Comments Add Comment

पोलिग्राफ जाँचः ५० प्रतिशत अभियुक्तको बयान झुठो

एक सय ७७ प्रहरीकै पोलिग्राफ परीक्षण

१७ साउन, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि तत्कालीन अनुसन्धान अधिकृतको पोलिग्राफ परीक्षण गरिएको थियो ।

हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरी प्रधान कार्यालयले बनाएको समितिले अनुसन्धानमा संलग्न अधिकृतले दिएको बयानको सत्यता जाँच्न पोलिग्राफ परीक्षण गरेको हो ।

निर्मलाको सुरुवाल धोएको भिडियो भाइरल भएपछि प्रहरी जवान चाँदनी साउदको पनि पोलिग्राफ परीक्षण भएको थियो । परीक्षणमा उनले दिएको बयान झुटो नभएको देखिएको थियो ।

गतवर्ष ४ भदौमा बबरमहलस्थित घरभित्रै पूर्वराजदूत केशवराज झाको छुरी हानी हत्या भयो । महानगरीय अपराध अनुसन्धान महाशाखाले परिवारका सदस्यसहित सुरक्षागार्ड ४८ वर्षीय कान्छाराम तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई अनुसन्धानको दायरामा ल्यायो ।

बयानमाथि शंका लागेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा लगेर गरिएको पोलिग्राफ परीक्षणमा कान्छारामको बयानमा कैफियत देखियो । मालीले छुटकरा पाए । सुरक्षागार्ड तामाङ अझै प्रहरीको शंकाकै घेरामा छन् ।

यसरी पोलिग्राफ परीक्षणबाट प्रहरीलाई अपराध अनुसन्धानको दायरा साँघुरो बनाउन सहज बन्दै गएको छ ।

अख्तियारलाई सबैभन्दा बढी सहयोगी

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि पनि पोलिग्राफ परीक्षण सहयोगी बन्दै गएको तथ्याङ्कले देखाउँछ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भन्छन्, ‘आर्थिक वर्ष २०७५/०७६ मा घुस लिने ३२ जनाको पोलिग्राफ परीक्षणका लागि पठाइएको थियो ।’

तीमध्ये २४ जनाले झुटो बोलेको देखिएको थियो भने दुई जनाले मात्रै सत्य बालेको भेटिएको थियो । ‘तीन जनाले चाहिँ परीक्षण गर्नै मानेन्’, एसएसपी ज्ञवालीले अनलाइनखबरसँग भने ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला कानूनतः अभियुक्तको इच्छा विपरीत पोलिग्राफ परीक्षण गर्न नमिल्ने भएकाले राजी भए मात्र परीक्षण गरिने बताउँछन् ।

‘परीक्षण गराउन नमानेका व्यक्तिको हकमा आरोप पत्रमै परीक्षण गर्न नमानेको उल्लेख गर्छौं’, सह-सचिव कोइरालाले अनलाइनखबरसँग भने, ‘पोलिग्राफ परीक्षण हामीलाई धेरै सहयोगी साबित भएको छ ।’

अख्तियारमा मात्रै सम्भव नभएको अवस्थामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी लगेर पनि परीक्षण गरिने कोइरालाले बताए ।

देशभर १४ स्थानमा पोलिग्राफ मेसिन

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार अहिले देशभर २७ स्थानमा पोलिग्राफ परीक्षण हुन्छ । २२ माघ ०७० मा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निर्देशिका जारी गर्दै केन्द्रीय पोलिग्राफ परीक्षण शाखा स्थापना गरेका थिए ।

त्यसवेला अमेरिकामा १० जना प्रहरी अधिकृतले पोलिग्राफ परीक्षण सम्बन्धी तालिम लिएर पोलिग्राफ परीक्षण थालिएको थियो । विदेशबाट तालिम लिएर आएका अधिकृतलाई खटाएर विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो र लागूऔषध नियन्त्रण ब्युरोमा पोलिग्राफ परीक्षण थालिएको थियो ।

अहिले पनि वर्षेनि १० जना पोलिग्राफ सम्बन्धी तालिमका लागि अमेरिका जाने गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।

‘हाल ४० जना विशेषज्ञ तालिम प्राप्त पोलिग्राफ विज्ञ प्रहरीले देशभर १४ स्थानमा सेवा प्रवाह गरिरहेका छन्’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले अनलाइनखबरसँग भने, ‘प्रहरी नायब उपरीक्षकदेखि जुनियर प्रहरीसम्म पोलिग्राफ शाखामा कार्यरत् छन् ।’
पोखरेलका अनुसार अहिले हरेक प्रदेशमा पोलिग्राफ परीक्षण गर्न सकिने उपकरण राखिएका छन् ।

५० प्रतिशतले झुट बोले

महानगरीय प्रहरी कार्यालयका अनुसार घुस लिएको घटनापछि चोरी सम्बन्धी घटनामा सबैभन्दा बढी १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । जबरजस्तीकरणी कसूरमा पनि १५ जनाको पोलिग्राफ परीक्षण भए मध्ये ५ जनाले झुटो बोलेको भेटिएको थियो ।

साइबार अपराध मुद्दामा दुई जनाको परीक्षण भएकोमा दुवैले गलत बयान दिएको नतिजा आएको थियो ।

आर्थिक वर्ष ०७०/७१ देखि हालसम्मको अवधिमा प्रहरीले २ हजार ८ सय २२ जनाको पोलिग्राफ परीक्षण गरिसकेको छ । ती मध्ये करिब ५० प्रतिशतले झुट बोलेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

प्रवक्ता पोखरेल भन्छन्, ‘अहिलेसम्म भएको परीक्षणको रेकर्ड अनुसार एक हजार ३ सय ९९ जनाले झुट बोलेको देखिएको छ ।’ तीमध्ये १ सय ८८ वटा घटनामा राय दिन नसकिने नतिजा आएको थियो ।

परीक्षणमा १ हजार १ सय ५४ जनाले सत्य बोलेको भेटिएको पोखरेल बताउँछन् । हालसम्म ४६ जनाले परीक्षणका लागि इन्कार गरेका छन् ।

पोलिग्राफ परीक्षण गर्न नमान्नेमा तत्कालीन माओवादी केन्द्रका सांसद ल्हारक्याल लामा, प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवाली, मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनायका तत्कालीन शाखा अधिकृत वासुदेव गजुरेललगायत छन् ।

अनुसन्धानका लागि सहयोगी माध्यम हुने अपेक्षासहित ल्याइएको पोलिग्राफ केही प्रहरी अधिकृतका लागि भने महँगो साबित भएको छ । तथ्याङ्कअनुसार १ सय ७७ जना प्रहरी कर्मचारीकै पोलिग्राफ परीक्षण गरिएको छ ।

के हो पोलिग्राफ ?

पोलिग्राफलाई झुट पत्ता लगाउने विधि पनि भनिन्छ । पोलिग्राफ परीक्षण गर्ने उपकरणले अभियुक्तको रक्तचाप, मुटुको धड्कन, श्यासप्रश्वास र हृदयको गतिलगायतको विवरण विश्लेषण गरेर नतिजा दिने गर्छ ।

व्यक्तिलाई सेन्सरको माध्यमबाट मेसिनसँग जोडेर कम्प्युटरमा जोडेपछि यो विवरण प्राप्त हुन्छ । यसक्रममा पोलिग्राफ परीक्षकले घटनासँग सम्बन्धित प्रश्न सोध्छन् र शरीरमा उत्पन्न हुने तरंगको आधारमा सम्बन्धित व्यक्तिको झुट समातिन्छ ।

पोलिग्राफको परीक्षण दक्ष एवं तालिम प्राप्त परीक्षकद्वारा गराइए सत्य र झुटो बयान सजिलै पत्ता लाग्ने विज्ञ बताउँछन् । पोलिग्राफ परीक्षक तालिम प्राप्त नभएमा यसको नतिजामा फरक पर्न सक्ने सम्भावना पनि हुन्छ ।

यो परीक्षणको नतिजा पूर्णरुपमा मेसिनमा भर पर्ने भएकाले यसलाई सतप्रतिशत सत्य मानिँदैन । यद्यपि, अपराध अनुसन्धानका लागि यो विधि निकै सहयोगी साबित भएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment