Comments Add Comment

गजललाई सबैखाले अतिवादबाट मुक्त गरौं !

झट्ट हेर्दा यो शीर्षक असान्दर्भिक, अतिरञ्जित र अर्थहीन देखिन्छ । तर, बास्तविकता अलिक भिन्न छ । नेपाली गजलले सवा सय वर्ष लामो अग्निपरीक्षा दिइसकेपछिको अवस्थामा पनि प्राज्ञिक र पूर्ण साहित्यिक अनुमोदन हासिल गर्न नसक्नुमा खासगरी दुई थान अतिवादहरूले बन्धनको काम गरेका छन् र आजको गजल तिनबाट मुक्ति चाहन्छ ।

सर्जकदेखि समीक्षकसम्म गहिरो जरो गाडेका ती दुई अतिवादहरू हुन् :

१-गजललाई आयातीत विधाका रूपमा राखिरहेर यसलाई स्थानीयकरणबाट रोक्ने अभ्यास ।

२- गजललाई स्वतन्त्र र स्वायत्त विधाका रूपमा पुष्टि गर्ने र यसलाई संस्थापक आधार कविताबाट अलग्याउने कसरत ।

साहित्यिक इतिहासको अध्ययन गर्ने विश्वविद्यालयीय विद्यार्थी र शोधार्थीबाहेक अन्य सर्जक, पाठक र समालोचकलाई लेखन-पूर्व नै गजल आयातीत या ‘विदेशी’ विधा हो भन्ने ‘रेडिमेड ज्ञान’ हुनु नै गजल नेपाली साहित्यको मूलप्रवाहमा पूर्ण-समायोजन भइनसकेको प्रमाण हो । निबन्ध, उपन्यास, जीवनी, कविताजस्ता साहित्यका प्राय: सबै विधा नेपाली भाषामा आयातीत विधा नै हुन् । अझ तीमध्ये पनि निबन्ध र उपन्यासजस्ता विधाहरू त गजलभन्दा नयाँ विधासमेत हुन् ।

तर, नेपाली भाषा-साहित्यमा प्रकृतीकरण र समायोजन भइसकेकाले तिनको स्रोत नेपाली भाषामै खोज्ने अभ्यासको थालनी भइसकेको छ । फलत: आज ती मौलिक नेपाली विधाका रूपमा स्थापित भएका छन् ।

नेपाली भाषामा कविता लेख्ने कविलाई कविताको प्रारम्भिक भ्रूण ऋग्वेदका उषस् सूक्तहरूमा रोपिएको थियो भन्ने हेक्का हुँदैन न होमर, भर्जिल, वाल्मीकि, कालिदास, फिरदौसी, मिल्टन, भानुभक्त हुँदै यो नेपालीमा भित्रिएको ‘ज्ञान’ उसले राखिराख्नुपर्छ । यो कविको विषय नरहेर महाविद्यालयीय अध्येताको शोध-क्षेत्र बनिसकेको छ । यसको कारण कविताका सबै आयाम र उपकरणको स्थानीयकरण नै हो । नेपाली कविताको सैद्धान्तिक निर्णय आज हाम्रो हातमा छ ।

तर, विडम्बना नै मान्नुपर्छ, गजलले नेपालीमा त्यो आत्मीय स्थान हासिल गर्न सकेको छैन र गजललाई ‘आयातीत’ विधाकै रूपमा बचाइरहने हाम्रो अतिवादी कसरत नै यो विडम्वनाको प्रमुख कारक हो । फारसीमा जन्मिएको, अरबी-उर्दूमा मौलिएको अनि हिन्दी-नेपालीमा भित्रिएको ज्ञानसँगै रोदकी, अमिर खुसरो, गालिबजस्ता केही विदेशी नाम कण्ठस्थ भएन भने एउटा नेपाली गजलकारले ‘मान्यता’ नपाउने मान्यतामा मलजल हामी आफै गरिरहेका छौं । कविता, लय, अनुप्रास, भावविधान र पङ्क्तियोजनाजस्ता आधारभूत तत्त्वहरू जान्दैमा गजलकार भइँदैन भन्ने हाम्रो धारणा छ ।

मिसरा, उला, सानी, मुरद्दफ, मुसलसल, बहरजस्ता शास्त्रीय पदावलीमात्र होइन, सिङ्गो अरबी साहित्यका प्राविधिक पदावली ‘जान्नै पर्ने’ तत्त्वका रूपमा चर्को वकालत गरिँदै छ । एउटा आधुनिक र असल समीक्षक यो झमेलामा परिरहन चाहँदैन र ऊ गजलको समीक्षाबाट आफूलाई अलग्याउँछ । प्राज्ञिक क्षेत्रमा गजल अझै पनि अछूतजस्तै छ ।

घरमा बुहारी केही समयका लागि ‘आगन्तुक’ हुन सक्छिन् तर जति छिटो उनी मौलिक सदस्य बन्छिन् त्यति घर बलियो हुन्छ । एकथरी विद्वान्हरू बुहारीलाई यति माया गर्छन् कि सासू-ससुरादेखि उनका दिदी-बहिनी आनि साथी-सङ्गातीसम्म सबैलाई घर भित्र्याउने चाह राख्छन् । उनलाई माइतीकै ‘मेनु’ बाट खुवाउनुपर्ने र उतैको जीवनशैलीमा हुर्काउनुपर्ने वकालत गर्छन् । यता हामी हिन्दी गजल सुन्छौं, उर्दू गजल पढ्छौं र नेपाली गजल लेख्छौं अनि नयाँ लेख्नेलाई बुज्रुक सल्लाह दिन्छौं, ‘वास्तवमा गजलकार बन्नुछ भने उर्दू गजल पढ्नुस्’ ! मानौं हामीसित अझैसम्म भाव र अभिव्यक्ति-कौशलको ठूलो खडेरी छ । सय वर्षसम्म जुन विधामा भाव र कलापूर्ण रचना रचिएन भने भविष्यमा त्यसबाट के आशा गर्ने ?

गजलप्रतिको सबैखाले अतिवादबाट मुक्ति नै गजलमुक्ति हो । नेपाली गजलको सर्वाङ्गीण विकासका लागि गजलमुक्ति आवश्यक छ

‘स्यान्डविच’ भन्ने परिकार नेपाली भान्सामा भित्रियो भने यसको स्वाद लिन र यसलाई तयार पार्न ‘मायोनेज’ या ‘बटर’ को इतिहास र प्रयोगको परम्परा जानिराख्नु पर्दैन । पाउरोटी, गोलभेंडा, नौनी, काँक्रोजस्ता सामग्रीले पनि उत्कृष्ट स्यान्डबिच तयार हुनसक्छ । आफ्नो स्वादअनुसार हामी यसमा नुनदेखि खुर्सानीसम्म हाल्न सक्छौं तर स्यान्डबिच युरोपबाट जन्मिएकोले युरोपियन ‘इन्ग्रेडियन्ट्स’मात्रै प्रयोग गर्न पाइने र नुन हालेको स्यान्डबिचलाई ‘न्यान्डविच’ या अन्य कुनै नाम दिनुपर्ने तर्क गर्न हामी अघि सरिहाल्छौं ।

अनि अर्को अतिवादचाहिँ स्यान्डवीच आफैमा विदेशी नाम भएकाले यसलाई नै फेरेर ‘भर्ता रोटी’ राखौं भन्ने खालको हुने गरेको छ । स्यान्डवीचको अस्तित्व बचाउने ठेक्कासमेत आफ्नो रहेको दाबी गर्दै केहीले यसको ‘रेसिपी’मा थोरैमात्र हेरफेर गरिए पनि यसको अस्तित्व नै खतरामा पर्ने तर्क गरेको भेट्नु नौलो हुने छैन । तिनलाई परिकार र स्वादसँग होइन ‘नाम’सँग मोह हुन्छ । हामीले पनि थोरै आकार फरक भेटिए ‘फजल, गाजल, गीतिका’जस्ता नाम सुझाउने गरेका छौं ।

जति धेरै उर्दू-फारसी शब्द या पदावली रट्न सक्यो त्यति ठूलो गजलकार भइने रोगले नेपाली गजललाई सिकिस्त बनाउँदै लैजाँदा यसले बिस्तारै नेपाली साहित्यमा समायोजन हुने गुण र शक्ति गुमाउँदै गएको छ । सीमित व्यक्तिहरूले आफ्नो पाण्डित्यको संरक्षण गरिरहन र गजलमा स्वतन्त्र समीक्षाको प्रवेश हुन नदिन यस्तो हतकन्डा अपनाउँदै आएका छन् । नेपाली गजलले सिर्जनात्मक रूपमा स्थापित गरिसकेका वैशिष्ट्यहरूलाई समेत अमान्य घोषित गर्दै सदियौं पछाडि फर्केर आजको गजलको स्वरूप निर्धारण गर्न चाहने अभ्यासबाट मुक्ति नै पहिलो ‘गजलमुक्ति’ हो !

मानिस स्वभावैले विखण्डनवादी हुन्छ । सामाजिक मूल्यमान्यता, शिक्षा र वस्तुगत आवश्यकताहरूले उसलाई अखण्डता, समष्टि वा एकतातर्फ डोर्याउने प्रयास गरेपनि वस्तुत: ऊ खण्डित, व्यष्टि र भिन्न बाँच्न चाहन्छ । सिङ्गो पृथ्वी महादेश, देश, प्रदेश, जिल्ला, गाउँ हुँदै खण्डित छ र अझै हरेक खण्डभित्र अर्को प्रखण्डको खोजमा मान्छे तल्लीन छ । जात-धर्म-दर्शनजस्ता सबै भेदकभित्र अनेक उपभेदकसमेत सिर्जना गर्नु र तिनै ‘खण्ड’हरूलाई सर्वोत्कृष्ट, स्वतन्त्र र विशिष्ट सिद्ध गर्नमै उसको जिन्दगी समर्पित हुने गरेको छ । खण्डहरूमा ‘पहिचान’ खोज्नु मानवीय प्रवृत्ति हो । नेपाली गजल पनि यो प्रवृत्तिको सिकार छ ।

बनोट, बुनोट र प्रकृति सबै आधारमा गजल कविता विधा हो । गजलका सबै तत्वहरू कविताका आधारभूत तत्वहरू हुन् । अनुप्रासको अलिकति फरक विन्यासमात्रै गजललाई कविता विधाबाट अलग्याउन पर्याप्त हुँदैन । खासमा यो स्वायत्त विधा नभएर कविता विधाभित्रकै एक उपविधा हो ।

नेपाली गजलको प्राज्ञिक उन्नयन पनि कविता विधासँग गाँसिएर मात्र सम्भव छ । कविताले निर्माण गरेका भौतिक (संघसंस्था…) तथा अभौतिक साधनस्रोत र उपकरणहरूको निर्वाध प्रयोग हुनसके गजलले स्तरीय फड्को मार्नेछ । तर, गजल सर्जकका रूपमा हामी गजललाई माया गरेर कविता विधाभन्दा धेरै टाढा लैजान चाहन्छौं र यसलाई व्यष्टिरूपमै स्वतन्त्र विधाको हैसियतमा हेर्न चाहन्छौं ।

तर, सँगसँगै के बिर्सिन्छौं भने ‘रदीफ-काफिया’ (खासप्रकारको आनुप्रासिकता) बाहेक गजललाई गीतबाटसमेत अलग्याउने बलियो आधार भेटिँदैन । गीतमा पनि अभिव्यक्तिको सूक्ष्मता र फरक विषय अटाउन सक्छ भने गजलमा एउटै विषयको स्थूल अभिव्यक्ति पनि भेटिन्छ नै ! जुन दिन कविता सङ्ग्रहमा गजलले स्थान पाउँछ, फुटकर कवितासँगै काँधमा काँध मिलाएर प्रतिष्पर्धा गर्न सक्छ त्यो दिन गजलले स्वत: प्राज्ञिक मान्यता प्राप्त गर्नेछ । छुट्टिएर होइन जोडिएर नेपाली गजलको विकास सम्भव छ ।

गजलप्रतिको सबैखाले अतिवादबाट मुक्ति नै गजलमुक्ति हो । नेपाली गजलको सर्वाङ्गीण विकासका लागि गजलमुक्ति आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment