+
+

प्लटिङ विवादपछि सेनाको नजर ‘क्यान्टोनमेन्ट’मा

गौरव पोखरेल गौरव पोखरेल
२०७६ साउन २५ गते ११:२९
Photo Credit : Mikel Dunham / तत्कालीन माओवादी लडाकू बसेको एक क्यान्टोनमेन्ट

२५ साउन, काठमाडौं । जग्गा प्लटिङ र बिक्रीमा संलग्न भएको भन्दै नेपाली सेनाको आलोचना भएपछि अवतरणको सहज बाटो खोज्न थालिएको छ । सेनासँग भक्तपुर र कीर्तिपुरमा रहेको ३ सय ४८ रोपनी जग्गा सदुपयोगका लागि मध्यमार्गी बाटो खोज्न जंगी अड्डाले छलफल थालेको हो ।

सैनिक स्रोतका अनुसार ती स्थानमा सैनिक ‘क्यान्टोनमेन्ट’ विकास गर्ने गरी छलफल भइरहेको छ । कीर्तिपुरमा सेनाको दुई सय २६ रोपनी र भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी जग्गा छ ।

यसअघि सुनसरीको इटहरीमा ११ सय ८, पोखराको फूलबारीमा ७२, राधाकृष्ण टोलमा एक सय ५१ र चितवनमा दुई सय ८९ रोपनी घडेरी सेनासँग थियो । तर, प्लटिङ गरेर सेनाका बहालवाला, अवकाश प्राप्त र विरगती प्राप्त सैनिकका परिवारलाई बिक्री गरिसकेको छ । रुक्माङ्गत कटवाल प्रधानसेनापति हुँदा यी जग्गा खरिद गरिएका थिए ।

लामो समयदेखि बेवारिसे सरह बनाइएको जग्गालाई प्रयोगमा ल्याउन प्रधानसेनापति पूर्णचन्द्र थापाले राय, सुझाव संकलन थालेका हुन् । थापाले यसबारे बहालवालासहित पूर्वसैनिक अधिकृतसँग पनि छलफल गरेको स्रोत बताउँछ । छलफलबाट प्राप्त सुझावअनुसार ती क्षेत्रमा सेनाको एकीकृत वस्ती निर्माण गर्ने तयारी थालिएको बताइएको छ ।

उपत्यकामा मात्र होइन, तराईमा पनि सोही अवधारणाअनुसार सैन्य वस्ती राख्न सकिने विषयमा छलफल भइरहेको छ । तर, तराईमा सेनासँग खाली जग्गा छैन ।

प्रधानसेनापति थापाले तीनवर्षे कार्यकालका लागि निर्धारण गरेको ७ लक्ष्य र १५१ कार्यमध्ये कल्याणकारी कोषको सरल र सहज पहुँच लक्ष्यअन्तरगत पनि तराईमा वस्ती विकासको योजना राखिएको बताइएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे पनि लामो समयदेखि उपयोग हुन नसकेको जग्गाको उपयोगिताको सम्बन्धमा सकलदर्जासँग राय सुझाव माग्ने काम भइरहेको बताउँछन् ।  ‘विकसित घडेरी वितरण गर्ने वा बिक्री गरेर सहुलियत आवास कर्जा वितरणको लागि लगानी गर्ने विकल्पहरुबारे अध्ययन भइरहेको छ’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने ।

के हो क्यान्टोनमेन्ट ?

तत्कालीन विद्रोही माओवादीले दश वर्षसम्म जनयुद्ध गरेर शान्ति प्रक्रियाको बाटो रोजेेसँगै चर्चामा रहेको शब्द हो, क्यानटोन्मेन्ट । संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको मध्यस्थतामा माओवादी लडाकूको सुरक्षित आश्रयस्थलको रुपमा क्यान्टोनमेन्ट विकास गरिएको थियो ।

अनमिनले प्रमाणित गरेका १९ हजार ६०२ लडाकूलाई मुलुकका विभिन्न ठाउँमा गरी ७ मुख्य र २१ शिविर राखिएको थियो, जसलाई क्यान्टोनमेन्ट भनिन्थ्यो । माओवादी लडाकुको समायोजन सम्पन्न भएपछि हाल ती क्यान्टोनमेन्टहरुमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली बस्दै आएका छन् ।

सेनाले पनि त्यस्तै प्रकृतिको सैन्य वस्ती विकास गर्ने प्रस्ताव अघि सारेको हो । विश्वका विभिन्न मुलुकका सेनाले यो अभ्यास गरिरहेका छन् । बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अपि|mका, सिंगापुर, मलेसिया, घाना, श्रीलंका लगायतका देशमा यो प्रचलित छ । संयुक्त राज्य अमेरिकामा पनि क्यान्टोनमेन्टको अभ्यास गरिन्छ ।

यसलाई सामान्य भाषामा सैन्य क्वाटरको रुपमा बुझ्न सकिने जंगी अड्डाका एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘सैनिक हस्पिटल, सपिङ सेन्टर, विद्यालयलगायत सबै एकै ठाउँमा हुने गरी सैनिक वस्ती विकास गर्ने अवधारणाबारे छलफल भएको हो’, ती अधिकृतले भने, ‘यसले जनतालाई पनि सुरक्षाको प्रत्याभूति दिलाउँछ भने यो लङ टर्म सेक्यूरिटी प्रस्पेक्टिभसँग जोडिएको कुरा पनि हो ।’

छाउनीमा गरिएको प्रयास 

सेनाका पूर्वउपरथी विनोज बस्न्यात क्यान्टोनमेन्टको अवधारणा उपयोगी र प्रसंशा योग्य कदम भएको बताउँछन् ।

‘यो विषयमा पहिले पनि छलफल हुँदै आएको थियो । तर, पूर्णताः पाउन सकेको थिएन’, बस्न्यातले अनलाइनखबरसँग भने, ‘कन्सेप्ट राम्रो हो । एकीकृत रुपमा सेनालाई एकठाउँमा राख्दा फाइदै हुन्छ ।’

उनले छाउनीलाई सैनिक क्यान्टोमेन्टको रुपमा विकास गर्न खोजिए पनि पूर्णतः सफल नभएको सुनाए । ‘छाउनीलाई पनि त्यही शैलीमा विकास गर्न खोजिएको थियो । तर, सबै किसिमका पूर्वाधार त्यहाँ छैनन्’, उनी भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?