजोभन्दा आज फरक भइदियो सिडी विजय अधिकारीको जीवनमा ।

हिजो गुमनाम थिए, आज सबैमाझ चिनिएका छन् । सिडी विजय अधिकारी भन्नासाथ धेरैले उत्सुकतापूर्वक सोध्छन्, ‘ए, भ्वाइस अफ नेपालका विजेता ।’

त्यसपछि सुरु हुन्छ उनको गुणगान र चर्चा । उनको स्वर कस्तो छ, प्रस्तुति कस्तो छ, गेटअप कस्तो छ । अनि सोधीखोजी हुन्छ, हिजो उनी कहाँ थिए, के गर्थे ?

जब कसैले सार्वजनिक चिनारी बनाउँछ, उनको जीवनप्रति स्वभाविक चासो बढ्छ । उनको विगत, संघर्ष र सफलताका कुरा खोतलिन्छ, जो घतलाग्दा पनि हुन सक्छन् । पोखरादेखि दुबई हुँदै काठमाडौंसम्म फन्को मारिरहँदा सिडी विजय अधिकारीको जीवन के–कस्ता मोडबाट गुज्रिए त ?

एक सांगितिक प्रतियोगिताबाट उनको जीवन कसरी बदलियो ? आफ्नै दुनियाँमा रमाइरहेको ठिटो रातारात सेलिब्रेटी बनेपछिको अनुभव कस्तो रह्यो ? कथा रमाइलो छ ।

भ्वाइस अफ नेपालमा प्रवेश

सांगितिक क्षेत्रका प्रतिभा खोज्ने टेलिभिजन रियलिटी शो ‘नेपाल आइडल’को पहिलो संस्करण पूरा भएसँगै त्यसका विजेता, उप–विजेता एवं सहभागीहरुको चर्चा चुलियो ।

उनीहरु एकाएक सेलिब्रेटी बने, चोक, गल्लीमा चर्चा चल्यो । यो तामझाम देखेपछि सिडी विजय अधिकारीलाई डाहा भयो । पोखरामा बसेर गीत/संगीतमै लीन भइरहेका उनलाई लाग्यो, ‘आहा ! म पनि गएको भए त हिट हुनेरहेछु ।’

हुन त ‘नेपाल आइडल’मा सहभागी हुन साथीभाइले आग्रह गरेका पनि थिए । उनलाई जाँगर चलेन । किनकी एक हिसाबले उनी संगीतमा भिजिसकेका थिए । केही दिग्गज संगीतकर्मीसँग काम पनि गरिसकेका थिए । सांगितिक वृत्तमा आफ्नो चिनारी बनाउँदै थिए । त्यही कारण उनलाई दायाँबायाँ गर्न रहर जागेन ।

जसै नेपाल आइडलले एउटा तरंग पैदा गर्‍यो, उनी वेचैन भए । उनलाई लाग्यो, ‘अब दोस्रो मौका गुमाउनु हुन्न ।’ अर्थात सिजन–२ मा जसरी पनि भाग लिनुपर्छ ।

संयोग कस्तो भइदियो भने, ठीक त्यहीबेला अर्को रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ आउने खबर आयो । सिडीले सोचे, ‘नेपाल आइडल गएँ र जितेँ नै भने पनि दोस्रो सिजनको विजेता बन्छु । तर, भ्वाइसमा गएँ भने त पहिलो सिजनकै विजेता बन्नसक्छु ।’ उनी कीर्तिमानी विजेता बन्ने निर्क्योलमा पुगे ।

त्यसपछि सुरु भयो, भ्वाइस अफ नेपालको तयारी ।

जब प्रमोदको टीमबाट बाहिरिए

भ्वाइस अफ नेपालको तयारीसँगै उनले भोलि मलाई भोट गर्नुपछै है भन्न थालिसकेका थिए । कापीमा नाम टिपिसकेका थिए । सिडी विजय भन्छन्, ‘यदि म भोटिङ राउन्डसम्म पुगेँ भने भोट चाहिन्छ भनेर भोट माग्न थालिसकेको थिएँ ।’

सिजन सुरु भयो । अडिसन दिए । अडिसनबाट पास भएर उनी ब्लाइन्ड अडिसनसम्म पुगे । ब्लाइन्ड अडिसनमा दमदार प्रस्तुतिसँगै प्रमोद खरेलको टीममा परे ।

तर लामो समय प्रमोदको टीममा आफ्नो स्थान बनाउन सकेनन् । ब्याटल राउन्डमै टीमबाट बाहिरिए । ब्याटलमा सिडी विजय र योगेन्द्र उपाध्यायको प्रतिस्पर्धा भएको थियो । योगेन्द्र सुरक्षित हुँदा सिडी आउट भए । तर अरु जजलाई स्टिल गरेर उनलाई आफ्नो टिममा ल्याउने अवसर हुन्थ्यो, दीप श्रेष्ठले त्यही गरे ।

त्यो बेलाको रमाइलो अनुभव छ उनीसँग । सिडी विजय भन्छन्, ‘प्रमोद सरले मलाई सुहाउने गीत दिनुभएको थियो । मलाई पनि राम्रो गाउँछु, योगेन्द्रजीलाई जित्छु भन्ने थियो । तर रिजल्टमा मलाई राम्रो गाएको भन्दै योगेद्रजीलाई रोज्नुभयो । मेरो ओभर कन्फिडेन्ट झण्डै हर्टफेलमा परिणत भएको ।’

नहोस् पनि किन ? विजेता बन्छु भनेर आएका उनी सुरुवाती चरणबाटै बाहिरिँदै थिए । एकाएक कोच दीपले ‘स्टिल’ गरेपछि पाएको खुसी उनी शब्दमा बयान गर्नै सक्दैनन् । त्यसबेला उनले भनेका थिए, ‘ दीप सर, तपाईले आज मरेको मान्छेलाई बचाउनुभयो । म तपाईंलाई कहिल्यै निराश बनाउने छैन ।’

सिडी विजयले दीपलाई निराश बनाएनन् पनि । उनी पहिलो ‘द भ्वाइस अफ नेपाल’ बने । त्यसबेला कोच प्रमोदले अंकमाल गर्दै भने, ‘आखिर टीम प्रमोदको जित भयो । खुसी छु म ।’ प्रमोदले पनि उनीप्रति निकै माया देखाए । सिडी विजय भन्छन्, ‘त्यो प्रतियोगितामा उहाँले दुबै जनालाई सुरक्षित गर्न योजना बनाउनु भएको रहेछ । त्यो कुरा पछि थाहा पाएँ ।’

सिडी विजयले चर्चित हुने सपना पूरा गरे । भन्छन्, ‘जब मेरो मोवाइलमा लगातार घण्टी बज्यो, सामाजिक सञ्जालमार्फत सन्देशहरु आए, फलोअर्स बढे । मेरो सपना पूरा भए झैं लाग्यो । यो सबै भ्वाइसको टाइटल जितेपछि नै भएको हो ।’

बदलियो जीवन

१२ वर्षको उमेरमा नै सांगितिक क्षेत्रमा जोडिएका थिए सिडी विजय । त्यसबेला उनले गीत कम्पोज गरेर रेकर्ड गराएका थिए । भ्वाइसमा जानुपूर्व धेरै गीत गाइसकेका थिए । अग्रजहरुसँग पनि काम गर्ने मौका पनि पाइसकेका थिए । बाहिरी दुनियाँमा नचिनिए पनि सांगितिक क्षेत्रमा व्यक्तिहरुमाझ परिचित थिए ।

द भ्वाइसले दर्शकमाझ चिनाएको छ । जिम्मेवार पनि बनाएको छ । सिडी विजय भन्छन्, ‘पहिला के काम गर्छु भन्नेमा धेरैको चासो नहुनसक्थ्यो । अब मैले के गर्छु भन्ने सबैले हेरिरहनुभएको छ । यसले कामप्रति थप जिम्मेवार बनाएको छ ।’

अवसरहरु पनि जुराएको छ भन्छन् उनी । ‘भ्वाइस अगाडि थोरथोरै काम गर्दै आएको थिएँ । अहिले धेरैले काम गर्न अफर गर्नुभएको छ । सुरक्षित भएको महशुस गर्दैछु ।’

स्कुलमा फुच्चे नारायणगोपाल

सिडी विजय अधिकारीले गायन प्रतियोगिताहरुमा प्रभाव जमाएको यो पहिलो पटक भने होइन । सन् २०१० सालमा विग एफएमले पोखरामा ‘विग आइकन’ आयोजना गर्‍यो । प्रतियोगितामा विजय उपविजेता बनेका थिए उनी । यो प्रतियोगिता करिअरको टर्निङ प्वाइन्ट मान्छन् उनी । भन्छन्, ‘गीत/संगीतमा सानैदेखि रुचि थियो । त्यो प्रतियोगितामा भाग लिएपछि हौसला बढ्यो ।’

२०१० मै भएको स्कुलस्तरीय प्रतियोगिता जिते । ७ कक्षामा पढ्दै गर्दा आफू अध्ययनरत मदरल्याण्ड इंगलिस स्कुलबाट दुई वटा एल्बममा स्वर दिने अवसर पाएका थिए । उनी सम्झिन्छन्, ‘बाल दिवसको दिन स्कुलमा गायन प्रतियोगिता भएको थियो । त्यसमा म दोस्रो भएँ । त्यसैले गीत आउने अवसर पाएँ ।’

त्यो गीत उनी आफैंले कम्पोज गरेका थिए, जतिबेला उनको उमेर १२ वर्ष मात्र थियो । ‘म स्कुलमा फुच्चे नारायण गोपालको नामबाट परिचित थिएँ । त्यसैले नेपाली पढाउने केशु मिसले गीत लेखेर कम्पोज गर्न दिनुभयो’, सिडी भन्छन्, ‘मैले ५ मिनेट घोरिएर एउटा लय बनाए । पछि सबैले मन पराइदिनुभयो ।’

गीत गाउन दुबईतिर

‘विग आइकन’मा उपविजेता भएपछि पोखरामा उनको नाम पनि चिनिन थालेको थियो । तर काठमाडौंसम्म आएर संघर्ष गर्ने आट गरेनन् । स्टेज कार्यक्रम र रेष्टुरेन्टमा गीत गाएर आफ्नो संगितिक यात्रालाई निरन्तरता दिइरहे ।

स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै गर्दा दुबई जाने अफर आयो । एउटा स्टेज कार्यक्रम गर्ने र रेष्टुरेन्टमा गीत गाउन पाउने भएपछि दुबई जान तयार भए । ६ महिना त्यसरी नै बिताए । काम विशेषले काठमाडौं आएको बेला संगीतकार प्रेम सागरसँग भेट भयो, जोसँग पोखरा बस्दा नै चिनजान थियो । उनले गीत गाउन अफर गरे । सिडी विजयले ४ वटा गीत रेकर्ड गराए । अनि दुबई फर्किए ।

उनको ‘नशा पिउने बानी भयो’ गीत चर्चित भयो । धेरैले उनलाई गायक प्रमोद खरेल, शिव परियार, स्वरुपराज आचार्यसँग तुलना गरे । सिडी विजयको माग हुन थाल्यो तर उनी दुबईमा थिए । भन्छन्, ‘त्यो बेला पनि मलाई काम गर्न थुप्रै अफर आएको थियो तर टाढा भएकाले निकै तड्पिएर दिनहरु बिताएँ ।’

साढे २ वर्ष त्यतै बिताएपछि नेपाल फर्किने निर्णयमा पुगे । त्यसबेला उनलाई डर थियो, ‘मलाई बिर्सिए कि !’ त्यही डरले दुबईको भिसा थप गरेर आएका थिए ।

यद्यपि फर्किएनन् । नेपाल आएको दुई महिनापछि नेपाली भाषी भुटानी राकेश काफ्लेले एक एल्बममा काम गर्ने अवसर दिए । त्यो गीतले उनलाई फेरि दर्शकमाझ पुग्ने अवसर दियो । उनी भन्छन्, ‘मैले राकेशजीलाई सम्झिनैपर्छ । उहाँले सँगै काम गरौं भनेपछि पुनः मेरो चर्चा सुरु भयो ।’

अहिले सिडी विजयको आवाजमा रेकर्ड भएका गीतहरुको संख्या साढे २ सय नाघिसकेको छ । सय हाराहारी गीत कम्पोज गरेका छन् । तर चलचित्रको गीत गाउने रहर छ । भन्छन्, ‘कसैले मौका दिनुभयो भने यो अवसर गुमाउँदिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment